Developed By Kuldeep Sharma

September 2, 2022

देशभर फैलिँदै डेंगु, नियन्त्रणको सरकारी प्रयास अपर्‍याप्त

काठमाडौं। भदौ १७ गतेसम्म डेंगु संक्रमण ७२ जिल्लामा फैलिइसकेको छ। स्वास्थ्य मन्त्रालय अन्तर्गतको एपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार काठमाडौं उपत्यकामा असारको दोस्रो सातादेखि देखिन थालेको डेंगु संक्रमण भदौको तेस्रो साता नपुग्दै लगभग देशभरि फैलदै गइरहेको छ।

अहिलेसम्मडेंगु संक्रमणबाट १ जनाको मृत्यु भइसकेको छ। डेंगुबाट सबैभन्दा धेरै प्रभावित हुने जिल्लाहरूमा काठमाडौं, ललितपुर र रुपन्देही अगाडि छन्।

साउनदेखि यता २१ सय ७९ जनामा डेंगु पुष्टि भएको मन्त्रालयले जनाएको छ भने सबैभन्दा बढी संक्रमित बागमती प्रदेशमा देखिएका छन्। मन्त्रालयका अनुसार बाग्मती प्रदेशमा १२ सय ९१ जनामा डेंगु देखिएको छ।

सबैभन्दा कम संक्रमित सुदूरपश्चिम प्रदेशमा देखिएका छन्। सुदूपश्चिममा अहिलेसम्म १४ जनामा संक्रमण पुष्टि भएको छ। मन्त्रालयका अनुसार लुम्बिनीमा ५८३, प्रदेश नम्बर १ मा १४४, गण्डकीमा ५२, मधेशमा ४८ र कर्णाली १७ जनामा डेंगु संक्रमण पुष्टि भएको छ। पुसदेखि यता ४ हजार १०४ जनामा डेंगु पुष्टि भएको महाशाखाले जनाएको छ।

मन्त्रालयका प्रवत्ता डा.सञ्जय कुमार ठाकुरले अनुसार डेंगु रोगको वर्तमान अवस्था र बढ्दो संक्रमणको नियन्त्रण तथा रोकथाम गर्न प्रदेश जिल्ला तथा स्थानिय सरकारसँग समन्वयात्मक प्रयासका बारेमा छलफल भइरहेको बताए।

उनका अनुसार हालसम्म महाशाखाले १३९ स्थानीय तह, ५० जिल्ला र ७ वटै प्रदेशमा ‘खोज र नष्ट गर’ अभियान सञ्चालनका लागि बजेट विनियोजन गरिसकेको छ। साथै होटल तथा विद्यालयमा रोकथामका लागि होटल एसोसिएसन अफ नेपाल र विद्यालय एसोसिएसनसँग विशेष छलफल गरेको पनि उनले जानकारी दिए।

विभिन्न किसिमका प्रचार सामग्रीहरुबाट डेंगु रोकथामका लागि जनचेतनामूलक कार्यक्रमहरू संचालन गरिरहेको पनि जानकारी दिए। प्रदेश, स्थानीय तह र स्वास्थ्य संस्थामा आवश्यक डेंगु संक्रमणको परीक्षण चेकजाँचका लागि किटको व्यवस्था पनि गरेको जनाए।

भदौ ९ गते ललितपुर स्वास्थ्य कार्यलयले सम्बन्धित क्षेत्रहरू महानगरपालिका, विभिन्न वडाहरूको सहकार्यमा डेंगु रोकथामका लागि लार्भाको पहिचान र नष्ट गर्ने अभियान अन्तर्गत जनचेतनामूलक कार्यक्रम गरेको उनले बताए।

काठमाडौं महानगरपालिकाले पनि डेंगो नियन्त्रणका लागि विभिन्न सरोकारवाला पक्षसँग भदौ १३ गते छलफल कार्यक्रम राखेर खोज तथा नष्ट अभियानलाई तीव्रता दिएको जनाएको छ। डेंगुको फैलावट अनुसार नियन्त्रणको सरकारी प्रयास प्रयाप्त देखिँदैन। संक्रमण नियन्त्रण गर्न तीनै तहका सरकार र राजनीति दलहरूले सम्पूर्ण शक्ति प्रयोग गर्न आवश्यक छ।

डेंगुका लक्षणहरुः

एक्कासी ज्वरो आउने
टाउको, मांसपेशी तथा जोर्नी दुख्ने
थकान महसुस हुने
वाकवाकी लाग्ने वा बान्ता हुने
आफ्नो दैनिकी, खानपान वा अन्य कामकुरामा रुची नलाग्ने

जोगिने उपाय
लामखुट्टेको टोकाइबाट बच्न पूरा बाहुला भएको लुगा लगाउने
झुल भित्र मात्र सुत्ने
घरको झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली हाल्ने
घर, कार्यालय, विद्यालय वा सार्वजनिक क्षेत्रमा पानी जम्न नदिने
खाल्डाखुल्डी पुर्ने र खानेपानी वा ढल चुहिएको छ भने तत्काल मर्मत गर्ने
साझँ र विहान करेशाबारीमा जाँदा, घर बाहिर टहलिँदा, वा पार्कमा जाँदा र बालबालिकालाई लैजाँदा लामखुट्टेले नटोकोस भनेर विशेष

नेपालमा सन् २००४ मा पहिलो पटक डेंगु पुष्टी भएको थियो। सन् २००६, २०१०, २०१३, २०१६, २०१७ तथा २०१९ मा डेंगुका सबैभन्दा धेरै विरामीहरु पुष्टी भएका थिए।

सबैभन्दा धेरै २०१९ मा १७ हजार ९९२ जनामा डेंगु पुष्टी भएको थियो। जसले महामारीको रुप लिएको थियो। त्यतिबेला डेंगुबाट ५ जनाको मृत्यु भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma