काठमाडौं। शरीरमा आगो लगाएका पुरूषलाई बचाउन गएकी पोखराकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ।
जलेर घाइते भएकी पोखरा महानगरपालिका वडा नम्बर १३ की उक्त महिलाको उपचारको क्रममा सोमबार बिहान मृत्यु भएको चिकित्सकहरूलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी अजय केसीले बताए।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उनको उपचारको गरिएको थियो। उनको घरमा डेरा गरी बस्ने एक पुरूषले शौचालयमा गएर आफैंमाथि पेट्रोल छर्केर आगो लगाएपछि उनी बचाउन गएकी थिइन्।
आगोले जलेर गम्भीर घाइते भएका दुवै जनालाई उपचारका लागि प्रतिष्ठानमा लगिएको थियो। आफैंमाथि आगो लगाएका पुरूषको भने उपचार जारी छ। उनको शरीरको करिब २५ प्रतिशत भाग जलेको छ।
मृत्यु भएकी महिलाको भने ८० प्रतिशत भाग जलेको प्रहरीले जनाएको छ। घाइतेलाई अस्पताल पुर्याएपछि मात्रै घटनाबारे प्रहरीलाई खबर आएको थियो।
बचाउन गएकी महिलाको शरीर कसरी धेरै जलेको भन्ने विषयमा अनुसन्धान भइरहेको एसपी केसीले बताए। ‘अहिले हामी प्रारम्भीक अनुसन्धानमा छौं, परिवार पनि आउनुभएको छ। हामी थप बुझ्दैछौं,’ उनले भने, ‘यस विषयमा अनुसन्धानपछि मात्रै के भएको हो भन्न सकिन्छ।’
यो घटना शंकास्पद छ वा छैन भन्ने विषयमा पनि अनुसन्धान भइरहेको उनले बताए। प्रहरीले मृतक र उपचाररत पुरूषको परिचय भने खुलाएको छैन। ती पुरूषको स्वास्थ्य अवस्था सुधारउन्मुख रहेको प्रहरी निरीक्षक सुवास तिमिल्सिनाले बताए।
प्रतिक्रिया