Developed By Kuldeep Sharma

January 30, 2023

‘छक्का पञ्जा ४’ को ‘’दर्शन सलाम’’ गीत सार्वजनिक

काठमाडौं। आगामी फागुन १९ गतेबाट प्रदर्शन हुन लागेको हेमराज विसी निर्देशित फिल्म ‘छक्का पञ्जा ४’को पहिलो गीत सार्वजनिक भएको छ।

लोक शैलीको ‘दर्शन सलाम’ बोलको सार्वजनिक गीतमा डेभिड शंकर र सहिमा श्रेष्ठको स्वर छ भने राजेन्द्र थापाको शब्द रचना र दीपक शर्माले संगीत भरेका छन्। चुनावको पृष्ठभूमिमा तयार पारिएको गीतमा कविराज गहतराजको कोरियोग्राफी छ।

फिल्मका मुख्य कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला, निर्मल शर्मा, केदार घिमिरे, बुद्धि तामाङ, राज आचार्यका साथमा अभिनेत्री स्वस्तिमा खड्काले गीतमा नृत्य गरेका छन्। गीतमार्फत् दीपकराजको चरित्र चित्रण समेत गरिएको छ। गीतमा उनको बग्रेल्ती स्ट्याचुहरु राखिएका छन् भने एकिकृत निष्पक्ष दलबाट सूर्केथैली चिन्ह लिएर उनले चुनाव लडेको बुझाउन खोजिएको छ।

‘छक्का पञ्जा’ सिरिजका हरेक गीत हिट छन्। जसले गर्दा दीपक(दीपाको समुहलाई चौंथो सिरिजको गीत पनि उत्कृष्ट बनाउनुपर्ने दबाब थियो।

जसअनुरुप ‘दर्शन सलाम’ गीतलाई स्तरीय बनाउन अडियो र भिडियोमा मिहिनेत गरिएको छ। गीतका शब्दहरु जिब्रोमा झुन्डिने खालका छन्। संगीत पक्ष सशक्त छ। फिल्मको हाइप निर्माण गर्न यो गीतले ठूलो भूमिका खेल्न सक्ने देखिन्छ।

नेताको भूमिकामा रहेका दीपकले गीतको अन्तिममा मतमेटिका र निर्वाचन अधिकृतलाई कब्जा गरेको दृश्य समावेश छ, जसले नेपालका राजनीतिज्ञप्रति व्यंग गरेको छ । यो दृश्यले फिल्म राजनीतिक विषयमा निर्माण भएको बुझाउँछ।

फिल्मको पटकथा तथा संवाद दीपकराज गिरीले तयार पारेका हुन् । फिल्ममा नरेन्द्र मैनालीको छायांकन, रोशन श्रेष्ठको द्वन्द्व, निमेष श्रेष्ठको सम्पादन छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma