Developed By Kuldeep Sharma

August 3, 2022

कञ्चनपुरमा चौधर र कैलालीमा मोहना नदीको बाढी बस्तीमा पस्यो, सयौँ घर जोखिममा

कञ्चनपुर। चौधर नदीको बाढी कञ्चनपुरको बेदकोट नगरपालिका–४ सार्कीपार्की गाउँमा पसेको छ। बाढीले निरन्तर जग्गा कटान गरिरहेको छ। बाढीका कारण बस्ती पूरै जोखिममा छ।

स्थानीयवासी सुरक्षित बासस्थानको खोजीमा छन्। सशस्त्र प्रहरी र स्थानीय अहिले उद्धारमा खटिएका छन्। गए राति चौधरको बाढी सडक कटान गरी बस्तीमा पसेको स्थानीयले बताएका छन्।

उच्च जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा सारिएको सशस्त्र प्रहरी बल नम्बर ३५ गण शैलेश्वरीका गणपति अमरबहादुर ऐरले जानकारी दिए।

ऐरका अनुसार बाढीबाट स्थानीय किर्सन भुल, हरिश भुल, रगी भुल, विस्ना भुल, मदन भुल, उत्तरे भुल, दानी भुल, ठेसे भुल, विरमा भुल, छाला प्रशोधन केन्द्र र ज्ञान ज्योति बालविकास केन्द्रको भवन जोखिममा छ। सशस्त्र प्रहरी र स्थानीयवासी अस्थायी तटबन्ध निर्माणमा जुटेका छन्।

यस्तै मोहना नदी तटबन्ध भत्काएर नदी गाउँ पसेपछि कैलालीको कैलारी गाउँपालिका वडा नम्बर ३ शिवरत्नपुर सोही नदीको कटानले उच्च जोखिममा परेको छ। गाउँको पश्चिमउत्तर भएर बग्ने मोहना नदी तटबन्ध भत्काएर गाउँ पसेपछि १६ घर विस्थापित भएका छन्।

असार २५ र साउन ११ गते आएको बाढीले तटबन्ध भत्काएर गाउँ पसेपछि सुरक्षित स्थानमा सरेको स्थानीय सुदेशी चौधरीले बताए। चौधरीले भने, ‘नदीले जुनसुकै बेला पनि घर बगाएर लग्न सक्छ। ज्यान बचाउन हामी १६ घरधुरी सुरक्षित स्थानमा सरेका छौं।’ नयाँ सरेको ठाउँ कटानबाट बचे पनि डुबान भने हुने गरेको उनले बताए।

अर्का स्थानीय मानबहादुर चौधरीले लामो समयपछि निर्माणाधीन अवस्थामा रहेको झोलुङ्गे पुलको दक्षिणतर्फको पिल्लर समेत कटानको उच्च जोखिममा रहेको बताए। ‘अहिले जसरी नदी पश्चिमबाट पूर्वतर्फ बगेर कटान गरिरहेको छ। यसरी नै कटान गरे पिल्लर भत्किन्छ। पिल्लर भत्किए बन्न लामो समय लाग्छ।

सामान्य उपचार गर्न पनि फेरि भारतकै भर पर्नुपर्ने हुन्छ,’ उनले भने। ‘गाउँमा ५ कक्षासम्म पढाइ हुन्छ, एउटा मेडिकल समेत छैन,’ स्थानीय सविता चौधरीले भनिन्, ‘सामान्य बिरामी हुँदा पनि हामी नजिकैको भारतीय बजार चन्दन चौकी पुग्छौं। त्यहाँ पनि मेडिकल मात्र छ। सिकिस्त बिरामी परे या त भारतीय बजार पलिया जानुपर्छ या त जोखिम मोलेर डुंगा चढेर धनगढी पुग्नुपर्ने हुन्छ।’

शिवरत्नपुरमा ९६ घर छन्। तीमध्ये १६ घर खल्ला कटान र बाँकी उचवा टोलमा रहेको वडा नम्बर ३ का अध्यक्ष सन्तराम चौधरीले बताए। अध्यक्ष चौधरीले भने, ‘खल्ला कटानमा बसोबास गर्नेको घर नै कटानमा परेको र उच कटानमा बसोबास गर्नेको खेत कटान गरेको छ।’

उनले कटानबाट विस्थापितलाई टेन्ट, अस्थायी शौचालय निर्माण गर्नुको साथै ४० घर परिवारलाई प्रदेश सरकारको सहयोगमा राहत वितरण गरेको बताए।

विस्थापित र नदी कटानको उच्च जोखिममा पुगेको बस्तीको निरीक्षणमा पुगेका सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री रणबहादुर रावलले विस्थापितलाई तत्काल टेन्ट, अस्थायी शौचालयको व्यवस्था तथा राहतको व्यवस्था मिलाएको बताए

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma