Developed By Kuldeep Sharma

अशोज १४, २०७९

साझाका ३७ बिजुली बस चीनबाट नेपाल ल्याइँदै

काठमाडौं। साझा यातायातले ल्याउने थप बिजुली बस चीनबाट नेपालतर्फ ल्याउन सुरु गरिएको छ। साझा यातायातले ट्टिटरमार्फत कोदारी (तातोपानी नाका) हुँदै ३७ वटा बस ल्याउन सुरु गरिएको जानकारी दिएको छ।

३ वटा बिजुली बस ल्याएर चलाइसकेको साझाले थप ३७ वटा बस ल्याउन लागेको हो। साझा यातायातले पहिलो चरणमा ल्याएका तीन वटा बिजुली बसले २३ असारदेखि काठमाडौंंमा सेवा थालेका थिए।

पहिलो चरणमा ल्याइएका बिजुली बस साझाले नियमित सेवा दिंदै आएका रुटहरुबाट सेवा दिइरहेको छ।

साझा यातायातले अन्तरप्रदेश समेत चल्ने गरी बिजुली बस ल्याउन तयारी गरिरहेको छ। एकैपटक ठूलो संख्यमा बस ल्याउँदा चार्जिङ र पार्किङको पनि समस्या हुने भएकाले अबको लटमा पनि धेरै ठूलो संख्यामा बस नल्याइने साझाले बताएको छ।

सरकारले ९ पुस ०७५ मा ३ सय वटा बिजुली बस सरकारी लगानीमा किन्ने निर्णय गरेको थियो। सरकारले साझालाई बसहरु किन्न आधारभूत मापदण्ड पनि दिएको थियो। साउन २०७६ मा यातायात मन्त्रालयले हतार–हतार साझालाई खेस्रा मापदण्ड दिएको थियो।

स्पेसिफिकेसन बन्दै गर्दा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले १ असोज २०७६ मा ‘बस किन्ने प्रक्रिया जहाँ पुगेको त्यहीं रोक्नू’ भन्दै पत्र काटेको थियो भने त्यसको चार महिनापछि माघ २०७६ मा साझाको खातामा पुगिसकेको ३ अर्ब रकम ब्याजसहित नै फिर्ता लिने निर्णय गरेको थियो।

तर, माघ २०७७ मा सरकारले ३ अर्ब रुपैयाँ फेरि साझालाई नै दिने र बस किन्न अनुमति दिने निर्णय लिएको थियो।

सरकारले रकम फिर्ता लगेपछि बागमती प्रदेश सरकारले ३० करोड, काठमाडौं महानगरपालिकाले १० करोड रकम पनि फिर्ता लिएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma