काठमाडौं। कर्तव्य ज्यान र ज्यान मार्ने उद्योगका फरार अभियुक्तलाई प्रहरीले तीन वर्षपछि पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा काठमाडौंको नैकाप बस्ने सिन्धुलीको कमलामाई नगरपालिका–१० का २५ वर्षीय मुण्डा भन्ने सरोज सुन्दास रहेका छन् ।
काठमाडौं महानगरपालिका–३२ तिनकुनेस्थित गैरीगाउँको पेट्रोलपम्प नजिक महेश परियार, मनिष बानियाँ र सरोज सुन्दाससमेतले २०७५ मङ्सिर ८ गते चक्कु प्रहार गरी बिक्की थेबे लिम्बुको हत्या गरेको र अनिल श्रेष्ठलाई गम्भीर घाइते बनाएको प्रहरीले जनाएको छ ।
घटनापश्चात् फरार रहेका सुन्दासलाई नैकापमा लुकिछिपी बसिरहेको भन्ने सूचनाका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले बुधबार पक्राउ गरी कानूनी कारवाही अघि बढाएको आज एक सूचना जारी गरी जनाइएको छ ।
उक्त घटनामा संलग्न महेश परियार र मनिष बानियाँलाई घटना भएकै दिन काठमाडौंको तारकेश्वर नगरपालिका–१ साङ्लाबाट नियन्त्रणमा लिइ जिल्ला अदालत काठमाडौँको फैसलाले जन्म कैद सजाय भोगिरहेका छन् । सुन्दासलाई आवश्यक कारवाहीका लागि जिल्ला अदालत काठमाडौं पठाइएको जनाइएको छ ।
प्रतिक्रिया