Developed By Kuldeep Sharma

July 29, 2022

बारामा कांग्रेस र लोसपाबीच झडप, प्रहरीसहित ९ जना घाइते

बारा। सिम्रौनगढ नगरपालिकामा कर्मचारी हटाएको विषयमा भएको विवाद झडपमा परिणत भएको छ। नगरपालिकाले शिक्षा र स्वास्थ्य शाखा प्रमुख हटाएपछि देखा परेको विवादले उग्र रुप लिएको हो।

उपप्रमुख नजमु शेहरका श्रीमान शेख मोतिम र वडा नं. ४ का अध्यक्ष अवधेश सहनी बीचको विवाद झडपमा परिणत हुँदा प्रहरीसहित ९ जना घाइते भएका छन्।

नेपाली कांग्रेस र लोसपा पक्षबीच भएको झडपमा उत्पन्न तनाव नियन्त्रणमा लिने प्रयासमा प्रहरीले १५ सेल अश्रुग्याँस प्रहार गरेको छ। झडपमा परी नेपाली कांग्रेस तर्फका सिम्रौनगढ-४ का ३३ वर्षीय रवी कुमार सहनी, राम निवास राम, वडा नं ९ बसवरिया बस्ने ३० वर्षीय उमेश यादव र ३८ वर्षीय गौरीशंकर यादव घाइते भएका छन्।

टाउकोमा सामान्य चोट लागेका चार जनामध्ये रवी र राम निवासको नगर अस्पताल सिम्रौनगढमा उपचार भइरहेको छ। बाँकी दुई जनालाई उपचारका लागि वीरगञ्ज ल्याइएको छ। प्रहरीतर्फ पनि पाँच जना घाइते भएका छन्।

प्रहरी सहायक निरीक्षक भवमोचन झा, प्रहरी बरिष्ठ हवल्दार प्रमोद साह, प्रहरी हवल्दार मदन साह तेली र रमेश राय यादव र उमेश यादव घाइते भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ। प्रमुख प्रशासकीय अधिकृत हरिओम जयसवालका अनुसार नगर प्रमुख किशोरी साह कलवारले शिक्षा र स्वास्थ्य शाखा प्रमुख परिवर्तन गर्न आदेश दिएका थिए।

शिक्षा शाखा प्रमुख नुर आलम सिद्धिकीलाई कमलेश प्रसाद अग्रहरीलाई ल्याउन भनिएको थियो। शिक्षा शाखा प्रमुख हुनु अघि उनी कंकाली उच्च माविमा शिक्षक थिए। अग्रहरी खजानी माविका प्रधानाध्यापक हुन्।

त्यसैगरी स्वास्थ्य शाखा संयोजकमा सिनियर अहेब छैठौं तहका अधिकृत राजेन्द्र साहको ठाउँमा हेल्थ असिस्टेन्ट छैठौं विजय ठाकुरलाई ल्याउन भनिएको थियो।

आदेश अनुसार प्रशासनले टिप्पणी उठाएको थियो। नगर प्रमुखले स्वीकृत पनि गरिदिएका थिए। तर वडा नं ४ का अध्यक्ष अवधेश सहनी सहित नेपाली कांग्रेसबाट निर्वाचित वडा अध्यक्षहरुले हामीसँग नसोधी किन शिक्षा र स्वास्थ्य शाखा प्रमुख परिवर्तन गरेको भनी विरोध जनाए। त्यही समयमा उपप्रमुखका श्रीमान शेख मोतिम आइपुगेका थिए। उनीहरुले उपप्रमुखको श्रीमान मोतीमसँग पनि विवाद गरे।

दुबै पक्षका कार्यकर्ताहरुले एक आपसमा ढुंगामुढा गर्न थालेपछि प्रहरीले रोक्न खोजेको थियो। सोही क्रममा १५ राउण्ड अश्रु ग्याँस प्रहार गर्नु परेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए।

स्थिति नियन्त्रणमा लिनका लागि जिल्ला प्रहरी कार्यालय बारा, इलाका प्रहरी कार्यालय सिम्रौनगढ, इलाका प्रहरी कार्यालय कोल्हबी र इलाका प्रहरी कार्यालय बारागढीबाट प्रहरी परिचालन गरिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma