काठमाडौं। त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल पुनः सञ्चालनमा आएको छ। आन्तरिक टर्मिनल भवनमा शङ्कास्पद वस्तु राखेको हल्लाले केहि समय आन्तरिक उडान प्रभावित भएको थियो।
‘सर्च अपरेशन’ गर्दा कुनै पनि शङ्कास्पद वस्तु नभेटिएपछि आन्तरिक उडान पुनःसुरु भएको विमालस्थलले जनाएको छ। बम राखेको हल्लाले अवरोध भएको विमानस्थल खुलेको त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयका एसएसपी भीमप्रसाद ढकालले जानकारी दिए।
बम राखेको अपुष्ट खबर आएपछि विमानस्थलको आन्तरिक टर्मिनलमा जम्मा भएका यात्रुलाई बाहिर निकालिएको थियो। ढकालका अनुसार विदेशबाट अज्ञात व्यक्तिले फोन गरेर विमानस्थलको आन्तरिक टर्मिनलमा बम भएको बताएका थिए।
फोन आएसँगै सेनाको बम डिस्पोजल टोलीसहितले सर्च गर्दा बम नभएको पुष्टि भएको हो। बुधबार बिहान अज्ञात व्यक्तिले विदेशबाट विमानस्थलको ६ ठाउँमा बम भएको भन्दै फोन फोन गरेर भ्रामक सूचना दिएका थिए। नागरिक उड्ययन प्राधिकरणका अधिकारीलाई ल्याण्ड लाइनमा फोन गर्दै आन्तरिक तर्फको टर्मिनलमा ६ ठाउँमा बम भएको सूचना दिएको पाइएको छ।
भ्रामक सूचना फैलाउने व्यक्तिले डिङटोङ नामक एप्स प्रयोग गरेर फोन गरेको पाइएको प्रहरीको भनाइ छ। विमानस्थलबाट बाहिर निकालिएका यात्रुहरुलाई पुन विमानतर्फ पठाउन थालिएको र अवस्था सामान्य बनेको ढकालले जानकारी दिए। प्रहरीले भ्रामक सूचना दिने उपर अनुसन्धान भइरहेको जनाएको छ।
प्रतिक्रिया