काठमाडौं। प्रधान सेनापति प्रभुराम शर्माले भारतका नवनियुक्त थल सेनाध्यक्ष मनोज पाण्डेलाई शुभकामना र बधाई दिएका छन्।
सैनिक मुख्यालय जंगी अड्डाबाट भिडियो कन्फरेन्समार्फत शर्माले पाण्डेलाई बधाई दिएको सेनाले जानकारी दिएको छ। प्रधान सेनापति शर्माले भिडियो कन्फरेन्सका क्रममा नेपाली सेना र भारतीय सेनाबीच रहँदै आएको परम्परागत विशिष्ट सम्बन्ध र आपसी सहयोग रहेको उल्लेख गर्दै पाण्डेको कार्यकालमा अझ उचाइमा पुग्ने विश्वास व्यक्त गरे।
उक्त अवसरमा भारतीय थल सेनाध्यक्ष पाण्डेले प्रधान सेनापति शर्माले नेपाल भ्रमणका लागि गरेको निमन्त्रणालाई स्वीकार गरे। साथै, उनले आपसी समन्वय र उपयुक्त समयमा नेपालको भ्रमण गर्ने विश्वास दिलाउँदै दुई सेनाबीचको पारस्परिक सम्बन्ध भविष्यमा थप प्रगाढ हुने विश्वास व्यक्त गरेको सेनाले जनाएको छ।
नेपाल र भारतका सेनाप्रमुखले एक अर्काको मानार्थ महारथी सम्मान गर्ने प्रचलन छ। त्यही प्रचलनअनुसार पाण्डे नेपालमा आएर उक्त सम्मान ग्रहण गर्नेछन्। शर्माले भने यसअघि नै भारत भ्रमण गरेर भारतीय स्थल सेनाध्यक्षको मानार्थ महारथीको सम्मान लिइसकेका छन्।
प्रतिक्रिया