Developed By Kuldeep Sharma

December 14, 2022

निस्दी : प्राकृतिक सौन्दर्यको अनुपम सङ्गम

प्राकृतिक एवं मनोरम हावापानी र पर्यटकीय क्षेत्रले सुसज्जित जिल्ला हो, पाल्पा। त्यहि प्रचुर सम्भावना बोकेको पाल्पाको सुदुरपूर्वी क्षेत्रमा अवस्थित छ, निस्दी गाउँपालिका।

निस्दी गाउँपालिका प्राकृतिक स्रोत सम्पदाले सम्पन्न, जलस्रोतको धनी, मगर संस्कृति र सभ्यताको केन्द्रका रुपमा परिचित छ।
साविकका बाकामलाङ, सहलकोट, झिरुवास, मित्याल, गल्धा, अर्चले र ज्यामिरे गा.वि.स.हरु मिलेर नयाँ आकार र स्वरुपमा यस गाउँपालिकाको पुर्नगठन भएको हो । निस्दी र अरुणखोला जलाधार क्षेत्रको मध्य भागमा अवस्थित जुरेलेक देखि बेभोके सम्म अरुणखोला, गल्धा फाँट, मुढाबास फाँट, दमार फाँट, ढुंगानाबेसी फाँट देखि बाकामलाङको डमारा फाँटटार सम्म फैलिएको छ ।


कुल १९४.५ वर्ग कि.मी. क्षेत्रफलमा फैलिएको यस गाउँपालिका भौगोलिक, प्राकृतिक, ऐतिहासिक, सांस्कृतिक एवं पर्यटकीय महत्वका दृष्टिले अत्यन्त प्रवल सम्भावना भएको क्षेत्र हो ।

यहाँबाट धौलागिरी, अन्नपूर्ण पहिलो, अन्नपुर्ण दोस्रो, माछापुच्छ्रे लगायतका हिमश्रृङखलाको सुन्दर दृश्य देख्न पाइन्छ । पूर्वपश्चिम राजमार्ग अन्र्तगत नवलपरासीको अरुणखोला र होङ्खसी गेटबाट गाउँपालिका केन्द्र मित्याल पुग्न सकिन्छ । साथै मित्याल बजार पाल्पाको रामपुर बजारबाट २२ किलोमिटरको यात्रापछि सो स्थानमा पुग्न सकिन्छ । अरुणखोला र रामपुरबाट त्यहाँ पुग्न जिप तथा बस दैनिक सञ्चालनमा रहेका हुन्छन् भने मोटरसाइकल मार्फत पनि त्यहाँ पुग्न सकिन्छ ।

प्रकृति र मगर संस्कृति सभ्यताको आधार क्षेत्र निस्दी, मुख्यत् प्रचार–प्रसारको अभावमा ओझेलमा छ । सहज यातायातको ब्यवस्थासंगै पूर्वाधार बिकासमा योजनागत कार्यले फड्को मार्दै गएको गाउँपालिका उपाध्यक्ष तीरन कुमारी श्रेष्ठको भनाई छ । स्थानीय सरकारको अनुभूति निस्दीबासीले गरेको प्रति बिश्वास ब्यक्त गर्दै आउँदो पाँचबर्षमा थप सहजताको महसुस गर्ने गरि कार्य गर्ने उनको प्रतिबद्धता छ ।

निस्दीका प्रमुख पर्यटकिय आर्कषक :
१. सभ्यता बोकेको खादरको ‘कुँडुले घर’ : निस्दी गाउँपालिका वडा नम्बर ३, खादरमा रहेका परम्परागत कुँडुले घर जो कोहीका लागी मन लोभ्याउने क्षेत्र बनेको छ । खरका छाना, एउटा ढोका, एक तलाको घुमाउरो घर हेर्दा निकै आकर्षित देखिन्छ । दर्जन बढि परम्परागत कुँडुले घर खादर आसपासका क्षेत्रमा देखिन्छन् ।
कुँडुले घरमा गर्मी याममा शीतल र जाडोमा न्यानो हुन्छ ।

कुँडुले घरमा बस्दा सामूहिक भावना बढी हुने गर्दछ । ग्रामीण क्षेत्रमा यसको महत्व कम भएपनि शहरी क्षेत्रमा भने यसको महत्व बढेको स्थानीय बताउँछन् । परम्परागत कुँडुले घरको संरक्षणका लागि स्थानीय सरकारबाट पहल हुनुपर्ने स्थानीय बासिन्दाको सुझाव छ ।

२. काउँलेडाँडाको अम्लिसो : निस्दी गाउँपालिका–३ झिरुबासस्थित एसियाकै ठुलो कबुलियती बनका रुपमा रहेको काउलेडाँडा कबुलियती वन समूहद्वारा गरिएको अम्लिसो खेती पनि पर्यटकलाई लोभ्याउने अर्को गन्तब्य बनेको छ । झिरुबास नेपालकै नमूना अम्रिसो खेती भएको स्थान हो । यहाँको २२५ हेक्टर वन क्षेत्रमा व्यावसायिक अम्लिसो खेती हुँदै आएको छ ।


इलामको चिया बगानको झल्को काउलेडाँडाको अम्लिसो खेतीले दिएको छ । व्यावसायिक अम्लिसो खेतीको अध्ययन अनुसन्धान गर्नेहरु रुचिका साथ बगानमा टेक्छन् । युवा वनभोज तथा हिमालका सुन्दर दृष्य खिंच्न काउलेडाँडाको अम्लिसो खेतीमा लोभिन्छन् ।

हिमाली सुन्दर दृष्य, मगर संस्कृति र अम्लिसो बगान सुन्दर दृश्यले पर्यटकलाई लोभ्याउने वन क्षेत्र अहिले स्थानीयबासिन्दाको जीविकोपार्जनमा टेवा पु¥याउन सफल बनेको छ । कबुलियती वन उपभोक्ता समुहका अध्यक्ष राम पाटा वार्षिक रु एक करोड बढिको अम्लिसो बिक्री गर्ने गरिएको बताउँछन् । अम्लिसोको फूल कुचो बनाउन, घाँस बस्तुभाउलाई खुवाउन र डाँठ कागजका लागी प्रयोग हुने भएकाले पनि यस्को महत्व अझै बढेर गएको हो ।

मुख्यत् झिरुवास, डुनडाँडा, धर्केसिंह, खादर, लाबेट, सट्टबर लगायतका गाउँवासीले कबुलियती बनको उपभोग गर्दै आएका छन् । पाल्पामा उत्पादित अम्लिसो चितवन, रुपन्देही, नवलपरासी, कपिलवस्तु, दाङ लगायत भारतसम्म जाने गरेको छ ।

३.रुक्सेभन्ज्याङ्ग स्थित वायू उर्जाः निस्दी गाउँपालिका–४, मित्याल रुक्सेभन्ज्याङ्गमा वायू उर्जा अर्को थप आर्कषक गन्तब्य बनेको छ । मगर समुदायको बस्ती रहेको रुक्से भन्ञ्याङडाँडामा तीनवटा पंखा घुमिरहेका छन् । दुईवटा ठूला पंखा र एउटा सानो पंखा चलेका छन् । तर यी पंखा विद्युत–शक्तिले चलेका होइनन्, हावाले घुमिरहेका हुन् ।

हावाले घुमाएका तिनै पंखाबाट विद्युत् उत्पादन भइरहेको छ, जसले मित्याल गाउँ नै झिलिमिली बनेको छ ।
गाउँपालिकाको झ्याल्टुङ, मौलाथर, रुप्से भन्ज्याङ, काफल, गाउँपालिकाको कार्यालय, वडा कार्यालय, प्रहरी चौकी, गौरीशंकर मावि, मित्याल आधारभूत विद्यालय र मौलादेवी आधारभूत विद्यालयमा हावाबाट निकालिएको बिजुली उपयोग भइरहेको छ । निस्दीको गाउँपालिका केन्द्र मित्यालमा रहेको यो बायूउर्जा पनि यस स्थानको अवलोकनीय गन्तब्य बनेको छ ।

४.ऐतिहासिक जुरे गुफाः प्राकृतिक छटाले भरिपूर्ण निस्दी गाउँपालिका–२ सहलकोटमा अवस्थित ऐतिहासिक तथा पर्यटकीय क्षेत्र जुरे गुफामा पुग्ने जोकोही पनि प्रकृतिसँग रमाउने गर्छन् । जुरे गुफा क्षेत्र साँच्चिकै प्राकृतिक रुपमा मनमोहक र सुन्दर छ ।

पौराणिक समयमा भुरे राजाहरुले राजकाज गरेको यस जुरे गुफामा पुगेपछि जोकोही पनि प्रकृतिसँग रमाएर समय बिताउने गरेको पाइन्छ ।

माछापुच्छ्रे र धौलागिरी हिमाल, रामपुर उपत्यका, स्याङ्जा, तनहुँ, कास्की, लमजुङ, नवलपरासी लगायतका विभिन्न स्थानको एकैनजरमा अवलोकन गर्न सकिने ऐतिहासिक पर्यटकीय क्षेत्र जुरेगुफा विकास पूर्वाधारको अभावमा ओझेलमा परेको हो । यहाँबाट मोतिझैँ टल्केका हिमालका दृश्यले अवलोकन गर्न आउने पर्यटकलाई लालायित पारिरहेको हुन्छ ।

५.लेकडाँडाः निस्दी गाउँपालिका वडा नम्बर ६ अर्चलेको लेकडाँडा पर्यटकिय गन्तब्यका रुपमा परिणत भएको छ । लेकडाँडामा ब्यबसायिक रुपमा टिमुर, कागती, दालचिनीको खेती गर्न सुरु गरिएको हो ।

 

लेकडाँडालाई जडिबुटीको उर्वरस्थलका साथै पर्यटकिय दृष्टिले समेत मनमोहक बन्दै गएको छ ।

यतिमात्र होइन्, निस्दीमा कयौं ऐतिहासिक र पर्यटकिय दृष्टिले सुसज्जित गन्तब्यहरु रहेका छन् । यसैगरि, वडा नं. १ मा कालीगण्डकी किनारा भोटाहा, बगैँचा, राइका देवी मन्दिर, राईका भन्ज्याङ्ग र छपाक्दी डाँडा प्रमुख पर्यटकीय स्थल छन् । २ नं. वडामा जुरे गुफा र चमेरो गुफा प्रमुख पर्यटकीय स्थल रहेका छन् । ३ नं. वडामा काउलेडाँडाको अम्लिसो घारी तथा त्यस क्षेत्रबाट देखिने मनोरम दृश्य अबलोकनको लागि प्रमुख पर्यटकीय स्थल हुन् । मगर संस्कृतीको ठूलो नाच, सोरठी नाच, करुवा नाच, झाम्रे नाच तथा मारुनी नाच यहाँको प्रचलित नाच्ने नाच हुन् । ५ नं. वडामा नामसुर्घा, थाम र गौ भन्ज्याङ्ग प्रमुख पर्यटकीय स्थल हुन् । ६ नं. वडामा लेक डाँडा प्रमुख पर्यटकीय स्थल हो । यस्तै ७ नं. वडा चुनखानी प्रमुख पर्यटकीय स्थल हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma