काठमाडौँ। नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) सहकुलबहादुर थापा काममा फर्किन सहमत भएका छन्।आईजीपी नियुक्तिमा असन्तुष्टि जनाउँदै बिदामा बसेका एआईजी थापाले सोमबार साँझ गृहमन्त्री बालकृष्ण खाणलाई भेटेपछि बुधबारबाट काममा फर्कने बताएका हुन्।
सरकारले आइतबार मन्त्रिपरिषद् बैठकबाट धीरजप्रताप सिंहलाई नेपाल प्रहरीको महानिरीक्षक नियुक्त गरेपछि विश्वराज पोखरेलसँगै थापा पनि असन्तुष्ट थिए। पोखरेल अदालत गइसकेका छन् भने थापा काममा फर्किन तयार भएका हुन् ।
‘म बुधबारबाट संगठनको पूर्ववत काममा फर्किन्छु,’ एआईजी थापाले भने, ‘मंगलबार सरकारी बिदा छ। बुधबार हाजिर गरेर काम सम्हाल्छु।’
थापा प्रहरीको कार्य विभाग प्रमुखका रुपमा कार्यरत छन्। कार्यविभाग प्रमुख निर्वाचन हेर्ने प्रमुख भएकाले उनले नै प्रहरीको स्थानीय निर्वाचनको प्रमुख भएर काम गरिरहेका छन्।
प्रतिक्रिया