Developed By Kuldeep Sharma

July 12, 2022

भ्रामक समाचारले बद्नाम हुँदैछ पत्रकारिता पेशा

काठमाडौं। मिडियाले नागरिकलाई सुसूचित गरेर शक्ति र सत्तामाथि निरन्तर निगरानी गर्ने जिम्मेवारी पाएको हुन्छ। पत्रकारको मुख्य धर्म नै सत्य समाचार सम्प्रेषण गर्नु हो। समाचारमा सत्यता हुनुनै पत्रकारिताको प्रमुख दायित्व हो। समाचारमा हुने एउटा सानो गल्तीले कसैको ब्यक्तिगत जीवनमाथि ठुलो आँच आउन सक्छ। त्यसैले पत्रकारमा नैतिकता हुनु अति आवश्यक छ। पत्रकारलाई पत्रकारिताको र आचारसंहिताको पूर्ण ज्ञान हुनु जरुरी छ।

सन् १९१६ मा स्विडिस प्रेस काउन्सिलको स्थापना सङ्गै चर्चामा आएको पत्रकार आचारसंहिता, सन् १९२२ मा ६ बुँदामा जारी भएको हो। तर केही वर्ष यता कतिपय नेपाली युट्युब मिडियामा आचारसंहिता त परको कुरा हो, सामान्य मानवीयताकोसमेत ख्याल गरेको देखिँदैन। कुनै ठाँउमा मेरो पेशा पत्रकारिता हो भन्ने बित्तिकै आजभोलि केही मानिसले युट्युबरलाई जोडेर कुरा सुरु गर्छन्। जसमा तर्क गर्न मलाई निकै असहज लाग्छ। ईन्टरनेटको दुनियाँमा युट्युबबाट समाचार हेर्न पाउनु राम्रो कुरा हो तर भ्रामक समाचार र पत्रकारिताको मर्यादा नै हराउने गरी बनाइएका समाचार र त्यस्ता युट्युब च्यानलका कारण पत्रकारिता पेशामामाथि नै गम्भीर समस्या सृजना भएको छ। यस किसिमको पत्रकारिताले स्वस्थ्य पत्रकारितामाथि परेको नकारात्मक प्रभावलाई कसरी नियन्त्रण गर्ने? भन्ने आजको प्रमुख प्रश्न बनेको छ।

एउटा यो समाचार जस्ले मलाई निकै तनाबग्रस्त बनायो। १२ वर्ष कि रितु जो आफ्नो बुवाको मृत्यु पछि किरिया बसेको समाचार युट्युबमा आएको थियो। उनको घर नभएको र अब पढ्न सक्ने कुनै आधार नभएको खबर पाएपछि मैले मेरो घरमा सल्लाह गरेर उनलाई आफैले पढाउने निर्णय गरे। समाचार अनुसार उनी दाङको तुलसीपुरमा थिइन्। सहयोगका लागि सम्पर्क गर्नु भन्दै दिएको नम्बरमा फोन गरेँ। ५।६ पटक फोन गर्दा पनि रितुसँग भेट्ने वातावरण नमिलेपछि मैले दाङकै एकजना पत्रकारलाई फोन गरेर उनलाई खोजिदिनु आग्रह गरेँ। तर उनको बारेमा केही जानकारी प्राप्त भएन। पछि युट्युबरको मनसाय बुझियो, सहयोग गर्ने भए युट्युबरलाई भेटेर सहयोग गर्न मिल्थ्यो तर रितुसँग प्रत्यक्ष भेटाउन निकै आनाकानी भयो। केही समयपछि मैले गरेको फोन रिसिभ हुनै छाड्यो। मैले उनलाई आफ्नै घरमा राखेर पढाउन खोजेको कुरा रितुसम्म पुग्यो या पुगेन यो बारेमा मलाई केही जानकारी भएन। यसबाट २ वटा कुराको अनुमान सजिलै लगाउन सकिन्छ।
१. त्यो समाचार नै झुट थियो।
२. त्यही समाचारको भरमा आफ्नो पेट पाल्ने युट्युबरको चाहना थियो।

त्यसपछी मैले नेपाली मिडियामा आएका भ्रामक समचारको अध्ययन सुरु गरेँ। मसँग घटेको रितुको घटना त एउटा प्रतिनिधि घटना मात्र हो। पैसाकै लागि भ्रामक समाचार र हेडलाईनको सहारा लिने समाचार छ्यापछ्याप्ती पाइन्छन्। अझ भनौ ट्रेन्डिङ्गमै देखिन्छन्। आचारसंहिता बिपरित लेखिएका हेडलाईन अनि पीडितलाई थप पीडा हुने गरि सोधिएका प्रश्न सुनि नसक्नु हुन्छन्। पत्रकारिता राम्ररी बुझ्नेले त झुटो र साचो समाचार सजिलै छुट्याउछन् तर जे सुने पनि जे देखे पनि पत्याउनेको संख्या समाजमा अत्याधिक छ। उनीहरूको मस्तिष्कमा यस्ता भ्रामक समाचारले के असर पर्ला? यो गतिविधिलाई कसरी नियन्त्रण गर्न सकिएला? आफू परिपक्क भैसकेका पत्रकारले कलिला बालबालिकालाई मानसिक चोट पर्ने नपर्ने प्रश्न छुट्याउन सक्दैनन्? प्रेस स्वतन्त्रताको फाईदा लिइरहँदा के आचारसंहितालाई चटक्कै बिर्सन मिल्छ? कि हाम्रो प्रेस कानुन नै यति फितलो छ?

बिगतमा कोभिड महामारीको बाहाना बनाएर मिडियाले आफ्ना कर्मचारीमाथि गरेको अन्यायमा प्रेस काउन्सिल र पत्रकार महासंघले गरेको काम निकै प्रसंशायोग्य छ। अन्यायमा परेका पत्रकारको अधिकार रक्षा गर्ने र अन्याय गर्ने मिडियालाई कारबाही गरेको समाचार पनि आइरहेका छन्। त्यस्तै भ्रामक समाचार बनाउने कतिपय अनलाइन मिडियालाई काउन्सिलले बन्द गर्न लगाएको सुन्दा मन प्रफुल्ल हुन्छ। तर युट्युबमा बढ्दै गइरहेको अमर्यादित पत्रकारिताले उत्तिकै खिन्न बनाइरहेको छ। के युट्युब पत्रकारिताप्रति सम्बन्धित निकायले चासो नदिएको हो या कारबाही गर्ने अधिकार नभएको हो?
अहिले सुन्दा र हेर्दा समान्य लागेपनि यो प्रवृत्तिले अराजक स्थिति सृजना नगर्ला भन्न सकिदैन। कोही कसैलाई हानी गर्ने मनसाय नभएपनि आफ्नो च्यानलको भ्युज बढाउनकै लागि नेपालमा मात्रै नभएर बिश्वभर नै भ्रामक समाचारको एउटा लहर चलेको देखिन्छ। कतिपय अनलाइनले पाठकलाई आकर्षित गर्नका लागि मात्रै पनि समाचारको शीर्षक रोचक राख्ने गरेका छन्। जुन शीर्षक र समाचारमा भएको बिषयवस्तुमा कुनै तालमेल नै हुदैन। कोभिडकै समयको कुरा गर्ने हो भनेपनि देशभर लकडाउन भएकै मितिबाट तीन महिनाको अवधी सम्म के कति भ्रामक समाचार प्रकाशित भएका छन् भनेर मिडिया एक्सन नेपालले राष्ट्रियस्तरका अखबार र अनलाइन समाचार पोर्टलहरूको अध्ययन सुरु गरेको थियो।

२०७६ चैत ११ देखि तीन महिनासम्म अखबारमा प्रकाशित भएका २३ हजार २ सय ९१ र अनलाइनका २५ हजार ७ सय ६० गरेर जम्मा ४९ हजार ५१ वटा समाचारको अध्ययन गर्दा १ हजार ८ सय १७ वटा समाचार भ्रामक भेटियो। यो संख्या कुल समाचारको ३.७० प्रतिशत हो। यसरी बढ्दै गइरहेको भ्रामक समाचारले राष्ट्रको राजनीतिदेखि धर्म संस्कृती र समाजका अन्य गतिविधिमा समेत प्रत्यक्ष असर गरेको हुन्छ। एकातर्फ नेपालको राजनीतिक अस्थिरता अर्कोतर्फ भ्रामक समाचारको बिगबिगिले गर्दा नेपाली युवामा निरासापन देखिएको छ। नेपाली पत्रकारिता क्षेत्रमा योग्य ब्यक्ति नभएका पनि होइनन्। तर आचारसंहिताको उलंघन गरेर समाचार लेख्ने जमातका अघि राम्रा पत्रकारको संख्या गौण हुने अवस्था सृजना भइरहेको छ। अब यो प्रक्रिया रोक्नका निम्ति पत्रकारिता क्षेत्रमा रहेर काम गर्न आवश्यक योग्यता तोक्ने पो हो कि? कि बारम्बार गल्ती गरिरहेका युट्युब च्यानल र अनलाइन मिडियालाई बन्द गर्न सके केही हद सम्म भ्रामक समाचार बन्ने क्रम कम हुन्थ्यो कि? हुनत संचार सबैको अधिकारको कुरा हो तर अधिकार उपभोग गर्दैगर्दा आफ्ना पनि केही कर्तव्य र जिम्मेवारी बोध नहुनु निकै दुःखद बिषय हो।

आज सम्म नेपाली पत्रकारको योग्यता र मापदण्ड नतोकिनु पनि यो समस्या सृजना हुनुको एउटा कारक मान्न सकिन्छ।टाईप गर्न र भिडियो खिच्न जान्दैमा पत्रकारिता गर्न सकिन्छ भन्ने मान्यता राखेर खोलिएका युट्युब च्यानलले पत्रकारिता क्षेत्रलाई नै बद्नाम बनाइरहेका छन्। पत्रकारिताको धर्म, नियम र आचारसंहिताको बारेमा सामान्य ज्ञान सम्म नभएका ब्यक्तिलाई पत्रकारिता जस्तो बिश्वासिलो पेशाको मर्यादा कुल्चिएर कहिले सम्म ब्यापार गर्न स्वतन्त्र छोडिदिने? यो विषयमा एक पटक सोच्न आवश्यक छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma