Developed By Kuldeep Sharma

कार्तिक १०, २०७९

तिहारको सम्झना

लक्ष्मी बिसी। आज त तिहारको दिन हर्षाेउल्लासको दिन, दिदिबहिनी दाजुभाइ विचको पवित्र पर्व भाइटिकाको दिन।

प्यारो भाई तिमीसंग भाइटिका नलागएको पनि बर्षाै भइसकेछ। तिम्रो सु-स्वास्थ्य दिर्घायुको कामना। मलाई मन पर्ने चाडपर्व मध्य तिहार पहिलो हो। बाल्यकालमा तिहार आउदा देउसी भैलो खेल्न पाइने अनि दौतरीसंग रमाइलो हुने भएकाले अत्ति नै मन पर्यो। उसो त अहिले पनि उत्तिकै मन पर्छ।

छोरा पाउने आसमा ६,७ जना सन्तानको जन्म दिनुभएको रे मेरी आमाले। भाइ चाहियो आमा जसरी पनि भन्दै रुदै हिडेको हिजो जस्तै लाग्छ।

बाँचेका हामी ३ बहिनी पछि भाइको जन्म भएको हो। माइली बहिनि जन्मिएपछि बाबाले मलाई भन्नुहुन्थ्यो भाई ल्याउछे भनेको बहिनी नै ल्याइ। अनि मैले सोच्थे भाइ मैले कसरी ल्याउने होला? भाइ मैले ल्याउने भए त म संगै ल्याउथे होला।

बाबाले मलाई किन त्यसो भन्नुभएको होला जस्तो लाग्थ्यो। तर केही नभनी बस्थे । म पछि छोरा पाउने आशमा धेरै सन्तान जन्माउनुभएको हो मेरी आमाले।

हामी ३ बहिनीपछि घरमा लक्ष्मी पुजाको दिन मेरो भाइको जन्म भएको हो । लक्ष्मी पुजाको २ दिन पछि भाइटिकाको दिनमा नै मैले पहिलो पटक मेरो भाइलाई भाइटिका लगाइदिएकी थिए । बाबा,आमाले हुदैन लगाउन भन्दा पनि मैले लगाइदिएकी थिए ।

किनकी मेरो लागि भाइ सबैभन्दा प्रिय थियो । दाजुभाइ नहुदाको पिडा मलाइ राम्ररी थाहा थियो । तिहारमा जहिले रोयर बस्ने गर्थे। लक्ष्मी रोएर बस्छे भनेर मेरो ठुली आमाको छोरा गोपाल दाइ सधै आफ्नो बहिनीलाई टिका नलगाई पहिला मलाई टिका लगाउन आउथ्यो ।

आमाले पनि गोपाल दाइ आउछ किन चिन्ता गर्छेस त भन्नुहुन्थ्यो । नभन्दै भाइटिकाको दिन गोपाल दाइ दौडिदै मेरो घर आएर मलाइ टिका लगाएर जान्थ्यो। म पनि खुसी हुन्थे ।

गोपाल दाईपछि मेरो भाइ जन्मिएपछि त तिहारमा हाम्रो घर आउनै छोडिस । सायद यसको आफ्नै भाइ छ भन्ने लागेर होला तलाई , दाइ त र म एउटै कक्षामा पढ्थ्यौ।

साह्रै चकचके। तैले सरसंग धेरै पिटाइ खाइस होला मेरो तुलनामा। तर तिहारमा भने सधै मेरो मन खुसी बनाइ राखिस तैले।

कसैले कति भाइबहिनी भन्दा मेरो त दाजुभाइ नै छैनन् भन्दै गर्दा कति मन खिन्न हुन्थ्यो । कतिपय चाडपर्वले कता कता मनमा सान्नाटा छाउने गर्दछ । आजको दिन कसैलाई त्यस्तो नहोस । सबैको मन खुसी होस ।

रहरले जन्मिएको मेरो भाइलाइ मैले भात चपाएर खुवाएको हिजो जस्तै लाग्छ । दिनभरि मैले बुइ बोक्दै तिमीलाई मै संग सुताएको अस्ति जस्तै लाग्छ । म दिदि संग सुत्ने हो भन्दै मेरो कोठामा आएर बसिरहने मेरो भाइ अहिले म भन्दा धेरै ठुलो भइसकेछ । म स्कुलमा बिहानको कोचिङ्ग क्लास सकेर ९ बजे घर आइपुग्दा पनि तिमी स्कुल नगइ मेरो बाटो हेरेर बसेको हुन्थ्यौ दिदिले मलाइ स्कुलमा पुर्याएदिन हन्छ भनेर ।

तिम्रो स्कुलको बाटो भएर नै म मेरो स्कुल जान्थे । साइकलको पछाडी तिमीलाइ राखेर तिम्रो स्कलमा तिमीलाइ पुर्याएर म मेरो स्कुल जान्थे । मेरो भाइलाई भोक लाग्छ भनेर खाजा बनाएर झोलामा राखीदिन्थे साझ घरमा आएर झोला खोल्दा खाजा जस्ताको त्यस्तै ,किन नखाएको बाब भन्दा मैले खान लाग्दा सबै साथीलाई दिन मन लाग्छ सबै साथीलाइ दिदा पग्दैन त्यही भएर खाजा नै नखाइकन घर लिएर आएको भन्दा साह्रै माया लागेर आउथ्यो ।

दिदि मलाई गृहकार्य सिकाइदिनु आमाले त ए,बि,सि,डी नि जान्नुहुन्न भन्दै म संग होमवर्क सिकाइ माग्न आएको मेरो सानो भाइ अझै त्यस्तै छ जस्तो लाग्छ । तिमी त अहिले धेरै बुझ्ने भइसकेको छौ ।

तिम्रो त यहि महिनाको अन्तिममा जन्मदिन पनि हो । ग्यानी बन्नु,ठुलो भन्दा पनि असल मान्छे बन्नु, जिवन सुख,दुखको संगम हो। हरेक परिस्थितिमा आत्तिने र मात्तिने छैनौ भन्नेमा विश्वस्त छु । म को हु ? मेरो काम, कर्तब्य, जिम्मेवारी के हो ? कहाँ बाट आएको हु ? मेरो विगत के हो ? भन्ने कुरालाई सधै मनमा राख्ने छौ । मान्छे हो, गल्ती हुन्छ गल्ती बाट सिक्ने छौ।

तर जानी जानी गल्ती गरेर अरुको मन दुखाउने काम कहिल्यै गर्ने छैनौ भन्नेमा आशावादी छु । घरको मेरुदण्ड हौ तिमी, असल छोरो, असल भाईको भुमिकामा सधै अब्बल हुनेछौ । समाजको लागि एक असल नागरिक बन्ने छौ । भन्ने आशा छ । हाम्रो आशालाई कहिल्यै निराशामा नबदल है भाई । तिम्रो ठुली दिदि क्षितिज पारिको बस्ति बाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma