Developed By Kuldeep Sharma

March 22, 2023

डाउन सिन्ड्रोम दिवस विविध कार्यक्रम गरी मनाइयो,के हो डाउन सिन्ड्रोम

काठमाडौं। विश्वमा मार्च २१ अर्थात मंगलबार डाउन सिन्ड्रोम दिवसलाई विविध कार्यक्रम गरेर मनाउने चलन रहेकाे छ ।

मंगलबार  डाउन सिन्ड्रोम समाज नेपालको अगुवाईमा विविध कार्यक्रम गरेर डाउन सिन्ड्रोम दिवस मनाएका हुन् । जन्मजात रुपमै देखिने डाउन सिन्ड्रोमको समस्याबाट हाल नेपालमा धेरै बालबालिका प्रभावित भएका छन् । शारीरिक र मानसिक विकास नै ढिलो हुनु डाउन सिन्ड्रोमको लक्षण हो।

डाउन सिण्ड्रोम समाज नेपालका अध्यक्ष शिला थापाले सन् २००६ देखि डाउन सिण्ड्रोम अवस्था भएका व्यक्तिहरुको लागि वकालत तथा पैरवी गर्दै आइरहेको बताएकी छन्। साथै अध्यक्ष थापाले सत्यम दिवा सेवा मार्फत डाउन सिण्ड्रोम अवस्था भएका केटाकेटीहरुको बौदिक, शारीरिक तथा मानसिक विकासको लागि पुनर्स्थापनाका कार्यक्रमहरु सञ्चालन गरेकोमा हाल ३ जना डाउन सिण्ड्रोम अवस्था भएका युवाहरु रोजगारीको लागि तालिममा आवद् छन् भने डाउन सिण्ड्रोम समाज नेपालमा नेपाल भरीका ३ हजार ५ सय जना जति अभिभावकहरु सम्पर्कमा रहेको जानकारी दिईन्।

सामान्यतया डाउन सिन्ड्राम भएका बालबालिका अरुसँग बढी नै घुलमिल गर्न खोज्ने र दोहोरो कुरा गर्ने स्वभावका हुन्छन्। उनीहरु नयाँ मानिससँग रामाउने र बढी घुलमिल हुन खोज्ने स्वभावका हुन्छन्। जसले गर्दा अरु बालबालिका भने उनीहरुसँग टाढिन खोज्छन्।

तर, सामाजिक हिसाबबाट नै उनीहरुलाई हेर्ने दृष्टिकोण फरक हुँदा समस्या हुने गर्दछ । डाउन सिन्ड्रोम भएका बालबालिका सामान्य बालबालिकाको तुलनामा हिड्न, बोल्न उठ्न, बस्न र खान सक्ने क्षमताको विकास ढिलो हुने गर्छ। यस्ता बालबालिकालाई विशेष स्याहारको जरुरत पर्दछ ।

डाउन सिन्ड्रोमलाई नेपाल सरकारले बौद्धिक अपाङगता भएको तथ्यांकमा राख्ने भएकाले डाउन सिन्ड्रोम भएकाहरुको यकिन तथ्यांक छैन। तर नेपालमा वार्षिक १५ सय बालबालिका डाउन सिड्रोमको लक्षण लिएर जन्मिने गरेको अनुमान छ। विश्वमा हरेक १ हजार बालबालिकामा १ जनामा डाउन सिन्ड्रोमको समस्या देखिने गरेको अनुमान छ।

सामान्य मानिसको शरीरमा प्रत्येक कोषमा ४६ वटा क्रोमोजोम हुन्छन्। तर, डाउन सिन्ड्रोमको अवस्थामा भने ४६ को ठाउँमा ४७ वटा क्रोमोजोम बनेका हुन्छन् । जसका कारण यस्ता बालबालिकाको गतिविधि सामान्य बच्चाको भन्दा केही असामान्य हुने हुन्छ। फलस्वरुप शारीरिक विकास तथा सिकाईमा ढिलो हुने जस्ता समस्या देखिन्छन्।

डाउन सिन्ड्रोमलगायत वाैद्धिक तथा शारीरिक अपांगता भएकाहरुका लागि लक्षित गरेर स्कुल र डे केयर लगायतका विषयमा सम्बन्धित निकायको ध्यान जान जरुरी छ।

नेपालमा डाउन सिन्ड्रोम भएका मान्छेहरुको कुनै यकिन तथ्यांक छैन। पछिल्लो पटक डाउन सिन्ड्रोम समाजले यस्ता अवस्थाका विशेष गरि बालवालिकाहरुलाई संरक्षण र सहयोग दिँदै आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma