काठमाडौं । नेपाल प्रहरीको आईजीपी नियुक्ति विरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका एआईजी विश्वराज पोखरेलले सरकारले गरेको आईजीपी नियुक्तिको निर्णय आफ्नो मृत्युभन्दा पनि दुःखद भएको बताएका छन्।
न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासमा पोखरेलले आज भने ‘आईजीपी नियुक्ति मेरो मृत्युभन्दा पनि दुःखद हो, श्रीमान। म डेढ वर्ष सिनियर एआईजी हुँ। सिनियरलाई छुटाएर अरुलाई नियुक्ति गर्नु भनेकोचाहिँ मृत्युभन्दा दुःखद हो।’ धिरजप्रताप सिंहभन्दा आफू डेढ वर्ष सिनियर भएको उनको भनाई थियो। सरकारको यो निर्णयले आफू र प्रहरी संगठनलाई गम्भीर क्षति पुगेको समेत पोखरेलले जिकिर गरे।
‘जो प्रहरी संगठनमा आउँछ ऊ आईजीपी वा प्रमुख हुन्छु भनेर आउँछ’, उनले इजलासमा भने, ‘संगठन प्रमुख हुन्छु भनेर आउने आकांक्षा जतिबेला पनि निमोठिनसक्छ भन्ने उदाहरण पनि हो यो श्रीमान।’ उनले आफूले नै एआईजी हुँदा धीरजप्रताम सिंहलाई फुली लगाइदिएको र अहिले जुनियरलाई आईजीपी मान्न नसक्ने उनको जिकिर थियो।
सरकारको निर्णय उल्ट्याउँदै आफूलाई आईजीपी नियुक्त गरिनुपर्ने माग पोखरेलले गरे। पोखरेलको तर्फबाट बहस गर्दै अधिवक्ता सुनिल पोखरेल र रमेश बडालले सर्वोच्चको यसअघिको नजिरसमेत सम्झाउँदै नियुक्ति बदर गर्न अन्तरिम आदेश माग गरेका छन्।
पोखरेलले सरकारले ज्येष्ठता मिचेर नियुक्त गरेको आईजीपीले फुली लगाइसकेपछि बदर गर्न नमिल्ने भन्ने हो भने पीडितले न्याय नपाउँने जिकिर गरे। उनले कि त आईजीपी नियुक्तिसम्बन्धी विवादको निरुपण गर्ने क्षेत्राधिकार अदालतमा नरहेको भन्नुपर्ने उनको जिकिर छ।
पोखरेलले भने, ‘यस्तो भयो भने त सरकारले राति १२ बजे क्याबिनेट राखेर जुनियरलाई आईजीपी नियुक्त गर्ने र बिहान १० बजेअघि नै फुली लगाइदिने हुन्छ। पीडित ११ बजे अदालत जान्छ। कि त यो मुद्दा अदालतको क्षेत्राधिकारमा पर्दैन भन्नुपर्यो। होइन भने अन्तरिम आदेश हुनुपर्छ।’
अर्का अधिवक्ता रमेश बडालले अन्तरिम आदेशपछि पनि प्रहरी नेतृत्वविहीन नहुने र वरिष्ठताका आधारमा विश्वराज स्वतः निमित्त आईजीपी बन्ने जिकिर गरे। उनले सर्वोच्च अदालतले नवराज सिलवालको मुद्दामै आईजीपी नियुक्तिबारे प्रष्ट भनिसकेकाले विश्वराज पोखरेलको पक्षमा अन्तरिम आदेश हुनुपर्ने जिकिर गरे। एआईजी पोखरेल इजलासमा बोलेसँगै बहस सकिएको छ भने आजै आदेश आउनेछ।
प्रतिक्रिया