Developed By Kuldeep Sharma

August 16, 2022

फोहोरको संकटमा बालेन

काठमाडौं। फोहोर व्यवस्थापनको मुद्दालाई नै मुख्य एजेण्डा बनाएर स्थानीय तहको चुनावी मैदानमा उत्रिएका बालेन्द्र साह (बालेन) अहिले संकटमा परेका छन्।

राजनीतिक दलको खिचातानीले मुलुक नै थलिएको अवस्थामा एक युवा स्वतन्त्र ढंगबाट काठमाडौं महानगरको प्रमुखमा उम्मेदवारी दिए र भारी मतान्तरले विजयी भए।

सायद फोहोरको उरुङले आजित भएका नगरबासीलाई बालेनको एजेण्डाले सजिलै तान्यो। तर सजिलो देखिएन फोहोर व्यवस्थापन। विगत दुई दशकदेखि फोहोर लैजाने भनिएको ठाउँमा आज सम्मपनि अवरोध सृजना भइरहेको छ। राज्यले झन्डै ५ अर्बभन्दा बढी लगानी गरिसक्दा पनि समस्या जस्ताको त्यस्तै छ।

काठमाडौं महानगरको प्रमुखमा बालेन निर्वाचित भएपछि फोहोरकै विषमा कयौँ पटक सहमति भइसकेको छ। गत जेठ २६ गते बिहिबार राति १८ बुँदे सहमति पछि फोहोर उठ्ने कुरामा नगरबासी ढुक्क थिए भने सिसडोल र बन्जरेका स्थानीयपनि सहमति मान्न तयार भए।

यस्तो थियो जेठ २६ गतेको सहमति
– काठमाडौं महानगरपालिकाबाट बन्चरेडाँडा -कुँडुलेसम्म फोहोर ढुवानी गर्ने काम दीर्घकालीन रूपमा रातिको समयमा गर्नेस रातिका लागि आवश्यक पूर्वाधार, बत्ती तथा बाटोको निर्माण महानगरपालिकाले तीन महिनाभित्र गर्ने

– सिसडोल तथा बन्चरेडाँडामा फोहोरको दुर्गन्ध नआउने गरी महानगरपालिकाले एक महिनाभित्र व्यवस्थापन गर्ने

– फोहोरबाट निस्किने लीचेट खोलामा नमिसाउनेगरी दुई महिनाभित्र वैज्ञानिक व्यवस्थापन गर्ने

– फोहोर बोक्ने गाडीबाट बाटोमा लीचेट नचुहिने व्यवस्था एक महिनाभित्र मिलाउने

– फोहोरमैला प्रभावित क्षेत्रबारे वैज्ञानिक अध्ययन गरी प्रभावित क्षेत्र छुट्ट्याउने र अध्ययनले दिएका कार्यहरू कार्यान्वयन गर्न पहल गर्ने

– सिसडोल क्यापिङ गर्ने सम्बन्धमा वैज्ञानिक अध्ययन गराई प्राप्त प्रतिवेदनका आधारमा छ महिनाभित्र महानगरपालिकाले कार्यान्वयन गर्ने, गराउने

– प्रभावित क्षेत्रको पहिचान भइसकेपछि अधिग्रहण मुआब्जा वितरण लगायतका काम गर्न महानगरपालिकाले सम्बद्ध मन्त्रालय तथा निकायमा पहल गर्ने

– वि.सं २०७९ जेठ २३ गते भएको सम्झौताका अतिरिक्त फोहोरमैला व्यवस्थापनमा संलग्न चालक तथा सहचालक एवम् अन्य कर्मचारीको स्वास्थ्य बीमा महानगरपालिकाले गर्नेस असाध्य रोग लागेका प्रभावित क्षेत्रका बासिन्दाका लागि         महानगरवासीले प्राप्त गरे सरह उपलब्ध गराउने

– फोहोरमैला व्यवस्थापनका कारण प्रभावित भएका क्षेत्रको विकास निर्माणका लागि महानगरपालिकाले वार्षिक रूपमा बजेट विनियोजनलाई निरन्तरता दिने

– फोहोरलाई स्रोतमा वर्गीकरण व्यवस्थापन गर्ने कार्यको जिम्मेवारी महानगरपालिकाको हुने

– प्रभावित क्षेत्रमा शिक्षाको गुणस्तर वृद्धिका लागि महानगरपालिकाले सहयोग गर्ने

– फोहोरमैला प्रभावित क्षेत्र आसपासलाई सम्भव भएसम्म हरियाली क्षेत्रको रूपमा विकास गर्ने

– प्रभावित क्षेत्रमा कृषि प्रवर्धनका कार्यक्रमहरू सञ्चालन गर्न सहयोग गर्नेस बन्चरेडाँडा वरपरका घरटहरा क्षतिपूर्ति तीन महिनाभित्र निर्णय गर्ने

– फोहोर विर्सजनस्थल र फोहोर लैजाने बाटोमा हुने पहिरो नियन्त्रणको कार्य प्राथमिकताका साथ गर्ने
– प्रभावित क्षेत्रमा आवतजावत गर्ने तीनपिप्ले(गल्छी वैकल्पिक राजमार्गका लागि सरकारसमक्ष अनुरोध गर्ने

– तीनपिप्लेदेखि बन्चरेडाँडासम्मको हाल फोहोर ढुवानी गर्ने सडकको नाममा जग्गाको लगत कायम गर्न पहल गर्ने

– जेठ २७ गतेदेखि नै उपत्यकाको फोहोर विर्सजनको अवरोध हटाई पुनः फाल्न दिने

– जेठ २३ गते सहरी विकास मन्त्रालयमा जनाइएको प्रतिबद्धता कार्यान्वयन गर्न पहल गर्ने

अवरोधको कसरत

जेठको सहमति पछि पनि फोहोर बोकेका गाडी बन्जरे पुग्दा विरोध यथावत् थियो। त्यसपछि काठमाडौंको फोहोरलाई ठूलो प्लाष्टिकले छोपेर केही समय फेरि सहमतिको प्रयास निरन्तर चलिरह्यो। गत शनिबार १ सय ५२ वटा गाडीहरु फोहोर बोकेर बन्जरे डाँडा पुगेका थिए।

अवरोध नभएमा आइतबारबाट दैनिक २ सय ५० देखि ३ सय ५० वटा फोहोर बोक्ने गाडीहरूले बञ्चरे डाँडामा फोहोर लैजाने निर्णय भएको थियो। तर आइतबार दुई स्थानमा फरक-फरक कारणले सडक अवरुद्ध हुँदा ९० वटा गाडी मात्र बञ्चरे डाँडासम्म पुग्न पाए।

दुई अवरोध हटाउने बित्तिकै अर्को अवरोधको कसरत सुरु भएको जानकारी आफूहरुले पाइसकेको महानगर प्रमुख बालेनले आफ्नो सामाजिकसञ्जाल फेसबुकमार्फत आइतबार साझ बताएका थिए।

सोमबार पनि २ सय बढी प्रहरी परिचालन गरि फोहोर लैजाने प्रयास भयो। तर स्थानीयले फोहोर बोकेका गाडी र प्रहरीमाथि गुलेली हान्दै अवरोध सृजना गरे। जसकारण सोमबार २ सय ३ वटा मात्र फोहोरका गाडीहरु बञ्चरे डाँडा पुग्न सके।

बालेनका अनुसार सत्तारुढ दलहरुकै स्थानीय नेताहरुको अगुवाइमा सडक अवरुद्ध गरिएको र त्यस कार्यमा विपक्षी दलहरु एमाले र राप्रपाका स्थानीय नेताको समेत साथ रहेको छ। फोहोर व्यवस्थापनमै अडिक रहेका बालेनको हिम्मतमाथि बारम्बार प्रहार गर्ने प्रयास राजनैतिक दलभित्रबाटै भइरहेको साँचो हो भने यसले अझ ठूलो द्वन्द्व निम्त्याउने निश्चित छ।

एकातिर गरिरहेको काममा एक पछि अर्को अवरोधको सामना गर्नु परेको बालेनलाई केहि एक हुलले आफ्ना एजेण्डा पुरा गर्न नसकेको भन्दै कोलाहल मच्याउन सुरु गरिसकेका छन्।

महानगरबासीले फोहोर उठेन भन्दै आवाज उठाउछन्, उता बन्जरेमा फोहोर आयो भन्दै चरणबद्ध रुपमा अवरोधहरु आउँछन्। यस्ता विविध कारणबस यतिबेला बालेन फोहोरमाथि भइरहेको फोहोरी राजनितीका कारण ठूलो संकटमा परेका छन्।

सामाजिक सञ्जालमा बालेन

सामाजिकसञ्जालमा बालेनलाई अध्ययन गर्ने हो भने कहले उनी कडा रुपमा प्रस्तुत हुन्छन् त कहिले भावविह्ल हुन पुग्छन्। बालेनले अरु एजेण्डा पुरा गर्लान नगर्लान त्यो समयले देखाउने छ। तर निर्वाचित भएदेखि हाल सम्मको अवधिलाई नियाल्ने हो भने उनी फोहोर व्यवस्थापनको एजेण्डामा सधै‌ तत्पर रहेको प्रष्ट बुझ्न सकिन्छ। उनले गरेका सहमतिअनुसार काम गर्न दिने हो भने पनि यो समस्या समाधान हुने कुरा धेरै दुर छैन।

लामो समयसम्म सिसडोलबासीले फोहोरकै कारण भोगेको पीडाका आधारमा उनीहरूले अवरोध सृजना गर्नु अस्वभाविक पनि होईन। स्थानीयले सहमतिमा विश्वास गर्न नसक्नुपनि स्वभाविक हो। तर स्थानीयलाई बुझाउने प्रयासमा राजनैतिक दलले पहल नगर्नु र अवरोधमा अनेक कसरत गर्नु भनेको उपत्यकासँगै नुवाकोट, धादिङ र आसपासका सबै क्षेत्रका लागि दुःखद हो। उनले फेसबुकमार्फत पनि धेरै पटक फोहोर व्यवस्थापनमा सबैले सहयोग गरिदिनु भन्दै आग्रह गरेका छन्।

पटक पटकको सहमतिमा सिसडोलको वैज्ञानिक व्यवस्थापन साथै बञ्चरेको दिगो उपयोगीताका लागि महानगर संवेदनशील रहेको र विगत दोहोर्‍याएर फेरि सिसडोल र बन्जरेका स्थानीयमाथि अपराध गर्ने छैनौँ भन्दै बालेन बोलिरहेका छन्।

सहमतिमा भएका सबै कुराको पालनामा प्रतिबद्ध रहँदापनि काम गर्न नपाएका बालेनको हिम्मत ओरालो लाग्ने हो भने अब अव्यवस्थित फोहोर उठ्ने र दिगो व्यवस्थापन हुने कुरामा शंका उत्पन हुन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma