Developed By Kuldeep Sharma

July 6, 2022

हाम्रा विद्यालय कति बालमैत्री छन् ?

काठमाडौं। बालबालिकाहरूको पढ्ने, बुझ्ने र उर्जाशील बन्ने उमेर बाल्यकाल हो। विद्यार्थी जीवन हो। विद्यार्थी जीवनलाई मानिसको महत्वपूर्ण समय मानिन्छ। विद्यार्थी जीवनको अध्ययनले मानिसको भविष्यको दिशानिर्देश गरेको हुन्छ। ‘हुने विरुवाको चिल्लो पात’ भनेझैं सानैदेखि अभिभावकको उचित रेखदेख, माया, प्रेरणा, निर्देशन तथा सहयोग पाउन सकेका बालबालिकाहरू नेपोलियन बोनापार्टले भने जस्तै ‘असल नागरिक’ हुन सक्दछन्।

अभिभावकहरू जति बढी चेतनशील र व्यबहारिक हुन्छन् त्यति नै बालबालिकाहरू आत्मनिर्भरता र व्यबहारिक ज्ञान आर्जन गर्न सक्षम हुन्छन्। अभिभावकमा जति इमान्दारिता, सामाजिक भावना, व्यबहारिक ज्ञान, उदार व्यवहार, परोपकारी आचरण हुन्छ त्यति नै बालबालिकाहरूले पनि अभिभावकका कृयाकलापहरूलाई अवलोकन, देखासिखी र अनुसरण गरी ज्ञान आर्जन गर्दछन् र सोही अनुरुपको आचरण निर्माण गर्दछन् भन्ने बालमनोविदहरूको धारणा रहेको छ।

अभिभावकले आफ्ना छोराछोरीहरूलाई खान, लगाउन र विद्यालयमा चाहिने कापी किताबहरूको व्यवस्था गरी दिएर मात्र पुग्दैन। घरमा पढाई लेखाईको वातावरण सिर्जना गरिदिनुका साथै उनीहरूको दुःख सुखको साथी पनि बनिदिनु पर्दछ। समय समयमा उनीहरूसँग मनोविमर्श गर्नुपर्दछ। घर व्यवहारका मामिलाहरूमा पनि उनीहरूका विचार बुझ्ने गर्नाले उनीहरूमा पारिवारिक जिम्मेवारी बोध हुन्छ।

व्यबहारिक ज्ञानको विकास हुन्छ। यसका साथै अहिलेका बालबालिकाहरूलाई युग सापेक्ष परिवर्तनसँग परिचित गराउँदै विकृतिहरूको निरोध गर्न सक्ने क्षमताको विकासमा अभिभावकहरूको भूमिका त्यत्तिकै आवश्यक छ।

आमाको दूध छुटाउन पाएको हुँदैन अभिभावकहरू आफ्ना बच्चालाई विद्यालय भर्ना गरिदिने हतारोमा हुन्छन्। काखे बच्चालाई कक्षाकोठामा पुर्‍याइन्छ, अक्षर घोकाइन्छ र गृहकार्य गराइन्छ। पुस्तकको गह्रौं झोला थमाइन्छ।

आमाबुबा चाहन्छन्, ‘सानै उमेरमा विद्यालय भर्ना गरिदिए जान्नेबुझ्ने हुन्छन्। धेरै पढ्छन्।’ तर अभिभावकको यस्तो अपेक्षासँग बच्चाको शारीरिक र मानसिक अवस्थाको तालमेल मिल्छ? विश्वभरको अभ्यास र अध्ययनले भन्छ, ‘६ वर्षभन्दा कम उमेरमा कुनै पनि बालबालिका पठनपाठनका लागि तयार भएका हुँदैनन्।’ चाहे फिनल्याण्डको शिक्षा प्रणालीलाई हेरौं वा नर्वे र जापानको नै। नेपालको विद्यालयमा भने प्लेग्रुप, नर्सरी, यूकेजी, एलकेजी जस्ता श्रेणीहरू राखिएका छन्।

५ वर्षको उमेरमा एक कक्षा भर्ना हुँदासम्म बच्चाले अरु चारवटा श्रेणी उत्तीर्ण गरिसकेको हुनुपर्ने अवस्था छ। त्यसैले बच्चालाई चाँडै शिक्षादीक्षा दिलाउने अभिभावकको मनोविज्ञान अनुसार उमेर नपुग्दै विद्यालय पठाउने हतारो र होड सुरु हुन्छ।

विद्यालयको प्राङ्गण टेक्दा बालबालिकाको पाइला फुर्तिला हुन्छन् कि गह्रौं ? शिक्षक शिक्षिकाको सामुन्ने उभिँदा विद्यार्थी सर्तक हुन्छन् कि भयभित? पुस्तकका पानाहरू पल्टाइरहँदा बालबालिकाको मन कौतुहलले भरिन्छ कि दिक्दारीले ? विद्यालय धाइरहेका बालबालिकाको मनोदशा कस्तो हुन्छ ? कक्षाकोठाभित्र उनीहरू जिज्ञासु हुन्छन् ? यो प्रश्न किन गर्नुपर्ने अवस्था छ भने विद्यालयले अहिले बालमष्तिष्कको ‘ट्रिटमेन्ट’ यसरी गरिरहेका छन्, जसले उनीहरूलाई रचनात्मक बन्नबाट रोकिरहेको छ।

सुन्दा अप्रिय लाग्छ तर, वर्तमान पठनविधि र शिक्षाप्रतिको सामाजिक धारणा बालमैत्री छैन। अभिभावक ठान्छन्, ‘छोराछोरीलाई सफल बनाउन पढाउनुपर्छ।’ शिक्षक शिक्षिका ठान्छन्, ‘विद्यार्थीलाई उत्तीर्ण गराउन किताब हुबहु कण्ठस्थ गराउनुपर्छ।’ हाम्रो समाजले भन्छ, ‘शिक्षित बन्नुपर्छ। डिग्री हासिल गर्नुपर्छ। जागिर खानुपर्छ।’ तर, हाम्रो अपेक्षा र बालबालिकाको अवस्था मिल्दो छ त ? के हामीले भनेजस्तै विद्यालयमा पढेपछि, पुस्तक घोकेपछि, शिक्षित भएपछि सबैकुरा हुन्छ ? उत्तीर्ण हुनु, डिग्रीको प्रमाणपत्र हासिल गर्नु, लोकसेवा पास गर्नु, जागिर खानु नै शिक्षाको सार हो ? बालबालिकाको रुचि र बालस्वभावको कदर गरी तदनुरूपको व्यवहार र सिकाइ क्रियाकलाप सञ्चालन हुनु नै बालमैत्री विद्यालयको लक्षण हो।

बालबालिकाको रुचि र स्वभाव

बालबालिकाको रुचि र स्वभाव कस्ता–कस्ता हुन्छन् भन्ने कुरा शिक्षकहरूले आफ्नो अनुभव र बालमनोविज्ञानको अध्ययनबाट थाहा पाउन सक्छन्। साथै, खास प्रकारका रुचि र स्वभाव भएका बालबालिकालाई उनीहरूका रुचि र स्वभाव अनुकूल हुने गरी कसरी सिकाउन सकिन्छ भन्ने कुरा शिक्षण विधिको अध्ययन र अभ्यासबाट जान्न सकिन्छ। विद्यार्थीले खेल्न, घुम्न, डुल्न, भिडियो हेर्न, चित्र हेर्न र कोर्न, गीत गाउन र नाँच्न, उफ्रन, दगुर्न मन पराउँछन्। बालबालिकालाई यस्ता काम गर्न नदिई कुनै शिक्षकले पाठ्यपुस्तकका विषयवस्तु मात्र सुनाउने, लेखाउने, कण्ठ गराउने काम गराउँछन् भने ती बालमैत्री शिक्षक होइनन्।

यसको विपरित खेल खेल्न चाहने बालस्वभावको कदर गर्दै आफूले सिकाउनुपर्ने विषयवस्तुलाई खेलमा ढालेर सिकाइ क्रियाकलाप गराउने शिक्षक बालमैत्री शिक्षक हुन्। कुनै विद्यालयका सबै शिक्षकले विषयवस्तु सिकाउन, खेल खेलाउँछन्, चित्र र चलचित्र देखाउँछन्, अभिनय, नाटक, भूमिका निर्वाह गराउँछन्, काम दिएर भ्रमणमा पठाउँछन्, समूह समूह बनाएर कामको जिम्मा दिन्छन् भने त्यो विद्यालय बालमैत्री हो।

ग्रिनहिल्स एकेडेमीका प्रधानध्यापक राजेश्वर यादव विद्यालयको रंगले विद्यार्थीको सिकाइमा असर नपर्ने बताउँछ्न। सरकारी विद्यालयभन्दा निजी विद्यालय फरक ढंगबाट सञ्चालन हुने र विद्यार्थीको सिकाइमा उनीहरूको रुचि र स्वभाव अनुकूल हुने गरी खेल्न, घुम्न, चित्र हेर्न, कोर्न गीत गाउन, मन परेको क्रियाकापहरूमा सहभागी गराएमा सिकाइ प्रभावकारी हुने उनले दाबी गरे। तर, निजी विद्यालयले बालबालिकालाई थाम्नै नसक्ने गरि किताबको भारी बोकाउने गरेका छन्।

विद्यालयमा रंग

शहरी विकास तथा भवन निर्माण विभागले सार्वजनिक भवनहरूमा प्रयोग हुने रंग सम्बन्धी निर्देशिका २०६९ जारी गरेको थियो। तर, यसको पालना नभएपछि शिक्षा विभागले सबै जिल्ला शिक्षा कार्यालयहरूलाई ‘कलर कोड’ प्रयोग गर्न परिपत्र गरेको छ। निर्देशिकाको अनुसूची ५ अनुसार विद्यालयको मुख्य भाग प्लास्टर गरेको हुनुपर्ने छ र फिका पहेंलो रंग लगाउनुपर्ने छ।

पहेंलो रंग उज्यालो हुने र वुद्धिजिवीलाई मन पर्ने भएकाले यसलाई बाहिरी भागमा प्रयोग गर्न भनिएको शिक्षा विभागका प्रवक्ता दिपक शर्माले जानकारी दिए। भवनको छानो रातो रंगको टेराकोटा टाइल वा स्लेट हुनुपर्ने छ। यसैगरी झ्याल र ढोकाको चौकोस तथा खापा सेतो वा गाढा खैरो हुनुपर्ने छ।

कक्षा कोठाका भित्ता क्रिम वा आईभोरी रंगको हुनुपर्ने निर्देशिकामा उल्लेख छ। कार्यमा एकाग्रता ल्याउने, उज्यालोपन बढाउने र मैलो नहुने भएकाले यस्तो रंग प्रयोग गर्न भनिएको छ। यसैगरी सिलिङ, सभाकक्ष, करीडोर र भर्‍याङको भित्ताको माथिल्लो भागमा सेतो रंग लगाउन विभागले भनेको छ। करिडोर र भर्‍याङको तल्लो भागमा भने खैरो रंग लगाउनुपर्ने छ।

विद्यालयको भौतिक अवस्था बालमैत्री सिकाइ वातावरणको लागि आवश्यक पर्ने पूर्वाधारमध्ये सबैभन्दा महत्वपूर्ण पक्ष हो। विशेषत शैक्षिक प्रक्रियाका तीनवटा पक्षहरूः लगानी, प्रक्रिया र उपलब्धिमध्ये भौतिक पूर्वाधारलाई लगानीको पक्षबाट हेर्ने गरिन्छ। विद्यालयको भौतिक पूर्वाधार भन्नाले विद्यालयको जग्गाजमिन, विद्यालय हाता, विद्यालय भवन, कक्षाकोठा, प्रयोगशाला, पुस्तकालय, फर्निचर (पिजनहोल, टेवुल, दराज, र्‍याक, डेस्कबेन्च), शौचालय, खानेपानी, खेलमैदान, शैक्षिक सामग्री, कालो र सेतोपाटी, श्रव्यदृश्य सामग्री, दराज, विद्युतीय उपकरण, कम्प्युटर, चमेनागृह, छात्रावास, संरक्षण गृह आदि पर्दछन्।

विद्यालयको भौतिक पक्ष बालमैत्री शैक्षिक वातावरणका अन्य पक्षहरूसँग पनि सम्बन्धित हुन्छ। त्यसैले बालमैत्री विद्यालयका विविध पक्षमध्ये भौतिक पक्षको व्यवस्थापनमा विशेष ध्यान पुर्‍याउनु पर्ने हुन्छ। राम्रो भौतिक अवस्थाले गुणस्तरीय शिक्षा प्राप्त गर्न महत्वपूर्ण भूमिका खेल्ने हुँदा विद्यालयको भौतिक व्यवस्थापनको पक्षमा विशेष ध्यान दिनुपरेको हो। विद्यालयको भौतिक अवस्था सुधार्न आर्थिक पक्षले बढी महत्व राख्दछ। उपलव्ध स्रोत साधनले भ्याएसम्म विद्यालयको भौतिक पूर्वाधार निर्माण गर्दा/गराउँदा बालबालिकाको आवश्यकतालाई ध्यानमा राखी आकर्षक, सुरक्षित, टिकाउ, बालमैत्री, लैङ्गिक र अपाङ्गमैत्री बनाउनु पर्छ। यसका लागि सम्बन्धित सरोकारवालाहरूको चेतना, सोच, सिप र प्रतिबद्धता आवश्यक पर्दछ।

बालमैत्री सिकाइ वातावरणको सन्दर्भमा हेर्दा हाम्रा विद्यालयहरूको भौतिक व्यवस्थापन अपेक्षितरुपमा बालमैत्री अनुकूल भएको पाइँदैन। फलस्वरुप गुणस्तरीय शिक्षाको प्राप्तिमा नकारात्मक असर परिरहेको छ। ठूलो धन राशी खर्चेर बनाएको भवन पनि कुशल प्राविधिक डिजाइन, सुपरीवेक्षण र सल्लाहको अभावमा कमजोर, असुरक्षित, र बालअनुपयोगी भएको छ। त्यस्तै गरी विद्यालयमा उपलब्ध फर्निचर कुनै होचा, कुनै अग्ला, कुनै धेरै ठूला त कुनै धेरै साँघुरा, राम्रोसँग तयारी नभएका र विद्यार्थीलाई चोटपटक पुर्‍याउने खालका देखिन्छन्।

अन्य भौतिक पक्षका हकमा पनि लेआउट, डिजाइन, निर्माण आदि बालबालिकाको हितलाई ध्यानमा राखी व्यवस्थापन गरेको पाइँदैन। यस प्रकारको अवस्थालाई परिवर्तन गरी आकर्षक, सुरक्षित र बालमैत्री बनाउनु जरुरी छ। यसबाट मात्र अपेक्षित बालमैत्री सिकाइ वातावरणमा गुणस्तरीय शिक्षाको प्रत्याभूति गर्न सकिन्छ।

अहिले एकातिर बालबालिकाहरूलाई विश्वव्यापी विज्ञान र प्रविधिको ज्ञान अति आवश्यक भइसकेको अवस्था छ भने अर्को तिर ईण्टरनेट, कम्प्युटर, मोवाइल लगायतका डिजिटल प्रयोगले उनीहरू एकोहोरो भएको, सामाजिक एवं व्यवहारिक बन्न नसकेको बालमनोविदहरूको बुझाई छ। साईबर अपराध, मादक पदार्थ सेवन, धुमपान जस्ता कुलतमा लाग्ने बालबालिकाहरूको संख्यामा पनि बृद्धि भइरहेको छ। यी र यस्ता कुलतहरूबाट जोगाउन र उचित मार्ग निर्देश गर्ने प्राथमिक दायित्व अभिभावकको नै हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma