Developed By Kuldeep Sharma

July 14, 2022

तालमेल गर्दा घाटा भएको जसपाको निष्कर्ष

काठमाडौं। जनता समाजवादी पार्टी नेपाल (जसपा) ले स्थानीय तह चुनावमा तालमेल गर्दा पार्टीलाई घाटा भएको निष्कर्ष निकालेको छ।

उपेन्द्र यादवको अध्यक्षतामा वीरगञ्जमा जारी केन्द्रीय समितिको बैठकमा जसपाका वरिष्ठ नेता अशोक राईले स्थानीय चुनावको समीक्षा प्रतिवेदन प्रस्तुत गर्दै सो निष्कर्ष निकालेका हुन्।

पार्टीमा भएको क्षतिलाई आगामी दिनमा कम गर्न प्रयत्न गर्नुपर्ने सुझाव पनि प्रतिवेदनमा दिइएको छ। गठबन्धनले केही ठाउँमा पद प्राप्त भएपनि त्यसले दिएको अन्यौल, अपमान, तिरस्कार, जटिलताले पार्टी निर्माणको दीर्घकालीन लक्ष्यमा क्षति भएको निष्कर्ष जसपाले निकालेको हो।

यसका लागि पार्टीभित्रको गुटबन्दी, बेमेलहरुलाई अन्त्य गर्ने र गठबन्धन गर्दा सम्मानजनक सहभागिताको प्रत्याभूति गर्नुपर्ने सुझाव वरिष्ठ नेता राईले दिएका छन्। आफ्नै पार्टीका उम्मेदवारलाई हराउन अन्तर्घात गर्ने, अरु उम्मेदवारलाई भोट दिनेमात्र होइन, भोट माग्ने, आर्थिक लेनदेनमा भोट बिक्री गर्ने काम पनि पार्टीमा भएको नेता राईले प्रस्तुत गरेको समीक्षामा उल्लेख छ।

यस्ता प्रवृत्तिहरू निन्दनीयमात्र नभएर कारबाही गर्न लायक रहेको उल्लेख गर्दै राईले पार्टीमा आफ्नै सहकर्मीलाई वा पार्टीलाई घात गर्नु भनेको अनैतिक मात्र नभएर आपराधिक कार्यसमेत रहेको प्रस्ट पारेका छन्।

यस्तै प्रवृत्ति रहेसम्म विपक्षीहरुसँग संघर्ष वा प्रतिस्पर्धा गर्ने पार्टीको क्षमता कहिल्यै बलियो नहुने समीक्षामा भनिएको छ। गठबन्धनको बाँडफाँटमा उम्मेदवारी पाएका उम्मेदवारलाई पनि इमान्दारीपूर्वक मत दिएको अवस्था नरहेको भन्दै उनले त्यसकै कारण कयौं ठाउँमा जसपाका उम्मेदवार पराजित हुनु परेको जनाएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma