काठमाडौं। नेकपा कम्युनिस्ट पार्टी नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका नेताहरू धर्मेन्द्र बास्तोला ‘कञ्चन’ र हेमन्तप्रकाश ओली ‘सुदर्शन’लाई पार्टीले कारबाही गरेको छ। पार्टी निर्णयविपरीत गएकाले उनीहरूलाई कारबाही गरिएको विप्लवले जनाएका छन्।
पार्टी सचिवालय सदस्यहरू बास्तोला र ओली बैठकका निर्णय र नेतृत्वको विरुद्ध पार्टी बाहिरका सञ्चारमाध्यमहरूमा छाडा एवं अराजक तरिकाले अन्तवार्ता दिने, कार्यकर्तामाझ नाङ्गो गुटबन्दी गर्ने र पार्टीका सबै मूल्यमान्यता भत्काउने कार्य गरेकोले कारबाही गरिएको विप्लवले जनाएका छन्। विप्लवले जारी गरेको विज्ञप्तिमा दुवै जनालाई अनिश्चितकालसम्मका लागि सम्पूर्ण जिम्मेवारीबाट मुक्त गरिएको उल्लेख छ।
‘सुदर्शन र कञ्चनका गल्तीहरुको प्रकृति हेर्दा उहाँहरू निकै पर पुगिसकेको, विभिन्न बैठक एवम् भेलासमेत गर्दै हिंडेकाले पार्टी विधान अनुसार दुवै जनालाई अनिश्चित समयका लागि सम्पूर्ण जिम्मेवारीबाट मुक्त गरिएको जानकारी गराइन्छ,’ विप्लवले आज जारी गरेको विज्ञप्तिमा लेखिएको छ।
काठमाडौंमा सचिवालयका सदस्यहरु दुइपटक बसेर पार्टीका पारित निर्णयहरूको रक्षा गर्ने, आफ्ना कुनै विमति भए पार्टीभित्रै कमिटीमा राख्ने भन्ने निर्णय गरेपनि त्यसको विपक्षमा ओली र बास्तोला उभिएको बताए।
तत्कालको जटिल परिस्थितिमा पार्टी एकतामा बाधा नपरोस् भनेर नेतृत्वले संयमता अपनाए पनि नेतृत्वको संयमता एवं उदारतालाई कमजोरीका रुपमा पकडेर सचिवालय सदस्यको नामबाट वक्तव्य जारी गर्दै पार्टीले स्थानीय चुनावमा पठाएका देशभक्त, जनवादी स्वतन्त्र उम्मेदवारहरूलाई सहयोग गर्नुको सट्टा चुनावबाट फिर्ता हुनु पर्ने नभए कारबाही गर्ने जस्ता हदै गैरजिम्मेवार एवं हास्यास्पद वक्तव्य निकालेपछि स्थिति एकदमै गम्भीर बनेको उनको भनाइ छ।
प्रतिक्रिया