Developed By Kuldeep Sharma

December 4, 2022

गण्डकीमा सरकार गठन : यसपटक पनि दिपक मनाङे नै निर्णायक

पोखरा – गण्डकी प्रदेशसभामा प्रत्यक्षमा नेपाली कांग्रेसले ५० प्रतिशत सिटमा जित हात पारेको छ । गण्डकी प्रदेशमा रहेका ३६ प्रदेशसभामध्ये कांग्रेसले १८ वटा प्रदेश हात पारेको हो ।

स्याङ्जा–२ को अन्तिम परिणाम आएसँगै गण्डकीमा कांग्रेसले १८ सिट हात पारेको हो । यससँगै गण्डकीमा कांग्रेसले स्वतन्त्रका राजीव गुरुङ उर्फ दीपक मनांगेलाई आफ्नो पक्षमा लिएको खण्डमा स्पष्ट बहुमत प्राप्त गरेको छ । यसबाट उनी यसपटक पनि गण्डकी प्रदेशमा ‘पावरफूल’ हुने देखिएको छ । कांग्रेस इतरका सबै एकतिर भए पनि बहुमत देखिँदैन ।

यस प्रदेशमा नेकपा एमालेले १२ प्रदेशमा जित हात पारेको छ भने माओवादी केन्द्रले ५ प्रदेश हात पारेको छ ।

स्याङ्जाको क्षेत्र नं. १ को प्रदेश खमा नेपाली कांग्रेसका उम्मेदवार जम्मा ६ मतले पराजित भएका छन् । यदि उनले नतिजा आफ्नो पक्षमा पारेको भए प्रत्यक्षमा कांग्रेसको एकल स्पष्ट बहुमत हुने थियो ।

समानुपातिक मतगणनातर्फ पछिल्लो तथ्यांक अनुसार गण्डकी प्रदेशमा नेकपा एमाले शीर्ष दल रहेको छ । एमालेले ३ लाख ६७ हजार ९८९ मत ल्याउँदा नेपाली कांग्रेसले ३ लाख ४९ हजार ६२८ मत ल्याएको छ ।

त्यस्तै नेकपा माओवादीले १ लाख १६ हजार ९ सय ४५ मत ल्याएको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टीले ५९ हजार ४ सय ८३ मत ल्याएको छ ।

यसबाट समानुपातिक तर्फ गण्डकी नेकपा एमालेले कांग्रेसले भन्दा थप १ सिट ल्याउनसक्ने देखिएको छ । गण्डकी प्रदेशसभामा समानुपातिकबाट २४ जना प्रदेशसभा सदस्यहरु चुनिने प्रावधान रहेको छ ।

प्रदेशतर्फ कांग्रेसले गण्डकीका बाग्लुङका चारवटै प्रदेशमा जित हात पारेको छ भने कास्कीमा २, नवलपुरमा १, स्याङ्जामा २, मुस्ताङमा २, गोरखामा २, लमजुङमा २, तनहुँमा २ र मनाङमा १ प्रदेशमा गरी १८ जित हात पारेको छ।

त्यस्तै एमालेले कास्कीमा ४, नवलपुरमा ३, तनहुँमा १, स्याङ्जामा २, पर्वतमा २ प्रदेशमा जित हात पारेको छ । माओवादी केन्द्रले म्याग्दीका २ वटै प्रदेश, तनहुँमा १, गोरखामा २ प्रदेशमा जित हात पारेको छ ।

स्वतन्त्र उम्मेदवार राजीव गुरुङ मनाङबाट निर्विरोध निर्वाचित भएका हुन् । उनी कांग्रेसको समर्थनमा निर्विरोध निर्वाचित भएका हुन् ।

प्रतिनिधिसभाका लागि १८ स्थान रहेको गण्डकी प्रदेशमा नेपाली कांग्रेसले १० स्थानमा जित हात पारेको छ भने नेकपा एमालेले ५ र माओवादीले २ सिट ल्याएका छन् । त्यस्तै राष्ट्रिय जनमोर्चाले १ सिट ल्याएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma