Developed By Kuldeep Sharma

साउन २९, २०७९

बहिनीसँग प्रेम गरेको आशंकामा युवकको हत्या, भारतमा लिएर शव व्यवस्थापन

काठमाडौं। पर्सामा दुई दाजुभाइ मिलेर एक युवकको हत्या गरेको खुलेको छ।

आफ्नो बहिनीसँग प्रेम सम्बन्ध रहेको आशंकामा बारा बिश्रामपुर गाउँपालिका-५ का २८ वर्षीय उत्तम पटेल र निजकै दाइ ३० वर्षीय प्रितम पटेलले बारा ठाउँका २३ वर्षीय राजकुमार ठाकुरको वीरगञ्जमा हत्या गरेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रल्हाद कार्कीका अनुसार साउन २४ गते पटेल दाजुभाइले ठाकुरलाई अपहरण गरी हत्या गरेर शव भारत पुर्‍याएको खुलेको छ।

ठाकुर ट्युसन पढ्न वीरगञ्ज महानगरपालिका-१६ नगवातर्फ साईकल चढेर गएकोमा गइरहेको बेला दुइ दाजुभाइले आफ्नो टेलरमा लगी हत्या गरेको प्रारम्भीक अनुसन्धानबाट खुलेको कार्कीले जानकारी दिए। पटेल दाजुभाइ वीरगञ्ज-१६ मा टेलर सञ्चालन गरेर बसिरहेका थिए।

हत्या पछि शव बोरामा राखेर मोटरसाइकल चढी भारतको रक्सौल रेल्वे स्टेशन पुर्‍याई त्यहाँ रोकी राखेको मुजफ्फरपुर जाने ट्रेनको शौचालय छेउको खाली ठाउँमा छोडी आएको खुलेको उनले जानकारी दिए।

छोरा सम्पर्कबिहीन भएको निवेदन ठाकुरको बुवा मोतीलालले प्रहरीमा दिएका थिए। खोजतलास तथा अनुसन्धानको क्रममा पटेल दाजुभाइलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा उनीहरूले ठाकुर आफ्नी बहिनीबीच प्रेम सम्बन्ध रहेको शङ्कामा हत्या गरेको बयान दिएको प्रहरीले जनाएको छ।

प्रहरीले भारतीय प्रहरीको समन्वयमा विहार भागलपुरबाट शव बुझी ल्याई पोष्टमार्टमको लागि नारायणी अस्पतालको शव गृहमा राखिएको जनाएको छ। उक्त घटना सम्बन्धी अनुसन्धानमा पक्राउ परेका दुइ दाजुभाइविरुद्ध अपहरण तथा शरीर बन्धक र ज्यान सम्बन्धी कसूर (कर्तव्य ज्यान ) मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma