Developed By Kuldeep Sharma

January 9, 2023

कांग्रेस रचनात्मक र एक भएर संसदमा प्रस्तुत हुन्छ : सभापति देउवा

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरुलाई जनताको भावनाअनुरुप काम गर्न आग्रह गरेका छन्।

प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्दै उनले मंसिर ४ मा सम्पन्न निर्वाचनबाट निर्वाचित प्रतिनिधिसभा सदस्यहरुलाई जनताको भावनाअरुरुप काम गर्न आग्रह गरेका हुन्।

प्रतिनिधिसभामा निर्वाचित भएर आउनुभएका सबै माननीय सदस्य साथीहरुलाई हार्दिक बधाई दिन चाहन्छु,’ देउवाले भने, ‘तपाईंहरु ५ वर्षीय कार्यकालमा देश र जनताको हितमा काम गर्न सफल हुनुहुनेछ भन्ने विश्वास गर्दै कार्यकाल पूर्ण सफलताको शुभकमना व्यक्त गर्दछु। तपाईंहरुलाई निर्वाचित गर्ने जनताको भावना अनुरुप काम गर्न अनुरोध गर्दछु।’

उनले कांग्रेसले प्रतिनिधिसभामा जिम्मेवार भएर रचनात्मक रुपमा प्रस्तुत हुने पनि बताए। उनले सम्बोधनका क्रममा आफूसँग सहकार्य तोडेर प्रधानमन्त्री भएका पुष्पकमल दाहाल प्रचण्डलाई पनि बधाई दिएका छन्।

‘यो प्रतिनिधिसभामा नेपाली कांग्रेस एकतावद्ध, जिम्मेवार भएर रचनात्मक रुपमा प्रस्तुत हुनेछ,’ देउवाले भने, ‘जनताको जीवनसँग जोडिएका विषयमा हाम्रो विशेष ध्यान जानेछ।’

यस्तै देउवाले वर्तमान प्रतिनिधिसभाबाट नेपाली जनताले धेरै अपेक्षा राखेको पनि बताए। उनले सबै पक्ष आगामी यात्रा, माध्यम र गन्तव्य स्पष्ट हुन जरुरी रहेको उल्लेख गरे।

पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमबाट दिगो शान्ति, सुशासन, विकास र समृद्धि प्राप्त गर्नु सबैको साझा लक्ष्य भएको बताए।

देउवाले लोकतन्त्रको उन्नयनका निमित्त संविधान कानूनका साथै नैतिक आचरणको विषेश महत्व हुने उल्लेख गर्दै सम्पूर्ण उर्जा, मनस्थिति, व्यवहार र काम कारवाही नेपाल र नेपाली जनताको बृहत्तर हितका निमित्त केन्द्रीत हुनु पर्ने बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma