Developed By Kuldeep Sharma

August 12, 2022

राष्ट्रपति भवन अगाडि निहारिकाद्वारा आत्मदाहको प्रयास

काठमाडौं। न्याय माग्दै काठमाडौंमा आमरण अनशन बसिरहेकी कुमारी आमा निहारिका राजपुतले राष्ट्रपति भवन शीतल निवास अगाडि आत्मदाह प्रयास गरेकी छन्। शुक्रबार राष्ट्रपति भवन शीतल निवास अगाडि पुगेर उनले आत्मदाह प्रयास गरेकी हुन्।

निहारिका आफ्नो २ वर्षको छोरासहित शीतल निवास अगाडि गएकी थिइन्। त्यहाँ पुगेर शरीरमा पेट्रोल खन्याउनासाथ प्रहरीले उनलाई नियन्त्रणमा लिएको छ।

आज वसन्तपुरमा प्रहरी नभएको मौका पारेर उनी एकजना साथीसहित ट्याक्सीमा निस्केकी थिइन्। बाटोमै उनले एक लिटर पेट्रोल र लाइटर खरिद गरेकी थिइन्।

शीतलनिवास पुग्नुभन्दा केही अगाडि साथी र बच्चालाई ट्याक्सीबाट उनले ओरालिन्। अर्को बाटोबाट साथीले बच्चालाई लिएर गइन्। निहारिका शीतल निवास नजिकको चोकमा ट्याक्सीबाट ओर्लिइन् र तत्कालै शरीरमा पेट्रोल खन्याइन्। र, शरीरमा लाइटरले आगो सल्काउन खोज्दा प्रहरीले उनलाई नियन्त्रणमा लिएका थिए।

प्रहरीले निहारिकाको साथबाट लाइटर र पेट्रोल हालिएको डब्बा बरामद गरेको छ। उनलाई महाराजगञ्ज वृत्तमा लगिएको छ। निहारिकाको साथी र उनको छोरा पनि प्रहरी नियन्त्रणमा छन्।

वसन्तपुर डबलीमा अनशन बसिरहेकी उनले आफ्नो मागको सुनुवाइ नभएको भन्दै आत्मदाहको योजना बनाएकी हुन्। लामो समयदेखि न्यायको याचना गरिरहेकी उनी पटक-पटक राजधानी आएर धर्ना तथा आमरण अनसन बस्ने गरिरहेकी थिइन्। पछिल्लो पटक उनी साउन २० गतेदेखि आमरण अनसनमा बसेकी थिइन्।

आफूमाथि जनकपुरका शिवराज श्रेष्ठले बलात्कार गरेर त्यसको तस्वीर र भिडियो पनि बनाएर ब्ल्याकमेल गरेको उनको भनाइ छ। तर जिल्ला अदालत धनुषाले २०७८ माघ २४ मा श्रेष्ठलाई सफाइ दिएको छ। त्यसविरुद्ध उनी उच्च अदालत जनकपुर गएकी छन्। उक्त मुद्दा अदालतमा विचाराधीन छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma