गण्डकी प्रदेशमा नेपाली कांग्रेसको नेतृत्वमा सरकार बन्ने भएको छ। तनहुँको उपनिर्वाचनलाई लिएर माओवादीले मुख्यमन्त्री दाबी गर्दै आएको थियो । तर कांग्रेसका २७ जना सांसद उक्त दाबी विरुद्ध काठमाडौँ डेलिगेसन पुगेको हो।
डेलिगेसनका क्रममा शीर्ष नेताहरूले गण्डकी कांग्रेसले लिने सहमति भएको जानकारी गराएका संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले जानकारी दिए । ‘हामीले नेतृत्वहरूसँग भेट्यौँ। उहाँहरूले कांग्रेसले नै पहिलो पालो पाउने बताउनुभयो,’ उनले भने, ‘अब पोखरा आएर सरकार गठनको प्रक्रिया थाल्छौँ।’
पाण्डेका अनुसार गण्डकीमा पुनः संविधानको धारा १६८ उपधारा २ अनुसार नै सरकार गठन हुने छ। उपधारा २ मा दुई वा सो भन्दा बढी दलहरू मिलेर सरकार गठन गर्न पाउने व्यवस्था छ। प्रदेशमा कुनैपनि पार्टीको एकल बहुमत नभएका कारण यसअघि पनि उपधारा २ अनुसार नै सरकार बनेको हो।
तर एमालेले भने गण्डकीमा अव २ अनुसारको सरकार बन्ने बाटो बन्द भएको बताएको छ। ‘हामीले उपधारा २ अनुसारको सरकार बनायौँ । संसद्बाट विश्वासको मत गुमाएपछि गण्डकी उपधारा ३ मा पुग्छ,’ मन्त्री वेदबहादुर गुरुङले भने, ‘यहाँ २ अनुसारको सरकार अब बन्दैन।’ कुन उपधारा अनुसार सरकार बनाउने भन्ने अन्योल भएपछि प्रदेश प्रमुख पृथ्वीमान गुरुङले दलहरूलाई छलफल गर्नका लागि काठमाडौँ पठाएका हु।
सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भएको छलफलले गण्डकीको नेतृत्व पहिले कांग्रेसले लिने सहमति भएको हो । गण्डकी सहित लुम्बिनी र सुदूरपश्चिमको नेतृत्व कांग्रेसले गर्ने, कर्णाली र बागमती प्रदेशको नेतृत्व माओवादीले गर्ने सहमति भएको छ । अहिले पनि यी दुई प्रदेशमा माओवादीको नेतृत्व छ भने सुदूरपश्चिममा कांग्रेसले नै नेतृत्व गरिरहेको छ।
तर माओवादी संसदीय दलका नेता हरिबहादुर चुमानले गण्डकीको नेतृत्वबारे जानकारी नपाएको बताए। ‘अहिले हाम्रो पालो हो । केन्द्रमा के निर्णय भयो भन्ने मलाई थाहा छैन । तर नेताहरूलाई फोन गर्दा तपाईँकै पालो हो भनेका छन्,’ उनले भने, ‘ढुक्क भएर बस्नुस् हामी तपाईँकै पक्षमा निर्णय गर्छौँ भनेका छन्। यहाँ माओवादीकै नेतृत्वमा सरकार बन्छ ।’ आफ्नै नेतृत्वमा गण्डकी सरकार बन्ने उनको दाबी छ। प्रदेश प्रमुखले मंगलबार मुख्यमन्त्री दाबी गर्नका लागि आह्वान गर्ने छन्।
शनिबार मुख्यमन्त्री खगराज अधिकारीले संसद्बाट विश्वासको मत गुमाएपछि गण्डकीमा कामचलाउ सरकार छ। पुस २५ गते माओवादी र राप्रपा समेतको समर्थनमा उनी मुख्यमन्त्रीमा नियुक्त भएका थिए । तर फागुन २५ गते भएको राष्ट्रपति निर्वाचनका कारण पुरानो गठबन्धन टुट्यो र नयाँ समीकरण बनेको हो।
सोही समीकरणका कारण माओवादी एमालेसँग छुट्टिएर कांग्रेसतिर लागेको छ । शनिबार अधिकारीले राखेको विश्वासको मत सम्बन्धी प्रस्तावको पक्षमा २४ मत परेको थियो भने विपक्षमा ३५ मत परेको थियो । आगामी सरकारको नेतृत्वमा कांग्रेस र माओवादी दुवैको दाबी भएका कारण मुख्यमन्त्री नियुक्तिमा विलम्ब भएको हो।
प्रतिक्रिया