सम्माननीय प्रधानमन्त्री ज्यू,
साच्चै भन्दा विगतमा तपाईले गरेका कामलाई मैले सम्झनै चाहन्न। अझ भनौ सम्झनै मन लाग्दैन तर पनि अहिले जे गरिरहनु भएको छ त्यसको प्रशंसा गर्छु। यो कामलाई निरन्तरता दिएर पार लगाउनुहुने छ भन्ने विश्वास आम नागरिकसंगै मैले पनि गरिरहेकी छु।
“जनयुद्धका बेला मेरो बुवालाई घरभित्रैबाट तपाईका एक सिपाहीले लिएर जादा जसरी मेरो शरीर थर्थराएको थियो आज त्यो भन्दा कैयौँगुणा जोडले भ्रष्टचारीको मुटु थर्थराएको छ।”
बालुवाटारमा बस्नुभएको तपाईले भ्रष्टचारका फाइल खोल्न व्यस्त हुदैगर्दा आम नागरिकका आँखामा आशातित दियो बलेको देख्नुभएको छैन होला। आम नगरिकको गुनासो, विचार, शंका तपाईले देख्न सक्नुभएको छैन की भनेरै मैले खुला पत्र लेखेकी छु। यस पटक मैले तपाईलाई सफल प्रधानमन्त्री भएको देख्न चाहेकी छु। यो पटक तपाईको पाइला लर्बराउन हुदैन।
जनयुद्धका बेला मेरो बुवालाई घरभित्रैबाट तपाईका एक सिपाहीले लिएर जादा जसरी मेरो शरीर थर्थराएको थियो आज त्यो भन्दा कैयौँगुणा जोडले भ्रष्टचारीको मुटु थर्थराएको छ। अहिले नक्कली भुटानी शरणार्थी प्रकरणमा शीर्षस्त नेताहरुको नाम जोडिनु र यसै बेला शीर्षदलका नेताले तपाईसंगको भेटघाटमा निकै मन लगाएको देख्दा जनतामा आशंका उत्पन्न भइरहेको छ। र यो शंका उत्पन्न हुनु स्वभाविक हो। अहिलेको यो प्रकरण भन्दा अघि आएका कैयौँ भ्रष्टचारका मुद्धाहरु सजिलै सेलाएका छन्। नक्कली भुटानी शरणार्थी प्रकरण नेपालभित्र मात्र सम्बन्ध राख्ने मुद्धा होइन। यस विषयले अन्तराष्ट्रियजगतमा समेत नराम्रो छवि बनाइसकेको छ। अमेरिकी एजेन्सी फेडरल ब्यूरो अफ इन्भेस्टिगेशन (एफबीआई) ले पनि अनुसन्धान गरिरहेको छ भन्ने सुन्नमा आएको छ। कतै एफबीआईले अनुसन्धान सुरु गरेपछि मात्र नेपालमा यसबारे शीर्षस्त नेताको नाम बाहिर आएको त होइन? यदि त्यसो हो भने यो प्रकरण यत्तिकै सेलाएर जान सक्ने सम्भावना प्रवल देखिन्छ। तर पनि हामीलाई विश्वास छ यो पटक प्रधानमन्त्री चुक्नुुहुने छैन।
“नक्कली भुटानी शरणार्थी प्रकरण भ्रष्टचार मात्र होइन राष्ट्रघाति महाअपराध हो। तसर्थ यसै प्रकरणका कारण दलभित्रै विद्रोह हुनु हाम्रालागि सुखद छ। यस विद्रोहले नेतृत्व रुपान्त्रणको सुरुवात हुने देखिन्छ।”
यसपटकको प्रि बजेट छलफलमासमेत नक्कली भुटानी शरणार्थीकै विषयले संसद तातेको थियो। सरकारले कसरी काम गरिरहेको छ? प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेस सभापति शेर बहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओलीबीचको भेटवार्तामा के छलफल भयो? मुलुकबाट एकसातासम्म एक सांसद सजिलै फरार हुँदापनि किन कुनै प्रकारको एक्सन देखिएको छैनलगायतका प्रश्नहरु उठिरहेका छन्। फरार सांसद सबैबाट फरार हो की कोहि कसैको संरक्षणमा छन् भन्ने प्रश्नले मन चिसो बनाएको छ। अव यी सबै प्रश्नको जवाफ भनेकै दोषीलाई कारवाही हुनु हो।
आफ्नै दलका नेताको नाम मुछिदै गएपछि केहि नेता बचाउमा देखिएका छन् भने केहिले दलभित्रै विद्रोह सुरु गर्ने संकेत दिएका छन्। नक्कली भुटानी शरणार्थी प्रकरण भ्रष्टचार मात्र होइन राष्ट्रघाति महाअपराध हो तसर्थ यसै प्रकरणका कारण दलभित्रै विद्रोह हुनु हाम्रालागि सुखद छ। यस विद्रोहले नेतृत्व रुपान्त्रणको सुरुवात हुने देखिन्छ। त्यसैले कुनैपनि दल र व्यक्तीको दवावमा नपरी अपराधमा संलग्न जोकोहिलाई पनि निष्पक्ष ढंगले छानविन गरेर कारवाही हुनु जरुरी छ।
प्रलोभनसहितको दवाव र धम्की राजनितिको परिपुरक जस्तै भएर बसेको छ। तर यतिबेला तपाईले यो बुझ्न जरुरी छ की नेकपा माओवादीको विरुद्धमा बोल्ने जनताले पनि अहिले तपाईलाई मन पराइरहेका छन्। तपाईको कामको प्रशंसा गरिरहेका छन् तसर्थ तपाईले जो फाइल खोलिसक्नुभयो त्यो फाइलको अन्त्य नगरी बन्द गर्ने मुर्खता नगर्नुहोला। सुशासनको नारालाई यहि एउटा कामले मात्रै पनि सार्थकता दिने मौका आएको छ। अब कास्टिङ मात्रै देखाएर हुदैन फिल्मले मात्रै पनि पुग्दैन। फिल्मको अन्त्यसंगै यस प्रकरणमा मुछिएकाहरुलाई राजनितिक यात्राबाट विदाइ भएको हेर्न चाहन्छौ।
राजनितिक अस्थिरताबाट निराश भएका जनताको मनोभावनालाई बुझेर काम गर्नुभयो भने जनयुद्धका बेला पोलिएको मनमा शित्तल छर्न सक्नुहुने छ। तपाईसंगै गृहमन्न्त्रीलाई पनि शुभकामना। जतिपनि नाम मुछिएको छ ति सबैको निष्पक्ष छानविन होस्। भ्रष्टचारी र राष्ट्रघातिबाहेक सबैको साथ र समर्थन रहने छ।
– एक नागरिक
प्रतिक्रिया