Developed By Kuldeep Sharma

September 28, 2022

मनोरञ्जन क्षेत्रलाई मर्यादित बनाउने अभियान जारी

काठमाडौं।मनोरञ्जन तथा सत्कार सेवा क्षेत्रलाई सम्मानजनक श्रम गन्तव्य बनाउने अभियानका लागि कार्यरत विश्वास नेपालले विनरक इण्टरनेशनलसँगको सहकार्यमा श्रमिकको हक हितका लागि वृहत कार्यक्रमहरू सम्पन्न गरेको छ।

विश्वास नेपालद्वारा आयोजित कार्यक्रममा यस क्षेत्रमा कार्यरत श्रमिकलाई श्रमिक अधिकारबारे जानकारी गराउने, सङ्गठित हुन प्रेरित गर्ने र श्रमऐनबारे बुझाउँदै श्रमको मुल्य र कामप्रतिको दायित्व, कर्तव्य सम्झाउन तालिम, गोष्ठी, अतिरिक्त सिप ज्ञान दिएको जानकारी दिइएको छ।

वीनरक इन्टरनेशनलको सम्मान परियोजनाका व्यवस्थापक एवं संयोजक विवेक शर्माले विश्वास नेपालसँगको सहकार्यमा सञ्चालित कार्यक्रमबारे जानकारी दिंदै यस क्षेत्रमा कार्यरत श्रमिकको राष्ट्रिय सम्मेलन दुई पटक भव्य रूपमा सम्पन्न गरिएको बताए।  कैलाली, कञ्चनपुर, बाँके र बर्दियाका मनोरञ्जन क्षेत्रमा कार्यरत ४६ जना श्रमिकलाई तालिम, तीनसय जनालाई मनोपरामर्श सेवा, प्रदान गरिएको छ। कोरोना महामारीमा मनोरञ्जन क्षेत्र बन्द भएर प्रभावित श्रमिकका लागि खाद्य सहयोग कार्यक्रम अन्तरगत दुईपटक गरी पाँचसय जनालाई सहयोग गरिएको विश्वास नेपालले जनाएको छ।

नेपालगञ्ज, धनगढी र महेन्द्रनगरका खाजा घर, डान्सबार,क्याविन, मसाज पार्लर र दोहोरी रेष्टुरेण्टलगायतका मनोरञ्जन क्षेत्रमा कार्यरत श्रमिक सम्वन्धी गरिएको सर्वेक्षणले क्याविन रेष्टुरेण्ट र खाजाघरमा बालबालिकाले श्रम गरिरहेको देखाएको छ।

अध्ययन गरिएका स्थानमध्ये मुल्याङ्कनमा धनगढीबाहेकका सबै स्थानमा गरी एकसय दुई जना बालबालिकाले श्रम गरिरहेको अध्ययनले पुष्टि गरेको हो। तर यस क्षेत्रमा दिगो रूपमा काम गर्ने श्रमिक नहुने, चलायमान वा पेशा परिवर्तन गरिरहने समस्याका कारण श्रमिकबारे तथ्याङ्क पनि घटबढ भइरहने समस्या पनि रहेको संस्थाले जनाएको छ।

सर्वेक्षणबाट बसाई सराई, प्राकृतिक विपत्ती, आर्थिक स्थिति कमजोर भएका वर्गबाट मनोरञ्जन क्षेत्रमा काम गर्न जाने बढि भेटिएको र शिक्षित श्रमिकको सङ्ख्या पनि पाइएको छ। अध्ययनले मनोरञ्जन क्षेत्रमा हुने समस्याहरू बढि समय काम गर्नुपर्ने, समयमा तलब पाउन गाह्रो र सम्झौता नगरी काममा लगाउनेलगायतका समस्या राजधानी र राजधानी बाहिर पनि उस्तै समस्या दोहोरिएको पाइएको छ।

विस्वास नेपालकी अध्यक्ष तारा भण्डारीले विस्वास नेपालले बालबालिकालाई श्रममा लगाउने वाध्य परिवारलाई आय आर्जनको लागि सहयोग गर्ने र श्रम गर्न विवस बालबालिकाको लागि पढ्नका लागि सहयोग गरी सो क्षेक्र बालश्रममुत्त क्षेत्र बनाउन विभिन्न गैरसरकारी संस्थासँग सहकार्य गरिरहेको बताएकी छन्।

भण्डारीले शिक्षाको उज्यालोबाट बञ्चित भएर श्रम गर्नुपर्ने वाध्यकारी अवस्थाका बालबालिकालाई पढ्ने अवसरका साथै बालक्लवमा आवद्ध झएर अतिरिक्त त्रियाकलापमा पनि संलग्न हुने अवसर प्रदान गरेको बताईन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma