Developed By Kuldeep Sharma

भदौ ७, २०७९

उच्च अदालत पोखराको फैसला

पारिवारिक दबाबमा सहमतिको सम्बन्धलाई बलात्कार भन्न मिल्दैन

काठमाडौं। उच्च अदालत पोखराले पहिले सहमतिमै भएको यौन सम्बन्धलाई पछि पारिवारिक दबाबका कारण वा मानसिक रुपमा परिवर्तन आएकै कारण जबरजस्ती करणी ठहर गर्न नमिल्ने व्याख्या गरेको छ।

प्रेमीलाई जेल पठाउने कास्की जिल्ला अदालतको फैसला उल्टाइएको उच्च अदालतको फैसलाको पूर्णपाठ मंगलबार सार्वजनिक भएको छ। फैसलाको पूर्णपाठमा बालबालिकाका बीचमा हुने प्रेम, विवाह र यौनसम्बन्धलाई हेर्ने नजरमा परिवर्तन गर्नुपर्ने कुरा औँल्याइएको छ।

३९ प्रकरणमा व्याख्या गरिएको फैसलामा पहिले सहमतिमै भएको यौन सम्बन्धलाई पछि पारिवारिक दबाबका कारण वा मानसिक रुपमा परिवर्तन आएकै कारण जबरजस्ती करणी ठहर गर्न नमिल्ने व्याख्या गरिएको छ। साथै नारी, पुरुष बीचको प्रेम सम्बन्ध दुवै प्राकृतिक भएको भन्दै प्रकृतिलाई आफ्नै रीत र नियममा चल्न दिनुपर्ने उल्लेख गरिएको छ।

प्रेम सम्बन्ध पनि प्रकृतिजस्तै एक शक्तिशाली सम्बन्ध र चक्र रहेको भन्दै प्रकृतिलाई एक छिन वा केही समय अवरुद्ध गर्न सकिएपनि सधैँ र सबैका लागि नियन्त्रण गर्न नसकिने फैसलामा उल्लेख गरिएको छ।

उच्च अदालत पोखराका कामु मुख्य न्यायाधीश डिल्लीराज आचार्य र न्यायाधीश श्रीधरा कुमारी पुडासैनीको संयुक्त इजलासले गरेको उक्त फैसलामा जबरजस्ती करणीको मुद्दामा पीडक भनिएका व्यक्ति र पीडित भनिएकी बालिका दुवै नाबालक भएमा कुनै व्यक्तिलाई ठूलो कसुर ठहराउने कसैलाई उन्मुक्ति दिने कुरा पनि जायज नभएको र उक्त कुरा कानुनी मान्यता विपरीतको भएको तर्क गरिएको छ।

फैसलामा भनिएको छ, ‘लैंगिक भिन्नताको समान अवस्थामा पनि अधिकारको संवैधानिक वा कानूनी हकलाई फरक फरक रुपमा परिभाषित गर्नु वा एउटालाई दण्डित र अर्कोलाई छुट दिनु समान अवस्थामा, समान न्याय एवम् वास्तविक न्याय रुपी न्यायिक मान्यताको अभिष्ट हुन सक्दैन।’

पोखराका एक नाबालक प्रेमजोडीलाई परिवार र अदालतले छुटाएर प्रेमीविरुद्ध जबरजस्ती करणीको कसुरमा जाहेरी दिइएको थियो। उक्त मुद्दामा जिल्ला अदालतले प्रेमीलाई जेलमा पठाइएको र प्रेमिकाबाट जन्मिएको बालकलाई अनाथालयको जिम्मा लगाएको थियो।

फैसलाको प्रकरण ३१ मा मानवीय सम्बन्ध र प्रेम सम्बन्ध प्रकृति जस्तै भएको भन्दै कुनै व्यक्ति, समुदाय वा अदालतले रोक्दैमा यो रोकिन नसक्ने उल्लेख गरिएको छ।

फैसलामा भनिएको छ, ‘मानवीय सम्बन्ध र नारी, पुरुषबीचको प्रेम सम्बन्ध दुवै प्रकृति हुन्। प्रकृति भनेको आफ्नै रित र नियममा चल्ने एक शक्तिशाली सम्बन्ध र चक्र हो। प्रकृतिलाई एक छिन वा केही समय अवरुद्द गर्न सकिएला तर सँधै र सबैका लागि नियन्त्रण गर्न सकिँदैन। यो प्रकृतिको एक महान विशेषता र शक्ति दुवै हो। यौन सम्बन्ध पनि प्रकृति हो। समस्त चराचर जगतको निरन्तरताको आधारलाई, उर्जाशीलशक्ति प्रदान गर्दै आपसी जीवन सम्बन्धलाई हृदयतः एकअर्कामा प्रस्तुत गरिने अन्तर आत्माको पवित्र जीवनरस हो, सहमतिपूर्ण यौनसम्बन्ध क्रिय । यसले जबरजस्ती, असहजता र अस्वभाविक साथ अस्वीकार गर्दछ। अन्तरहृदयको स्पर्शका साथ हुने सहज र स्वभाविक सम्बन्धलाई सधै सहर्ष स्वीकार गर्दछ।’

घटनाक्रम हेर्दा यो बालविवाह भएको र जवर्जस्ती करणी नभएको पनि फैसलामा उल्लेख छ।

फैसलाको पूर्णपाठ यस्तो छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma