Developed By Kuldeep Sharma

April 29, 2022

यी चर्चित ३ स्थान : जहाँ छन् गठबन्धनविरुद्ध कांग्रेसका बागी उम्मेदवार

काठमाडौं। गठबन्धनविरुद्ध बागी उम्मेदवारी दिएकाहरुलाई मनाउने अन्तिम कसरत फेल भएको छ।

गठबन्धनका उम्मेदवारविरुद्ध यसरी बागी उम्मेदवारी दिने प्रायः नेपाली कांग्रेसका उम्मेदवार धेरै छन्। पाँच दलिय गठबन्धनमा केन्द्रबाटै स्थानीय तह निर्वाचनमा गठबन्धन गर्ने गरि भागबण्डा गरिएको थियो। तर कतिपय ठाउँमा गठबन्धनविरुद्ध कांग्रेसका नेताहरुले नै बागी दिएपछि सभापति शेरबहादुर देउवा लगाएतका नेताहरुले मनाउने प्रयास गरेपनि त्यो फेल भएको छ।

निर्वाचन आयोगले आज उम्मेदवारी फिर्ता र अन्तिम नामावली प्रकाशनको कार्यतालिका बनाएको थियो। सोहिअनुसार गठबन्धनविरुद्ध बागी उम्मेदवारी दिएका उम्मेदवारले उम्मेदवारी फिर्ता नलिएका हुन्।

तर केहि स्थानमा बागी उम्मेदवारी फिर्ता भएपनि चर्चामा रहेका स्थानीय तहमा कांग्रेसका बागी उम्मेदवारी छन्। चितवनको भरतपुर महानगरपालिका, कास्कीको पोखरा महानगरपालिका र धनुषाको जनकपुर उपमहानगरपालिकामा कांग्रेसका बागी उम्मेदवारले गठबन्धनका उम्मेदवारविरुद्ध चुनावी प्रतिशपर्धा गर्ने भएका छन्।

भरतपुरका बागी

भरतपुर महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका कांग्रेस नेता जगन्नाथ पौडेलले उम्मेदवारी फिर्ता लिएनन्। यहाँ गठबन्धन गर्दा मेयर पदको उम्मेदवार माओवादी केन्द्रको भागमा परेको थियो। जसको उम्मेदवार माओवादीका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डकी छोरी रेणु दाहाल हुन्।

पौडेललाई उम्मेदवारी फिर्ता गराउनका लागि पार्टीका शीर्ष नेतृत्वले दबाब मात्रै दिएनन् राष्ट्रियसभा सदस्य बनाउने आशा पनि देखाए। उनलाई मनाउन भरतपुर पुगेका गृहमन्त्री बालकृष्ण खाँण असफल भएर फर्किए। उम्मेदवारी फिर्ता लिन आग्रह गर्ने सबैलाई उनले आफू अघि बढिसकेको भन्दै पछाडि फर्किन नसक्ने जवाफ दिए। पौडेल गठबन्धनकी साझा उम्मेदवार रेनु दाहालका निम्ति ठूलो चुनौतीका रुपमा हेरिएको छ। भरतपुरमा यसअघि रेणु नै मेयर बनेकी थिइन।

पोखराका बागी

गठबन्धनविरुद्ध बागी पर्ने अर्को चर्चित ठाउँ हो। पेखरा। त्यहाँ कांग्रेसका ३ जनाले बागी उम्मेदवारी दिएका थिए। मेयरमा स्वतन्त्र उम्मेदवारी दिनेमा कांग्रेस कास्कीका पूर्व सचिव ऋषि सापकोटा, पूर्व कोषाध्यक्ष नन्दप्रसाद तिवारी र विमलबहादुर कार्की थिए। सापकोटा र तिवारीले भने उम्मेदवारी फिर्ता लिइसकेका छन्।

दुबैले शुक्रबार मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर मनोनयन फिर्ता लिएका हुन्। तर कार्कीले भने पार्टी नेतृत्वले गरेको गल्तीका कारण आफूले उम्मेदवारी फिर्ता नलिएको बताएका छन्। उनले अन्तिम समयसम्म आफूलाई उम्मेदवारी फिर्ता गराउने प्रयास गरे पनि नमानेको बताएका छन्।

उनले उल्टै पार्टी सभापतिलाई कारवाही हुनु पने जिकिर गरेका छन्। गठबन्धनमा पोखराको मेयरको उम्मेदवार एकिकृत समाजवादीलाई भाग परेको थियो। जसले धर्मराज आचार्यलाई मेयरको उम्मेदवार बनाएको छ। यसअघि त्यहाँ नेकपा एमालेले जितेको थियो।

जनकपुरका बागी

गठबन्धनमै दरार आएको अर्को चर्चित ठाउँ हो जनकपुरधाम उपमहानगरपालिका। त्यहाँ कांग्रेसबाट मनोज साह बागी भिड्ने भएका छन्।

उनले आज उम्मेदवारी फिर्ता लिएनन् । उम्मेदवारी फिर्ता नलिएका उनी चुनावी प्रचारप्रसारमा लागेका छन्। गठबन्धनमा जनकपुर उपमहानगरपालिको प्रमुखको उम्मेदवार जनता समाजवादी पार्टीको भाग परेको थियो। उसले लालकिशोर साहलाई प्रमुखको उम्मेदवार बनाएको थियो। यसअघि साह नै मेयर थिए।

कांग्रेसबाट प्रमुखमा बागी उम्मेदवार रहेका मनोज साहलाई फकाउन दुई दिनअघि कांग्रेस नेता विमलेन्द्र निधि जनकपुर पुगे पनि केहि पार भने लागेन। स्वतन्त्र उम्मेदवारी दिएसँगै उनीहरु पार्टीबाट भने स्वतः निष्काशित भएका छन्। कांग्रेसले विज्ञप्ति जारी गर्दै पार्टीको आधिकारिक निर्णयभन्दा बाहिर रहेर उम्मेदवारी दिएका सबै र उनीहरुका प्रस्तावक तथा समर्थक पार्टीको विधान अनुसार स्वतः निश्काशित हुने चेतावनी दिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma