Developed By Kuldeep Sharma

May 10, 2023

पूर्वराष्ट्रपति ट्रम्प दोषी ठहर, ५० लाख डलर जरिवाना

काठमाडौं। अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प यौन दुर्व्यवहार सम्बन्धी मुद्दामा दोषी ठहरिएका छन्। न्यूयोर्कको एउटा जुरीले ट्रम्पले म्यागेजिनकी लेखिका ई जीन क्यारोललाई यौन दुर्व्यवहार गरेको ठहर गर्दै ५० लाख डलर क्षतिपूर्ति दिनुपर्ने निर्णय सुनाएको बीबीसीले जनाएको छ।

ट्रम्पले झुटो बोलेर आफ्नो बदनाम गरेको उनले आरोप लगाएकी थिइन्। लेखिकाले सन् १९९० को दशकमा पूर्व राष्ट्रपतिले आफूलाई डिपार्टमेन्ट स्टोरमा आक्रमण गरेको बताएकी थिइन्। क्यारोलले लगाएको बलात्कारको गम्भीर आरोप भने अदालतले अस्वीकार गरेको छ।

ट्रम्पले जुरीको उक्त निर्णयलाई अपमानका रूपमा व्याख्या गरेको र उनका प्रवक्ताले ट्रम्पले पुनरावेदन गर्ने बताएको बीबीसीले जनाएको छ।ट्रम्पले राजनीतिक प्रभावमा गरिएको झूठो मामिला भएको आरोप लगाएका छन्।

आदेशपछि लिखित वक्तव्यमा क्यारोलले भनेकी छन्,‘आज विश्वले वास्तविकता थाहा पाएको छ। यो मेरो मात्रै नभएर आफूलाई विश्वास नगरिएका कारण पीडा खेपेका प्रत्येक महिलाको जित हो।’

यो फैसलाले अबको राष्ट्रपतिको निर्वाचनमा लड्नका लागि ट्रम्पलाई ठूलो धक्का पुगेको आँकलन गरिएको छ।

यो ट्रम्पले सामना गरिरहेको कैयौँ मुद्दाहरूमध्ये एक हो। एक जना वयस्क चलचित्र अभिनेत्रीलाई चुपचाप रहन रकम दिएको, अमेरिकी संसद् भवनमा दंगा फैलाउन भूमिका खेलेको र सन् २०२० को चुनाव आफ्नो पक्षमा पार्न लागिपरेको जस्ता अन्य आरोपहरू पनि ट्रम्पले सामना गरिरहेका छन्।

एक जना महिलाले सन् १९७० को दशकमा उडानका समयमा ट्रम्पले आफ्नो इच्छा विपरीत स्पर्श गरेको बताएकी थिइन्। अर्कीले सन् २००५ मा एउटा लेखका लागि अन्तरवार्ता लिने क्रममा ट्रम्पले जबरजस्ती ढङ्गले आफूलाई चुम्बन गरेको बताएकी थिइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma