काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस पार्टीले कसैलाई धोका दिन जनानेको बताएका छन्। नेपाली कांग्रेस मोरङले आज विराटनगरमा आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै देउवाले कांग्रेससँग साथ गर्नेहरूबाट बरु बेलाबेलामा आफैले धोका खाएको तर कसैलाई धोका नदिएको बताए।
राष्ट्रिय आवश्यकताका आधारमा गठबन्धन बनेको भन्दै देउवाले प्रजातन्त्रलाई जनतामाझ लैजाने र सुदृढ बनाउने गठबन्धनको मुख्य उद्देश्य भएको स्पस्ट पारे। गठबन्धनमा कुनै शंका उपशंका पैदा गर्ने काम गर्न नहुने पनि उनले बताए।
‘गठबन्धन तोड्नु हुँदैन। कांग्रेससँग एक्लै लड्ने तागत नभएकाले पनि ठूलो पार्टी बन्न कसैन कसैसँग मिल्नै पर्ने थियो। कांग्रेस ठूलो पार्टी बन्ने यो महत्वपूर्ण अवसर पनि हो’, देउवाले भने। उनले गठबन्धनका सबै दलहरूलाई मत दिन कांग्रेसका नेता कार्यकर्ताहरूलाई निर्देशन पनि दिए।
गठबन्धन गर्दा केही नेताहरूलाई अन्यायसमेत भएको भन्दै देउवाले अहिले अन्यायमा परेका नेताहरूलाई आउने दिनमा न्याय गर्ने प्रतिवद्धता पनि जनाए। प्रधानमन्त्रीसमेत रहेका देउवाले अहिलेको स्थानीय तह नभएर सरकार भएकाले स्थानीय सरकार बलियो बनाउन कांग्रेस नेतृत्वको गठबन्धनलाई जिताउन जरुरी रहेको पनि औल्याए।
देउवाले ६५ वर्षमा वृद्ध भत्ता दिने आश्वासन दिँदै गठबन्धनका उम्मेदवारहरुलाई भोट दिन आग्रह गरे। ‘वृद्ध भत्ता ६५ वर्षमै दिने निर्णय मैले गरेको छु। विभिन्न रोग लागेकालाई ५ हजार निर्वाह भत्ता पनि दिएका छौँ। विकास निर्माणको काम गर्न पनि राष्ट्रिय चुनावसम्मै गठबन्धनलाई जिताउनुस्’, उनले भने, ‘चित्त बुझेपनि नबुझेपनि गठबन्धनलाई जिताउनुहोला। पहिले पनि मेयर बनाउन सकिन। प्रदेशको एमपी दिन पनि सकिएन। त्यही भएर नागेशजी मसँग रिसाएर चुर थिए। अहिले त खुसी भए होलान्। काम गर्ने मान्छे हुन् नागेशलाई जिताउनुहोला। उपमेयरमा जसपाको छातामा पनि भोट हालेर जिताइदिनुहोला।’
विराटनगर महानगरमा सत्ता गठबन्धनबाट कांग्रेसका नागेश कोइराला मेयर, उपमेयरमा जसपाबाट अमरेन्द्र यादव उम्मेदवार छन्। देउवा आजै चितवन जाने कार्यक्रम छ। चितवनमा कांग्रेसको भोलि चुनावी सभा छ।
प्रतिक्रिया