Developed By Kuldeep Sharma

भदौ ७, २०७९

तस्कर समूह र प्रहरीबीच झडप, ३ प्रहरी घाइते

काठमाडौं। सप्तरीमा तस्कर र प्रहरीबीच झडप भएको छ। तस्करी गरी ल्याएको सामान नियन्त्रणमा लिन खोज्दा प्रहरी र तस्कर समूहबीच झडप भएको हो।

झडपलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले तीन राउण्ड हवाइ फायर गरेको छ। जिल्लाको बलान बिहुल गाउँपालिका-४ बेल्हीमा मंगलबार दिउँसो भारतबाट ल्याएको सामान प्रहरीले नियन्त्रणमा लिन खोजेको थियो।

सप्तरीका प्रहरी प्रवक्ता डीएसपी माधवप्रसाद काफ्लेले तस्करी गरी ल्याएको सामान नियन्त्रणमा लिन गएका प्रहरीविरुद्ध तस्करको समूहले आक्रमण गरेपछि प्रहरीले हवाइ फायर गरेको बताए।

तस्करहरुले गरेको ढुंगा प्रहारबाट तीन जना प्रहरी पनि घाइते भएको उनले बताए। घटनास्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ।

भारतबाट सामान तस्करी गरेर एक घरमा राखिएको सूचना पाएपछि प्रहरीको टोली पुगेको थियो। घरको खनतलासी गर्न नदिएर प्रहरीमाथि नै ढुँगा प्रहार गर्दा प्रहरीले हवाई फायर गरेको काफ्लेले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma