Developed By Kuldeep Sharma

May 4, 2023

गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत

काठमाडौं।  गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत पाएका छन्।

बिहीबार प्रदेशसभाको बैठकमा उनले पेस गरेको विश्वासको मत सम्बन्धी प्रस्ताव बहुमतले पारित भएको हो।

गत १४ गते नियुक्त भएर १५ गते शपथ लिएका पाण्डेले मागेको विश्वासको मतको पक्षमा ३५ जनाले मत दिएका छन् भने विपक्षमा २२ मत परेको छ। राप्रपाका २ सांसद भने तटस्थ बसेका  छन्।

उनलाई आफ्नै दल कांग्रेसका २७, माओवादीका ७ र मनाङबाट स्वतन्त्र सर्वसम्मत चुनाव जितेर एकीकृत समाजवादी प्रवेश गरेका राजीव गुरुङसहित ३५ सदस्यले विश्वासको मत दिएका थिए । नेकपा एमालेका २२ सांसदले विपक्षमा मत हालेका छन्।

पुस २५ गते माओवादी, राप्रपासहितको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका एमालेका खगराज अधिकारीको सरकार वैशाख ९ गते ढलेपछि गण्डकीमा कांग्रेस–माओवादीको बहुमतको सरकारको पाण्डे मुख्यमन्त्री बनेका हुन्।

केन्द्रमा प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपति निर्वाचनमा सत्ता समीकरण बदलेपछि गण्डकीमा एमाले सरकारबाट माओवादीका मन्त्रीहरुले  राजीनामा दिँदै चैत्र १० गते समर्थन फिर्ता लिएका थिए।

कुनै दलले समर्थन फिर्ता लिएमा १ महिनाभित्र विश्वासको मत लिनु पर्ने संवैधानिक व्यवस्था अनुसार अधिकारीले संसदबाट वैशाख ९ गते विश्वास गुमाएका थिए।

माओवादी संसदीय दलका नेता हरिबहादुर चुमानको दाबीका बावजुद संविधानको धारा १६८ को उपधार २ बमोजिम पाण्डे बहुमतको सरकारको मुख्यमन्त्री नियुक्त भएका हुन्।

मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान अनुसार बिहीबार मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिएका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma