Developed By Kuldeep Sharma

July 15, 2022

अस्वीकृत हुनै लागेको कृतिमा भेटियो अप्रत्यासित खुशी

काठमाडौं। पहिलो कृतिबाटै सुप्रसिद्ध लेखक जिएस पौडेल नेपाली साहित्यजगतमा लोकप्रिय छन्। २०४१ सालमा पिता वेदप्रसाद पौडेल र माता विष्णुमाया पौडेलको पहिलो सन्तानका रूपमा उनको जन्म भएको हो।

२०७५ मा उनको पहिलो कृति एक सर्को माया प्रकाशित भएको थियो। पहिलो कृतिबाट नै नेपाली साहित्यमा उचाई बनाएका उनले दोस्रो कृति पहेँलपुरबाट लाखौ पाठकको मन जितेका छन्।

२०५६ सालमा गैंडाकोटको रत्न राज्य लक्ष्मी विद्यालयबाट प्रवेशिका परीक्षा उत्तीर्ण गरेका उनले २०६१ मा पोखराको पृथ्वी नारायण क्याम्पसबाट मानविकी विषयमा स्नातक गरेका हुन्। त्यसपछि स्कटल्याण्ड पुगेका जिएसले युनिभर्सिटी अफ द वेस्ट स्कटल्याण्डबाट मास्टर इन बिजनेस एडमिनिस्ट्रेशन अध्ययन पुरा गरेका छन्।

आज जिएससँगको साहित्यिक भलाकुसारी. . .

तपाईको बाल्यकाल कसरी वित्यो। याद आइरहने बाल्यकालको कुनै एउटा किस्सा छ होला नी ?

म सामान्य गाऊँमा जन्मिएको मान्छे। एउटा निम्न वर्गीय परिवारको छोरो। आधुनिक सुखसयलबाट टाढा थियो मेरो बल्यावस्था। आम गाउँले परिवेशमा हुर्किएँ। स-साना रहरहरुको चङ्गा उडाएँ, स–सानै सपनाहरुको ढिब्री जलाएँ।

तिनै साना रहरहरु पनि अनेक अभाव देखाएर हात्तीछाप चप्पलको तुना चुडिए झै चुडिन्थे, म सम्झौताको अगुल्टोमा तुना पोलेर जोड्थेँ र पैतालामा पट्याक पट्याक पड्काउदै हिँड्थेँ।

अभावलाई सम्झौताले पोलेर पैतालामा पड्काउदै हिँड्न जानेपछि जिन्दगीका धेरै कुराहरु जानिदो रहेछ। सानैदेखि घरको दुःख बुझेको थिएँ र शायद त्यसैले अभावमा पिरोलिनुको साटो सम्झौतामा रमाउन सिकेँ। म मेरो बर्कतले भ्याएसम्म घरका कामहरु गर्थेँ।

बाबा जागिरको सिलसिलामा प्राय बाहिरै हुनुहुन्थ्यो, आमा एक्लै, उसैमा बिरामी परिरहनु हुन्थ्यो, बहिनी सानै थिई। मेरो जिम्मेवारीका दैनिक कामहरु म नबिराइ फत्ते गर्थेँ।
तर एउटा कुरा चैं के रहेछ भने, अभावहरुले बाल्यकालको महत्तालाई अवमूल्यन गर्न सक्दैन रहेछ।

जुत्ता लगाएर फूटबल खेल्न नपाएर के भो? खाली खुट्टा झुम्राको भकुन्डो खेलियो र संसारकै खुशी मान्छे भइयो। सुगन्धित साबुनले नुहाइएन त के भो? लुगाधुने नाङ्गो साबुनले जिउ पखालियो र संसारकै सुग्घर भएको महसुस गरियो। मनलाग्दा चकलेट खान पाइएन त कुनै गुनासो गरिएन, चकलेटका खोलहरुभित्र बर्किम्ला राखेर साथीहरुलाई झुक्काइयो र मजाले हाँसो कमाइयो। गुलिया मिठाइहरु खान नपाएर थुक निलिएन, बरु कान्लाको हर्रो खाएर पानी निलियो र गुलियो भएर अघाइयो। शहर गएर फिलिम हेर्ने पैसा थिएन, फिलिम हेरेको साथीलाई भेटेर काहानी सुनियो र कल्पनाकै पर्दामा फिलिम हेरेर दिलखुश पारियो। होलीमा आँफैले बाँसको पिचकारी बनाउन सिकियो, पानीमा ईट्टाको रङ्ग घोल्न सिकियो, आमाको रित्तो थैलीसँग गुनासो गरिएन।

अरु समवयका साथीहरु झैं मेरो बाल्यकाल पनि धुलो, हिलो, बालुवा, रुख र पानीमै खेलेर बित्यो। गुच्चा, डन्डीबियो, चुङ्गी, लुकामारी, रुमाल लुकाइ, ज्यादा, छोइडूम, पौडीबाजी, चिप्लेटी, चङ्गा, धनुबाण, सातपत्थर, ढ्याकी, लङ्गडी, कबड्डी, झुम्राको बल, घुरुङ्ग, पिङ, बाघचाल, सिन्का–लुकाइ, खोपिल्टे(थोडी), अहो! कति हो कति खेल जो मेरो बाल्यकालले खेल्यो। अहिले भन्छन नि अर्गानिक, मेरो बाल्यकाल अर्गानिक खेतिमा हुर्किएको बिरुवा जस्तै हुर्कियो।

म छ–सात बर्षको हुँदा गाउँमा बिजुली आयो। त्यतिबेला नै बहुदल पनि आयो। बिजुली र बहुदलसँगै प्रसारित भएर धेरै नयाँ कुराहरु आए। अर्गानिक गाउँले संसारमा सबैभन्दा धेरै त आयातित सयलहरु प्रसारित हुँदै गए। हेर्दा हेर्दै गाउँ फेरिदै गयो, अकल्पित रुपमा यसको रुपरेखा बदलिदै गयो। पुराना हाम्रा बालापनका किस्साहरु अब सधैंकालागि किंवदन्ती हुने तर्खरमा छन्।

जहाँसम्म याद आइरहने किस्साको कुरा छ, ति थुप्रै छन्। मलाई लाग्छ एउटा किस्साको बारेमा सुनाँउदा अर्को किस्सा अन्यायमा पर्ला। कुनैदिन सकेछु भने, सारा किस्साहरुको एउटा सँगालो नै लेखेर सबैलाई सुनाउने मन छ।

माल्दिभ्सको वासिन्दा हुन पुग्नुको मुख्य कारण ?

मल्दिभ्स मेरो कर्मथलो हो। रोजगारीको खोजीमा म नेपालबाट सिंगापुर, सिंगापुरबाट दुबई र त्यहाँबाट माल्दिभ्स आएँ। माल्दिभ्समा बिगत १० वर्षदेखि आफ्नो कर्म गरिरहेको छु। म यहाँ एक आप्रवासी कामदारको रुपमा छु।

लेख्दै गर्दा लागेको थियो त पहिलो कृति एक सर्को माया बाटै यति राम्रो सफलता पाउँछु भनेर ?

साँच्चै भन्दा, लागेको थिएन। ‘एक सर्को माया’ मेरोलागि एक अप्रत्यासित सुखद अनुभुती हो। यो पुस्तक मैले केवल आफ्नो मनको लहड मेट्नको लागि लेखेको भएर पनि होला, मलाई यसको सफलता वा बजारमा खासै ध्यान थिएन। पुस्तक निस्किएर पाठकहरुको प्रतिकृया आउन थालेपछि भने यसले मलाई मात्र नभएर अरु पाठकहरुको मनलाई पनि छोएछ भन्ने लाग्यो। ति सबै प्रतिकृयाहरु अनपेक्षित खुशीका रुपमा आइपुगे।

दोस्रो कृति पहेँलपुरले दिएको माया देख्दा कस्तो लागिरहेको छ?

पहेँलपुर मेरो अघिल्लो उपन्यास भन्दा निखारिएको कृति हो। यसको विषयवस्तु ‘एक सर्को माया’ भन्दा गहन छ। घटनाक्रमले लामो समयलाई ओगटेको छ। पात्रहरु धेरै छन् र एक आपसमा प्रतक्ष्य वा परोक्ष रुपमा ठोक्किएका छन्। आमरुपमा सर्सर्ती बग्ने कथाभन्दा भिन्न तरिकाले, मुख्यतः तीन फरक फ्रेमहरुबाट एउटा बृहत् कथामा ’पहेँलपुर’ विम्ब बनेर बगेको छ। यस बाहेक, पहेँलपुरले ’एक सर्को माया’को कथालाई समेत बुनेर अगाडि बढेको छ। कथा गाँठाहरुबाट शुरु हुन्छ र बिस्तारै बिस्तारै फुक्दै जान्छ। यस्तो लेख्नु आँफैमा चुनौतीपूर्ण र जोखिम उठाउनु जस्तो थियो। तर मेहनतको फल राम्रै हुन्छ।

पहेँलपुर आँफैमा मोटो पुस्तक भएकाले सबैकालागि सहजै शुरु गरेर सक्नु गार्हो कुरा हो तथापि यति छोटो समयमै भएको किताबको बिक्री जुन लगभग ’एक सर्को माया’ कै हाराहरीमा पुगिसकेको छ, र दिनदिनै जसो आदरणीय पाठकहरुका प्रतिकृयाहरु आइरहेको छ। यसले पहेँलपुर ओजनदार भएको पुष्टी गरेको छ। पहेँलपुरको कथा अझै अगाडि बढ्न सक्ने सम्भावनासँगै कतिपय पाठकहरु यसको अर्को भागको प्रतिक्षामा रहेको पनि पाएको छु यद्यपि (पहेँलपुरको बाँकी कथाको फ्रेम बनिसकेको भएपनि) मेरो अर्को पुस्तक यसकै श्रिंखलामा आउने सम्भावना भने न्युन छ।

पहिलो र दोस्रो पुस्तक लेख्दै गर्दा हुने चुनौती उस्तै हो कि फरक हुने रहेछ?

पहिलो कृति लेख्दै गर्दा राम्रो लेख्ने चुनौती मात्र हुन्छ, दोस्रो कृतिमा पाठकको अपेक्षामा खरो उत्रिनु पर्ने ठुलो चुनौती हुन्छ। त्यसैले अवश्य पनि फरक हुन्छ।

पहेँलपुरमा पाठकहरुको के कस्तो प्रतिकृया पाउनुभयो?

विभिन्न माध्यमहरुबाट मलाई पहेँलपुरका बारेमा थुप्रै प्रतिकृयाहरु आएका छन् र यो क्रम जारी नै छ। कतिपय अग्रजहरुको समेत प्रतिकृया पाएको छु मैले। ति सबै सकारात्मक छन्। किताबको सम्पादनमा ध्यान कम पुगेको हो कि भन्ने सुझावहरु, कथा लामो भएको हो कि भन्ने गुनासाहरु पनि छन्। कथा एकदमै जेल्लिएर बुझ्न कठिन हुने, पात्रहरु धेरै भएर सबैको हेक्का राख्न नसकिएको भन्ने गुनासाहरु पनि छन्। साथै अर्कोतर्फ, कथाको भूमरीमा खुब मजा लिएका, तमाम पात्रहरुलाई खेलाउदै खेलाउदै पढेर आनन्द मानेका प्रतिक्रियाहरु पनि छन्।

धेरै प्रतिकृयाहरु चैं स–साना घटनाहरुलाई कथाको अन्त्यतिर जोडेर सबै पात्र र घटनाहरुलाई न्याय दिन सकेको भन्दै बधाईका रुपमा आएका छन्।

अब तपाईको अर्को पुस्तक पाठकले कहिले पढ्न पाउने?

अहिले ठ्याक्कै समय तोक्न सक्ने अवस्था छैन, नयाँ बिषयमा अध्ययन गर्दैछु। हेरौँ।

नेपाली साहित्यमा तपाईको लगावप्रति श्रीमतीको साथ कस्तो छ? आफूले लेख्दै गरेको विषयवस्तु उहाँलाई सुनाउने गर्नुहुन्छ?

गंगालाई साहित्यमा उति रूची छैन, यद्यपि उनी मलाई लेखोस् भन्ने चाहन्छिन् र हौसला दिन्छिन्। उनलाई मैले मेरा दुबै उपन्यासहरुका पाण्डुलिपिहरु सुनाएको थिएँ र उनले आफ्नो प्रतिकृया पनि दिएकी थिइन्। उनले रोजेर केही उपन्यासहरु भने बेला बेलामा पढ्ने गर्छिन। म कहिलेकाँही गजल पनि लेख्छु र उनको सामु गुनगुनाउने गर्छु, उनी सुनेर शेर अनुसारका प्रतिकृयाहरु दिन्छिन्।

लेखक जिएसको नजरमा साहित्य के रहेछ?

मेरोलागि सबैभन्दा गाह्रो भनेकै कुनै कुराको परिभाषा दिनु हो। उसैमा साहित्य आँफैमा यति बृहत् विषय हो कि हजारौं परिभाषाहरुले पनि यो पूर्ण परिभाषित हुन सक्दैन। मेरो ज्ञानले त झनै यसको के परिभाषा गर्न सक्ला? तैपनि, म यति भन्न सक्छु कि साहित्य एउटा यस्तो मुहान हो जहाँ समय, सभ्यता र सोच अनुसार भिन्न भिन्न भावहरुको प्रस्फुरण हुन्छ र जसलाई पिएर जीवनले संवेग प्राप्त गर्छ।

आफूले जन्माएका पात्रहरु मध्य सबैभन्दा प्रिय पात्र को लाग्छ?

हुन त आफुले जन्माएका सबै पात्रहरु मलाई प्यारा लाग्छन्। सबैसँग मेरो लगाव छ। तैपनि, मेरा दुबै उपन्यासहरुमा म सबैभन्दा धेरै आलोकसँग घुलमिल भएको हुनाले मलाई आलोक प्रिय लाग्छ। राउधाको लागि चैं मेरो हृदयमा बेग्लै स्थान छ जो अमिट भएर बसेको छ। चालिसे दाइ पनि प्यारा छन्, धनहजुरीलाई पनि म कहिल्यै बिर्सन सक्दिन। सेवकरामलाई बिशेषरुपमा खलपात्रको प्रतिनिधित्व गराएको छु,

तर पहेँलपुर लेख्दै गर्दा सबैभन्दा धेरै झगडा मैले उनैसँग गरेको छु, त्यसैले उनको र मेरो सम्वन्ध पनि विषेश छ। त्रिष्णालाई म कसरी आफ्नो भावकेन्द्र भन्दा टाढा राखुँ? कसलाई प्रिय भनुँ? को छ र अप्रिय मेरालागि?

लेख्न सुरु गर्नुदेखि प्रकाशन र प्रतिकृयालाई आत्मसाथ गर्नुसम्मको यात्रामा के कस्ता चुनौती भोग्नु भयो?

खासमा भन्नु पर्दा, एक सर्को माया लेख्ने बेलामा मलाई आफ्नै क्षमताले चुनौती दिएको थियो र त्यसलाई जसो तसो मैले सामना गरेर पहिलो पुस्तक निकालेँ। पहेँलपुर लेख्दैगर्दा भने मलाई विषयवस्तुको खोज गर्नु पर्ने र सो अनुसारका स्रोतहरु भेट्नु पर्ने ठुलो चुनौती थियो।

कथाका बिचबिचमा आउने बर्लिनको पर्खाल होस्, अफिमयुद्दका कुरा हुन, हजुरामाको कथाको परिवेश हुन, विम्ब प्रयोगका कुराहरु हुन, पहेँलपुर संगठन निर्माणको कुरा होस् या यस्तै अन्य थुप्रै कुराहरुका निम्ति थुप्रै स्रोत–अध्ययन जरुरी थियो।

स्रोत खोज्नु आँफैमा एक चुनौती थियो। यो सँगै पहेँलपुरको सबैभन्दा ठुलो चुनौती भनेको पुरै आख्यानभित्रका फरक–फरक कथाहरुलाई एउटै कथामा जोड्नु र जोडिएको कथालाई पुनः ‘एक सर्को माया’सँग जोडेर समग्रताको तारतम्य मिलाउनु थियो। यिनै कुराहरु मुख्य चुनौतीका रुपमा आएका थिए।

जहाँसम्म प्रकाशनको कुरा छ। ’एक सर्को माया’ एक पटक लगभग प्रकाशकबाट अस्वीकृत हुनै लागेको थियो तर पाण्डुलिपिलाई पुनः एक पटक प्रकाशकले दोहोराएर हेरिसकेपछि किताब छपियो। सो बाहेक, प्रकाशनका क्रममा मलाई कुनै पनि चुनौती भएन। पहेँलपुरमा त कुनै पनि चुनौतीको सामना गर्नु परेन भन्दा हुन्छ।

किताब सम्वन्धी आउने कुनै पनि प्रतिकृयालाई मैले चुनौतीका रुपमा लिन्न। सबै प्रतिक्रियाहरुलाई मनन गर्छु। कतिपय अवस्थामा यि उर्जाका रुपमा आउँछन, कतिपय अवस्थामा मार्गनिर्देश गर्छन्। सबैलाई हार्दिक स्वागत गर्छु।

 –मुलुकप्रेसका लागि समय दिनुभएकोमा धन्यवाद। लेखन यात्रा अझ सफल रहोस्, शुभकामना
 –मुलुक प्रेसप्रति म पनि आभारी छु। धन्यवाद।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma