Developed By Kuldeep Sharma

May 3, 2022

को हुन् ३० वर्षीया मेयरकी उम्मेदवार रजनी थापा? यस्ता छन् उनका कार्ययोजना

काठमाडौं। रजनी थापा स्थानीय तहको निर्वाचनमा ५ दलिय गठबन्धनका तर्फबाट काठमाडौंको टोखा नगरपालिकाको मेयर पदकी उम्मेदवारी हुन्। ३० वर्षीया थापाको राजनीतिक सक्रियता लोभ लाग्दो र चाख लाग्दो छ।

कांग्रेस जस्तो मासवेस पार्टीले युवा पुस्तालाई नेतृत्व दिनु चानचुने कुरा पनि त होइन। कांग्रेसले थापालाई पार्टीबाट उम्मेदवार बनाउनु र गठबन्धनमा सामेल दलले उनको क्षमतालाई विश्वास गरेर सहयोग गर्नु आफैमा उनि कति सक्रिय राजनीतिमा छन् भन्ने कुराको ज्वलन्त उदाहरण हो।

रजनीको सामाजिक कार्य

नेपाली कांग्रेस, काठमाण्डौ क्षेत्र नं ५ की सचिवसमेत रहेकी थापा राजनीतिमा मात्रै नभइ सामाजिक कार्यमा पनि उत्तिकै सक्रिय छन्। उनी रजनी सचेतना नेपाल फाउन्डेसनकी अध्यक्ष पनि हुन्। उनले फाउन्डेसनमार्फत बिभिन्न सामाजिक कार्यहरू गरिरहेकी छन्। उनी नेपाल जेसीज वर्ष २०२१ की राष्ट्रिय उपाध्यक्ष र चेतना अभियान नेपालकी सचिवसमेत रहेर काम गरेको उनसँग अनुभव छ।

व्यावसायमा रजनी

सामाजिक कार्यसँगै उनी व्यावसायमा पनि उत्तिकै सक्रिय छिन्। थापा अध्यक्ष रहेको बैद्धिक ट्राभल एण्ड टुर्स प्रा.लि., संचालक सदस्य रहेको आर्ट कन्स्ट्रक्सन प्रा.लि.र सिंगटी हाईड्रो ईनर्जी लिमिटेडमा संलग्न छिन् भने नेपाल मरिसियस विजनेस काउन्सिलको कोषध्यक्षसमेत हुन्।

थापाको शैक्षिक योग्यता

कानुन, नर्सिङ्ग, राजनीतिशास्त्र, जनप्रशासनदेखि अन्तराष्ट्रिय सम्वन्ध तथा कुटनितीको शैक्षिक अनुभव उनीसँग छ।

. पि.सि.एल नर्सिङ्ग
. एल.एल.वि.
. स्नातक -मानविकी
. स्नातकोत्तर -राजनीतिशास्त्र
. स्नातकोत्तर -जनप्रशासन
. स्नातकोत्तर -गृह विज्ञान (वालबिकास तथा लैङ्गिक सामाजिकरण)
. बिद्यावारिधी -अन्तराष्ट्रिय सम्वन्ध तथा कुटनीति अध्ययनरत

यस्ता छन् टोखाको समग्र विकास र समृद्धिका लागि रजनीका कार्ययोजनाहरू

१. “सुरक्षित गाँस, बाँस तथा कपासमा समान पहुँच”

क. स्थानीय युवाहरूलाई परिचालन गरि हरेक वडामा “फुड बैंक” को स्थापना गरिने छ। यो फुड बैंकमा मासिक रुपमा मजदुरी गरेर खाने परिवारलाई सहुलियत दरमा खाद्यान्यको सुविधा दिइने छ।

ख. टोखा नगरमा प्रत्येक घरधुरीको “भूकम्पीय प्रतिरोधी” क्षमताको पुनःजाँच गरिने छ। जसले गर्दा भविष्यमा आउने सम्भावित कुनै पनि किसिमको प्राकृतिक विपत्तीबाट हुने क्षती कम गर्नसकिन्छ।

ग. प्रत्येक वडामा एउटा “कपडा बैंक” स्थापना गरिने छ। जसमा विपन्न तथा आर्थिक रुपमा कमजोर परिवारलाई यस बैंक मार्फत सहुलियत दरमा लत्ताकपडा उपलब्ध गराइने छ।

२. “आत्मनिर्भर अर्थतन्त्रका लागि कृषि”

क. टोखा नगरमा जनसंख्या वृद्धि हुँदै गएको र कृषि योग्य जमिन कम हुँदै गएकोले कृषि क्षेत्रलाई आधुनिकीकरण गर्न “Vertical Farming” तथा “Harvest Automation” मेसिनको प्रयोग नमुनाको रुपमा प्रयोग गरिने छ।

ख. टोखामा वाइन, चिज तथा अन्य दुधजन्य उत्पादनलाई प्रोत्साहन गर्न नगरस्तरमा अनुदान प्रदान गरिने छ। साथै एभाकाडो, सुन्तला, कागती जस्ता उत्पादनको लागि निशुल्क बीउ बिजनको व्यवस्था गरिने छ।

ग. फलफुल, तरकारी तथा दुधजन्य उत्पादनको उचित भण्डारणका लागि नगरमा आधुनिक चिस्यान केन्द्र स्थापना गरिने। टोखा नगर चाकुको लागि प्रख्यात भएकोले चाकु उत्पादनको लागि चाहिने उखुमा आत्मनिर्भर बन्न कदम चालिने छ।

घ. टोखा नगरको समृद्धिका लागि कृषि लक्षित कार्यक्रमलाई प्राथमिकता साथ सञ्चालन गरिने छ। जसमा खाद्यान्न, तरकारी एवं दुधमा टोखा नगरलाई आत्मनिर्भर बनाउन पहल गरिने छ।

ङ. परम्परागत सिंचाई प्रणालीलाई स्तरोन्नती गर्दे आधुनिक “पम्पिङ्ग मेसिन” जडान गरिने छ।

३. “समृद्ध नगरको आधार भौतिक पूर्वाधार”

क. भौतिक संरचनाहरू अपाङ्मैत्री बनाइने छ। नगरभित्र प्रत्येक वडामा साइकल लेनको व्यवस्था गरिने छ।

ख. दमकल, एम्बुलेन्स तथा शव वाहन सेवाको पहँच प्रत्येक वडामा सहज रुपमा गरिने छ।

ग. सम्पूर्ण वडाहरूमा सडक स्तरोन्नतीका लागि (कालोपत्रे र सडक विस्तार) तथा उचित कल्भटको व्यवस्था गरिने छ।

घ. प्रत्येक वडामा मनोरञ्जन पार्कको निर्माण गरिने छ। अथवा निर्माण भएका पार्कको स्तरोन्नती गरिने छ।

प्रत्येक वडामा सामुदायिक भवनको निर्माण गरिने छ। अथवा निर्माण भएका सामुदायिक भवनको स्तरोन्नती गरिने छ।

च. वडा स्तरमा बिजुलीको तार तथा अन्य केवलहरूलाई सुरक्षित बनाउन जमिन मुनि विस्तार गरिने छ।

छ. स्रोत साधनहरूको उचित प्रयोग तथा परिचालन गर्दै समग्र टोखा नगरको आर्थिक तथा सामाजिक रुपान्तरणका लागि अल्पकालिन (२ वर्ष भित्र पुरा गर्ने), मध्यकालिन (५ वर्ष भित्र पुरा गर्ने), र दीर्घकालीन (१० वर्ष भित्र पुरा गर्ने) गरि तीन भागमा विभाजन गरेर तीव्र गतिमा नगर विकास गर्न योजनाहरू तर्जुमा गर्दे कार्यान्वयन गरिने छ।

ज. कृषि योग्य जमिन तथा गैर कृषि योग्य जमिनको वर्गीकरण गरि “जमिन प्लटिङ्ग” उचित व्यवस्थापन गरिने छ।

झ. टोखा नगर वडा नं १ संग जोडिने शिवपुरी राष्ट्रिय निकुञ्ज क्षेत्रमा घर, भौतिक संरचना निर्माण तथा प्लटिङ्ग रोक्न विशेष पहलकदमी लिइने छ।

४. “समान पहुँच सहितको शिक्षा र स्वास्थ्य”

क. प्रत्येक वडामा दलित, जेहेन्दार, अल्पसंख्यक, मजदुर, विपिन्न परिवार आदिका बच्चाहरूलाई सामुदायिक विद्यालयमा कक्षा १२ सम्म निःशुल्क पठनपाठ गर्न पाउने व्यवस्थाको पूर्ण कार्यान्वयनको ग्यारेन्टी गरिने छ। छात्राको हकमा भने “हाम्री मेयर, हाम्री छोरी” प्रोत्साहन रकम भनेर मासिक रु १,००० प्रदान गरिने छ।

ख. स्कुलको भौतिक पूर्वाधारको स्तरोन्नती गर्दे अपाङ्मैत्री भवनमा जोड दिइने छ।

ग. सम्पूर्ण सामुदायिक विद्यालयहरूमा निःशुल्क पठनपाठनका सामाग्रीहरू उपलब्ध भएको-नभएको चेकजाँच गरिने छ। नभएको खण्डमा पठनपाठनका सामाग्रीहरू उपलब्ध गराइने छ।

घ. टोखा नगरमा एक अत्याधुनिक प्राविधिक शिक्षालयको स्थापना गरिने छ।

ङ. उच्च शिक्षा (स्नातकत्तोर तथा विद्यावारिधी) सम्मको कक्षा संचालन क्षमता सहितको क्याम्पस संचालन गरिने छ।

च. प्रत्येक वडामा मासिक रुपमा वृद्धवृद्धा, अपाङ्गता तथा विपन्न परिवारका लागि स्वास्थय शिविर संचालन गरिने छ।

छ. प्रत्येक वडाको स्वास्थ्य चौकीमा सुरक्षित मातृत्वका लागि प्रसुति गृह निर्माण गरिने छ। साथै पाठेघर तथा स्तन क्यान्सको उपचारमा विशेष व्यवस्था गरिने छ।

ज. अति आवश्यक औषधीहरूको सहज पहँुज वडा स्तरमा विस्तार गरिने छ। दीर्घ रोगहरू जस्तै मधुमेह, क्यान्सर, मुटु रोग, दम को सहुलियत दरमा औषधी व्यवस्था गरिने छ।

झ. टोखा नगरको वडा नं २ मा अवस्थित टोखा चन्डेश्वरी प्रादेशिक अस्पतालमा चिकित्सक तथा नर्सको दरबन्दी बढाएर यसलाई २४ घण्टा सेवा प्रवाह गर्ने अस्पतालको रुपमा विकास गरिने छ।

५. “स्वच्छ वातावरण सहितको हराभर टोखा”

क. फोहरलाई मोहरको अवधारणामा रुपान्तरण गर्न प्रत्येक वडामा फोहरको उचित व्यवस्थापनका लागि फोहोर प्रशोधन केन्द्र निर्माण गरिने छ। साथै फोहरहरूलाई Incinerator मेसिन प्रयोग गरि व्यवस्थापन गरिने छ।

ख. प्रत्येक वडामा पर्यावणीय पार्क निमार्ण गरिने छ।

ग. प्रत्येक वडाका सडकहरूको दायाँ तथा बायाँ वृक्षारोपण गर्दे, “एक व्यक्ति एक वृक्ष : स्वच्छ वातावरणको आधार” नारालाई अगाडी बढाउने छ।

घ. वायु प्रदुषण नियन्त्रण गर्न “Electrostatic precipitators (ESPs)” प्रविधिको प्रयोग गरिने छ।

ङ. काठमाडौं जिल्लाका छिमेकी नगरपालिकाहरू सँग समन्वय गरेर ढल व्यवस्थापनको लागि “Waste Water Treatment Plant”  निर्माण गरेर खोलानाला सफा गरि स्वस्छ तथा निर्मल एवं कञ्चन पारिने छ।

६. “सुचना प्रविधिको विकास र विस्तारः आधुनिक समाज निर्माणको आधार”

क. नवप्रवर्तन तथा स्ट्राअप व्यवसाय संचालनमा युवाहरूलाई प्रोत्साहन गर्न लागि करिब रु १ करोड बराबरको “प्रविधि कोष, Hedge Fund” अथवा “Venture Capital” को निर्माण गरिने छ।

ख. प्रत्येक वर्ष टोखा नगरमा स्ट्राअप संचालन गरिरहेका २ जना युवाहरूलाई अमेरिकाको सिलिकन भ्यालीमा तालिमको लागि पठाइने छ। साथै प्रत्येक महिना वडास्तरमा युवाहरू लक्षित “Hackathon”  संचालन गरिने छ। जसमा युवाहरूले सामुहिक रुपमा कुनै कम्प्युटर तथा मोबाइलमा आधारित प्रविधि विकास गर्नेछन्।

ग. प्रत्येक वडाको विद्यालयस्तरमा वेभसाइट निर्माण तथा कम्प्युटर कोडको तालिम संचालन गरिने छ। विशेष गरेर छात्राहरूलाई “कोड फर गलर्स,Code For Girls” नामक तालिम प्रदान गरिने छ।

घ. टोखा नगरमा एक आधुनिक स्तरको “ड्रोन, Drone” उद्योगको स्थापना गरिने छ। जसमा युवाहरूको रोजगारी पनि सुनिश्चत हुनेछ।

ङ. टोखा नगरमा एउटा अत्याधुनिक “आइटी पार्क, IT Park” निर्माण गर्नुका साथै “इ-लाईबेरी, E-Library” पनि विकास गरिने छ।

च. टोखा नगरको प्रशासनिक कार्यहरूलाई “पेपरलेस” बनाउन “ई गभर्नेन्स” को अवधारणा विकास गरिने छ। यसको लागि नगरप्रमुखको संयोजकत्वमा आईटी विज्ञ टोली गठन गरि “Internet of Things” सहितको ई-गभर्नेन्स” अवधारणा विकास गरिने छ।

७. “सम्मान र सुरक्षा सहितको महिला तथा बालबालिका मैत्री समाज”

क. भर्खर जन्मेका शिशुहरूका बाबु आमालाई बच्चाको हेरचाहको लागि “बेबी किट, Baby Kit” (जसमा पोसाक, खेलौना, पोषण आदि) दिइने छ। यसको लागि लागत संकलन गर्न वडा स्तरमा महिला सदस्यहरूको भूमिका मूख्य हुने छ।

ख. टोखा नगरमा महिला तथा बालबालिका मैत्री सार्वजनिक सवारी सेवा संचालन ल्याइने छ। विशेषत सार्वजनिक गाडीमा करिब ८ सीट महिला आरक्षण हुनेछ।

ग. कामकाजी महिलाहरूको बच्चाका लागि वडा स्तरमा “शिशु स्याहार केन्द्र” को स्थापना गरिने छ।

घ. महिलाको आत्म सुरक्षालाई प्रबर्दन गर्न वडा स्तरमा “आत्म सुरक्षा तालिम” प्रदान गरिने छ।

ङ. लैगिंक तथा घरेलु हिंसामा शुन्य सहनसीलता अपाइने छ। जसमा वडा स्तरमा महिला सुनुवाई सेलको व्यवस्था गरिने छ। घरेलु हिंसाका पीडित विपन्न महिलाहरूका लागि निःशुल्क कानुनी उपचार गरिने छ। साथै यौन हिंसामा पीडित महिलाहरूको लागि वडा स्तरमा एउटा “पुनस्थापना केन्द्र” स्थापना गरिने छ।

च. महिलाहरूलाई आर्थिक रुपमा आत्मनिर्भर बनाउन वडा स्तरमा आर्थिक अनुदान तथा तालिम प्रदान गरिने छ।

छ. सानै उमेरमा आमा बन्ने तथा यसबाट हुने जोखिम न्यूनीकरणका लागि किशोरीरुहलाई परिवार नियोजनका साधनहरू माथि पहँच विस्तार गर्न वडा स्तरमा कार्यक्रम संचालन गरिने छ।

ज. विद्यालय स्तरमा सेनेटरी प्याडको व्यवस्था गरिने छ। विद्यालयमा “Sanitary Napkin Vending Machine” मार्फत किशोरीहरूले प्याड प्रयोग गर्नसक्ने छन्। विद्यालय समयमा प्याड परिवर्तन गर्न विद्यालयमा छात्रामैत्री शौचालय बनाउन आवश्यक पहलकदमी लिइने छ।

झ. प्रयोग भएका सेनेटरी प्याडहरू खाल्डो खनेर गाड्दा माटोमा मिल्न करिब ५०० देखि ८०० वर्ष लाग्छ। तसर्थ प्रत्येक वडामा एक “Incinerator Machine” मार्फत जलाएर सेनेटरी प्याडहरूको व्यवस्थापन गरिने छ।

ञ. नियमित रुपमा बालबालिकालाई दिइने खोपको समान पहँच सहितको सनिश्चता गरिने छ।

ट. प्रत्येक वडामा गर्भवती महिला तथा दुई वर्ष मुनिका बालबलिकाहरूलाई नियमित रुपमा महिला स्वास्थ्य स्वयमसेवीकाहरूले “Follow Up” गर्ने व्यवस्था मिलाइने छ। विपन्न परिवारका आमा तथा बच्चाहरूलाई मासिक रुपमा अण्डा, गेडागुडी, पोषिलो खानाको व्यवस्था गरिने छ।

ठ. महिलाहरूको ड्राईभिङ्ग तालिम तथा प्रौढ शिक्षा कार्यक्रमलाई निरन्तरता दिइने छ।

८. “स्वास्थ्य तथा व्यवसायका लागि खेलकुद”

क. वार्षिक रुपमा विभिन्न खेलहरू समावेश गरि मेयरकप खेलकुद प्रतियोेगिता आयोजना गरिने छ।

ख. टोखा नगरमा स्थायी रुपमा बसोबास गर्ने विभिन्न खेल विधाका राष्ट्रिय स्तरमा खेलाडीहरूलाई मासिक रुपमा प्रोत्साहन भत्ता प्रदान गरिने छ।

ग. टोखा नगरमा विभिन्न विधाका खेलहरूका लागि एउटा अत्याधुनिक एकिकृत खेलकुद तालिम प्रतिष्ठान निर्माण गरिने छ।

घ. टोखा नगरमा एउटा अत्याधुनिक रंगशाला निर्माण गर्नको लागि प्रदेश तथा केन्द्र सरकारसँग आवश्यक पहलकदमी लिइने छ ।

९. “हाम्रो पर्यटन, हाम्रो चिनारी”

क. नेवार समुदायको धार्मिक तथा साँस्कृतिक पहिचानलाई प्रर्बधन गर्न नेवार समुदायको बाहुल्य भएको क्षेत्रमा एक ““Home Stay” संचालन गर्न स्थानीयलाई अनुदान प्रदान गरिने छ।

ख. टोखा नगरमा मनाइने जात्रा जस्तै बिस्केट जात्रा इत्यादीलाई व्यवस्थापन गर्न स्थानीय युवालाई स्वयमसेवकको रुपमा परिचालन गरिने छ।

ग. टोखा नगर वडा १ तथा २ मा स्थानीय नेवार समुदायको पहिचान झल्कने खाना को “अन्तर्राष्ट्रिय ब्राण्ङ्गि” गर्न त्रैमासिक रुपमा “सडक महोत्सव” आयोजना गरिने छ। यस महोत्सवमा नेवार परिकार जस्तै बारालाई “प्यान केक” लागयत अरु परिकारहरूलाई “पूर्विय–पाश्चात” शैलीमा रुपान्तरण गर्न प्रोत्साहन गरिने छ।

घ. टोखा नगरको शिवपुरी नजीकको क्षेत्रमा एक “स्काई क्याफे” निर्माण गरिने छ।

ङ. टोखा नगरबाट नुवाकोट, रसुवा लगातका क्षेत्रहरूलाई समेटेर नयाँ पर्यटकी पद मार्ग निर्माण गरिने छ।

च. साइकलिङ्ग तथा हाइकिङ्ग गर्न आन्तरिक तथा बाह्य पर्यटकलाई प्रोत्साहन गर्न निम्न दरमा पर्यटन प्याकेज निर्माण गरिने छ।

छ. टोखा नगर वडा नं १ मा रहेको झोर झर्ना वर्षामा मात्र पूर्ण रुपमा संचालन आउने हुँदा सो झर्नालाई १२ महिनानै संचालन गर्न कृत्रिम पानीको स्रोत खोजी तथा निर्माण गरिने छ।

ज. टोखा नगरमा इच्छुक उद्यमीहरूले “Agro-Tourism” को अवधारणामा आधारित केही नयाँ सोचको व्यवसाय संचालन गर्न चाहेको खण्डमा टोखा नगरबाट आवश्यक आर्थिक सहुलियतको ऋण एवं नेपाल पर्यटन बोर्डसँग पर्यटन भित्राउनको लागि समन्वय गराई दिइने छ।

१०. “स्वच्छ पानी सबैको जिन्दगानी”

क. टोखा नगरमा स्वच्छ खानेपानीको लागि “एक घर एक धारा” को अवधारणालाई अनिवार्य रुपमा कार्यान्वयन गरिने छ।

ख. धारामा पानी महिनौ सम्म नआएको खण्डमा टोखा नगरपालिकाको “टोल फ्रि,Toll Free” नम्बरमा सम्पर्क गरेर गुनासो टिपाउन सकिने छ। सो समस्याको समाधान करिब १५ दिन भित्र हुने छ।

ग. वडास्तरमा कम्तिमा एक “पानी प्रशोधन तथा रिर्जभ केन्द्र ” को स्थापना गरिने छ।

घ. टोखा नगरमा परेको पानी जम्मा तथा यसको सदुपयोग गर्न “Rapid Sand Filters, Bio Sand Filters” जस्ता प्रविधि प्रत्येक घरधुरीलाई सहुलियत दरमा प्रदान गरिने छ।

ङ. टोखा नगर वडा नं २ को लेटार क्षेत्रमा पानीको समस्यालाई हल गर्न झोरबाट पानी ल्याएर समाधान गरिने छ।

११. “हाम्रो प्राथमिकता : उत्तरदायी तथा वित्तिय सुशासन सहितको स्थानीय सरकार”

क. टोखा नगरमा कोभिड -१९ महामारिको बेला खर्च भएको रकम नगरप्रमुख निर्वाचित भएर आएको २ महिना भित्र मा सार्वजनिक गरिने छ। साथै नगरमा खर्च भएका सबै रकमको विवरणहरू टोखा नगरपालिकाको “वेभसाइट तथा वडा कार्यालय” मा टाँसेर सार्वजनिक गरिने छ।

ख. जनताको प्रत्येक चासो, गुनासो र सरोकारहरूलाई सुनुवाई गर्न “जनता संग मेयर” नामक प्रत्यक्ष संवाद मासिक रुपमा संचालन गरिने छ। सो कार्यक्रममा सामाजिक सञ्जाल, टिभी तथा रेडियोबाट पनि जनताहरू जोडिन सक्नेछन्।

ग. युवाहरूलाई सामाजिक विकासमा संलग्न गराउन टोखा नगरपालिकाको समन्वयमा नगरपालिकामा कार्य गर्दै आएका संघ सस्थाहरूले संचालन गर्दै आएका परियोजनामा स्वयमसेवीको रुपमा परिचालन गरिने छ।

घ. टोखा नगरवासीहरूको सुचनाको हकलाई सुरक्षित गर्दै हरेक वडाहरूमा नागरिक वडापत्र लाई व्यवस्थित ढंगले राखिने छ।

ङ. सार्वजनिक सेवा प्रभावलाई सहज, छिटो, छरितो बनाउन हक वडा तथा नगर कार्यालयमा सेवाग्राही लक्षित साहयता कक्षा (Help Desk) स्थापना गरिने छ।

च. विदेशबाट आउने विप्रेषणलाई सुरक्षित तवरबाट प्राप्त गर्न प्रत्येक घरधुरीको बैंक खाता अनिवार्य तथा निशुल्क खोल्न प्रबन्ध मिलाईने छ। साथै प्रत्येक घरधुरीको वित्तिय साक्षरता सम्बन्धि तालिम चलाइने छ।

छ. व्यवसाय गर्न इच्छुक महिलाहरूलाई लक्षित गरि सरकारले प्रदान गर्दैै आएको बीना धितोको रु १५ लाख सम्मको अधिकतम सहुलियत कर्जा उपलब्ध गराउन सहजीकरण गरिने छ।

ज. नयाँ व्यवसाय संचालन गर्न इच्छुक उद्यमीले स्वरोजगार कोषबाट प्रदान हुने न्यूनतम रु २ लाख भन्दा माथि बीना धितो दिइने सहुलियत कर्जामा सहजीकरण गरिने छ।

१२. “विपद जोखिम मुक्त शहर : हाम्रो टोखा नगर”

क. टोखा नगरमा बढ्दो सहरीकरण तथा जलवायु परिवर्तनले थप जोखिम निम्त्याएको छ। सोे विपद जोखिम न्यूनीकरणका लागि “Geographic Information System(GIS)” प्रविधिको प्रयोग गरिने छ।

ख. बाढी, पहिरोबाट भत्किएको वा जीर्ण भइसकेको मठ मन्दिर, पार्टी पाउवा, सार्वजनिक पूर्वाधारहरूको मौलिकतालाई जोगाएर पुर्ननिर्माण कार्यलाई निरन्तरता दिइने छ। अथवा आवश्यकता अनुसार “Retrofitting” पनि गरिने छ।

१३. “सबैको समान पहुँच सहितको हाम्रो टोखा नगर”

क. टोखा नगरमा-खोप शिविर तथा अनुदान/सहुलियत ऋण कार्यक्रमहरूको जानकारी स्थानीयहरूलाई गराउनु हो। यस समितिले स्थानीयलाई फोन, घरदैलो अथवा सामाजिक सञ्जाल मार्फन जानकारी गराउछ। साथै यस समितिले मासिक रुपमा नगरका प्रत्येक घरधुरीको चासो, आवश्यकताको बारे प्रतिवेदन वडा तथा नगर कार्यालयलाई पेश गर्ने छ। समितिबाट प्राप्त भएको प्रतिवेदन अनुसार नगर तथा वडा कार्यालयहरूले थप नीति, कार्यक्रम तथा योजना निर्माण एवं कार्यान्वयन गर्नेछ।

उनले आफ्ना प्रतिवद्धता एवम कार्ययोजनाहरु विज्ञ र अनुभव प्राप्त व्यक्तीको सहयोगमा बनाएकी हुन्। सहायक प्राध्यापक उमेश भट्टराई, अनुसन्धानकर्ता सौरभराज पन्त, स्थानिय इन्जिनियर आशिष शर्मा, पत्रकार सुभाश कुँवर, टोखाबाट गणेश कार्की, रत्न महर्जन, नेपाली कांग्रेस टोखा नगर सभापति एवं पदाधिकारी, प्रत्येक वडाका प्रतिनिधि, इन्जिनियर वातावरणविद् लगायतको टोलीले यो प्रतिबद्धता पत्र निर्माण गरेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma