काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले एमालेबाट काठमाडौं महानगरको प्रमुखका लागि उम्मेदवार केशव स्थापितले चुनावी फाइदाका लागि मधेसको आत्मसम्मानमा चोट पुर्याएको आरोप लगाएका छन्।
महानगरको प्रमुखका लागि स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहलाई लक्षित गरेर अभिव्यक्ति दिएपछि पौडेलले स्थापितले चुनावी फाइदाका लागि मधेसको आत्मसम्मानमा चोट पुर्याएको आरोप लगाएका हुन्। नेता पौडेलले फेसबुकमा लेखेका छन्,‘केशव स्थापितले चुनावी फाइदाका लागि मधेसको आत्मसम्मानमा चोट पुर्याउनु भएको छ, साम्प्रदायिक घृणा र ध्रुवीकरणको यो घिनलाग्दो खेल केपी ओलीले पहिल्यै खेलिसक्नुभएको हो। महिलामाथि त सार्वजनिक मञ्चमै हिंसा भइरहेको छ।’
स्थापित अर्कै ग्रहबाट पहिलोपटक काठमाडौं ओर्लेजस्तो गरी चुनावी ‘फन्डा’ गरिरहेको पौडेलको टिप्पणी छ। हिंसा, विद्वेष, सिद्धान्तहीनता र अवसरवाद काठमाडौंको रोजाइ हुन नसक्ने पौडेलको भनाइ छ। ‘हावा गफ त ओलीजीबाटै टन्न अघाउने गरी सुनिसकेका छौँ,’ उनले भनेका छन्, ‘स्थापित र ओलीका नाममा उर्दुको एउटा शेर: एक ही उल्लु काफी था बरबाद गुलिस्ताँ करनेको, अन्जाम गुलिस्ताँ क्या होगा जब हर डाल पर उल्लु बैठा हो।’
नेता पौडेलले स्थापित काठमाडौं महानगरको प्रमुखमा निर्वाचित भएको, शाही शासनकालमा मनोनीत मेयर बनेको, डा. बाबुराम भट्टराई सरकारको पालामा काठमाडौं उपत्यका विकास प्राधिकरणको जागिर खाइसकेको पनि स्मरण गराएका छन्।
प्रतिक्रिया