Developed By Kuldeep Sharma

August 21, 2022

कांग्रेसले गुमायो सच्चा पथ प्रदर्शक

काठमाडौं। नेपाली कांग्रेसका बौद्धिक नेता प्रदीप गिरिले संसारबाट बिदा लिएका छन्। शनिबार राती ललितपुरस्थित मेडिसिटी अस्पतालमा ७५ वर्षीय गिरीको निधन भयो।

पछिल्लो समय क्यान्सरबाट पीडित उनी लामो समय भारतमा उपचार गरेर नेपाल फर्केका थिए। नेपाल फर्केलगत्तै उनी फेरि अस्पताल भर्ना भए। प्रतिनिधि सभाका सांसद रहेका गिरिले फेरि प्रतिनिधिसभा फर्कने अनि आफ्नो बौद्धिकता र समाजवादको ब्याख्या गर्ने पाटो अधुरै छोडेका छन्।

गिरिको अवसानसँगै नेपाली कांग्रेसले एक बौद्धिक नेता र पार्टीभित्र फरक विचार राख्न हिम्मत गर्ने व्यक्ति गुमाएको छ। विपि कोइरालाको सिद्धान्तमा सधैं अडिग र ब्याख्याता रहेका गिरि गिरिजाप्रसाद कोइरालासँग लामो समय काम गरेपनि सधै उनीसँग विरोधमा पनि रहे।

१८ वर्षपछि प्रत्यक्षमा उम्मेदवार हुदै संसद प्रवेश
२०७४ सालको निर्वाचनमा गिरिले प्रत्यक्ष निर्वाचन लड्ने चासो देखाए। पार्टीले उनी जत्तिको नेतालाई टिकट नदिने कुरै थिएन। देशमा दुई कम्युनिष्ट पार्टी नेकपा एमाले र माओवादीले गठबन्धन गरेर निर्वाचनमा होमिएका थिए। गिरि सिराहाको क्षेत्र नम्बर १ बाट प्रत्यक्षतर्फ उम्मेदबारको रुपमा खडा भए। उनका प्रतिस्पर्धी एमालेका गंगाप्रसाद यादव र जसपाका राजलाल यादव थिए। १८ वर्षपछि प्रत्यक्ष चुनाव लड्न मैदानमा उत्रिएका गिरि मधेस आन्दोलनको उद्गम थलो मानिने लाहानसमेत समेटिएको क्षेत्रमा उभिएकाले उनलाई ठूलो चुनौती थियो।

उनले निर्वाचनमा जनतासँग धेरै ठूलो वाचा गरेनन्, संसद गएर आवाज उठाउँछु भने। ०५६ सालमा एमालेका धर्मनाथ साहसँग सिराहा ५ मा पराजित भएयता गिरिले प्रत्यक्ष चुनाव लडेका थिएनन्। ०४८ सालदेखि लगातार पाँच पटक कांग्रेस नेता पद्मनारायण चौधरीले प्रतिस्पर्धा गरेको क्षेत्रमा यसपटक गिरिको प्रवेश भएकोले उनलाई दोहोरो चुनौती थियो। यो परीक्षामा उनी सफल भए। अनि संसद भवनमा प्रवेश गरे।

गिरि २०५१ को आम निर्वाचनमा सिराहाको क्षेत्र नम्बर ५ बाट प्रधिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए। उनी पहिलो र दोस्रो संविधान सभा निर्वाचनमा कांग्रेसबाट समानुपातिक सभासद भए।

गिरि अधिकांश समय काठमाडौंमा बसे पनि मधेशका मुद्दामा सधै आवाज उठाउने अनि पक्षधरता देखाउने गर्दथे। उनी सधैं भन्थे मधेशी, महिला, जनजाति, दलितका मुद्दा कांग्रेसले उठाउन र बुझ्नुपर्छ।

संविधानमा हस्ताक्षर गरेनन्
२०७२ सालमा जारी भएको संविधानमा गिरिले हस्ताक्षर गरेनन्। आफ्नो दल नेपाली कांग्रेसले सर्मथन गरिरहँदा पनि उनी विपक्षमा उभिए। कतिपयले उनलाई यही आरोपमा भारतीय पक्षको सर्मथन गरेको आरोप पनि लगाए। संविधानमा हस्ताक्षर नगरेको सन्दर्भमा उनले स्पष्टीकरण दिँदै आफूलाई कसैले केही आरोप लगाएर केही फरक नपर्ने जवाफ दिने गरेका थिए।

मधेशी जनताले उठाएको मागको उपेक्षा गरेर पारित गरेको संविधानमा आफूले दस्तखत नगरेको सत्य भएको उनले सार्वजनिक रुपमै भनेका थिए। आफूले बहिस्कार गरेको कुरा मधेशी जनताले बुझेकाले अरुले थप बुझ्न जरुरी नहुने उनको दाबी थियो।

गिरिका चर्चित भाषणहरु छन्। उनले बजेट छलफलदेखि पछिल्लोपटक केपी शर्मा ओलीको शासनकालमा अध्यादेश र अभिव्यक्ति स्वतन्त्रता खोसिने गरी चालिएका कदमबारे संसदमा चर्चित भाषण गरेका थिए।

पार्टीभित्रकै आलोचक
एकपटक गिरिले नेपाली कांग्रेसभित्रै आलोचना गर्दै कांग्रेसभित्र गुट छैन, गिरोह छ भन्ने टिप्पणी गरेका थिए। उक्त कुरा पार्टीभित्र मात्रै नभई बाहिर पनि चर्चित बन्यो। २०७२ सालतिर उनले गरेको उक्त टिप्पणीमा पार्टीमा आलोचना भएपनि गिरिलाई कुनै पनि नेताले जवाफ फर्काउन सकेनन् किनकि गिरि नैतिकतामा कतै पनि कमजोर थिएनन्। २०७७ जेठ ४ गते संसदमा बोल्दै उनले केपी शर्मा ओली सरकारले ल्याएको नीति तथा कार्यक्रमकाे चर्को आलोचना गरे। उनले सरकारमा दिशा विहीनता र कर्तब्यविमुढता देखिएको भने।

बेलायतका प्रधानमन्त्री च्याम्बरलेनलाइ चर्चिलले भनेको ‘इनफ इज इनफ, अब त सत्ता छोड्देउ’ भनेको कुरा आफूले संसदमा दोहोराउन नचाहेको भन्दै टिप्पणी गरे। पछि पूर्व प्रधानमंत्री के पी शर्मा ओलीले उनलाई जवाफ पनि दिएका थिए।

कहिल्यै मन्त्री भएनन् तर सबैको सम्मानमा बाँचे
गिरि कहिल्यै पनि मन्त्री भएनन्। उनले मन्त्रीको पद माग्दा पनि मागेनन् भने दलका नेताहरुले बनाउन पनि चाहेनन्। तर उनी सत्तापक्ष र प्रतिपक्ष सबैका सम्मानका पात्र थिए। मार्क्सवादको राम्रा व्याख्याता गिरिलाई कम्युनिष्टका नेताहरुले पनि आफ्नो आर्दश मान्ने गर्दथे। गिरिले गर्ने मार्क्सवादको अघि कम्युनिष्टका मै हुँ भन्ने नेताहरु पनि झुक्ने गर्दथे। गिरिले नेपाली इतिहासमा कालमार्क्स र लेनिनलाई जिउँदै प्रस्तुत गरेको भन्दै कम्युनिष्ट नेताहरुले प्रशंसा गर्ने गर्दथे।

घरमै कांग्रेस अनि समाजवादको व्याख्याता
कांग्रेस नेता मित्रलाल गिरिको छोरा थिए उनी। उनको घरमै काँग्रेसको वातावरण थियो। वीपी कोइरालाको संगत थियो। घर नै कांग्रेसमय भएपछि उनी आजीवन कांग्रेस भए र समाजवादको परिभाषा स्पष्ट रुपमा गर्दै रहे। उनी कुनै समय नेपाली कांग्रेसको बौद्धिक पत्रिका तरुण प्रकाशनमा संलग्न थिए। उनले लेख्ने सम्पादकीय बौद्धिक र कांग्रेसको मार्गदर्शक हुने गर्दथे। गिरि र शैलजा आचार्य नेपाली कांग्रेसभित्र बौद्धिक नेताको रूपमा चिनिन्थे।

राजनीतिक यात्रा
२००४ सालमा सिराहामा जन्मेका गिरि पछिल्लो समय काठमाडौंमा बसोबास गर्दै आएका थिए भने कर्मथलो मधेश बनाएका थिए। २०२४ सालमा बनारसमा नेपाल छात्र संघमा निर्वाचित भएपछि उनी राजनीतिमा सक्रिय भए। नेपाली कांग्रेसको केन्द्रीय समितिमा लामो समयदेखि क्रियाशील रहेका उनी २०५१ को संसदीय निर्वाचनमा सिराहा ५ बाट निर्वाचित भएका थिए।

त्यसपछि उनी संविधानसभा सदस्य निर्वाचन २०६४ मा नेपाली कांग्रेसका समानुपातिक सभासद् चयन भए। दोस्रो संविधानसभामा पनि समानुपातिकतर्फ चयन भएका थिए। संघीय संसद् प्रतिनिधिसभा सदस्य निर्वाचन २०७४ मा सिराहा-१ बाट निर्वाचित भएका थिए।

प्रतिनिधिसभा अन्तर्राष्ट्रिय सम्बन्ध समिति सदस्य रहेका उनी राजनीतिक आन्दोलनका क्रममा करिब चार वर्ष जेल बसेका थिए। दर्शनमा आधारित भएर राजनीतिको विश्लेषण गर्ने क्षमता राख्ने उनले भारतको जवाहरलाल नेहरू विश्वविद्यालयबाट दर्शनशास्त्र र अर्थशास्त्रमा स्नातकोत्तर गरेका थिए। उनका लेनिन (जीवनी), नारी, मार्क्सवाद र अर्थशास्त्रलगायतका एक दर्जनभन्दा बढी पुस्तक प्रकाशित छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma