काठमाडौं। दार्चुलामा बाढी र पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ। लास्कु खोलामा आएको बाढी र नौगाडमा आएको पहिरोमा परी पाँच जनाको मृत्यु भएको हो।
गएराति आएको पहिरोका कारण नौगाड गाउँपालिकामा तीन जनाको मृत्यु भएको छ। नौगाड गाउँपालिका-१ सल्लाका ३७ वर्षीया जानकी ठगुन्ना १३ वर्षीया धनुली ठगुन्ना र वडा नम्बर २ का मोहनराम पार्कीको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख जगत गाहामगरले जानकारी दिए। नौगाडमा पहिरोले १२ घर पूर्णरुपमा क्षति पुगेको छ।
यस्तै लास्कु खोलामा आएको बाढीले महाकाली नगरपालिका–३ डुङुरीका मानमति कार्की र महाकाली नगरपालिका- २ का नन्दराम बोहराको मृत्यु भएको प्रहरीले जनाएको छ।
लास्कु खोलामा आएको बाढीले मानमतिका श्रीमान् धनसिंह कार्की, छोराहरु दीपक र दिनेश कार्की बेपत्ता भएको जिल्ला प्रहरी प्रमुख गाहामगरले जानकारी दिए।
उनीहरुको खोजी भइरहेको छ। डुङुरी पावर हाउसमाथिबाट आएको लास्कु खोलाले कार्कीको पसलमा पूरै क्षति गरेको छ। पावर हाउँस बगाएको छ। निर्माणाधीन खार खलङ्गा सडकमा प्रयोग भएको जेसीभी बगाएको छ।
महाकाली नदी र लास्कु खोलामा आएको बाढीले खलङ्गा हुँदै दुहुँ व्याँस जोड्ने सडक अवरुद्ध बनेको छ। दार्चुला तिङ्कर सडक अन्तर्गत रिङ्गलतालदेखि कलौनभीरसम्म सडक अवरुद्ध भएको छ।
दुहुँ गाउँपालिका र महाकाली नगरपालिका जोड्ने यो सडक बगाएपछि यो क्षेत्रमा आवतजावतमा समस्या भएको छ। महाकाली तटबन्ध हुँदै निर्माण गरिएको दार्चुला तिङ्कर सडक पूर्णरुपमा क्षति भएको छ।
लास्कु खोलामा निर्माण गरिएको मोटेरबल पुल र झोलुङ्गे पुल बगाएको छ। पुल नहुँदा वारपार गर्न सकिने अवस्था छैन्। महाकाली वडा नम्बर ४ बंगाबगड हुँदै वडा नम्बर १ छापरी जाने पुल बगाएको छ।
दार्चुला तिङ्कर सडकमा राति पार्किङ गरी राखिएका जिप महाकालीले बगाएको स्थानीय चक्रबहादुर बमले बताए। बमका अनुसार पाँचवटा जिप, एक ट्रयाक्टर र एक ट्रली बगाएको छ।
प्रतिक्रिया