काठमाडौं। नेपालले जिम्बावे ’ए’लाई नौ विकेटले पराजित गरेको छ। तीन खेलको एकदिवसीय सिरिजअन्तर्गत दोस्रो खेलमा नेपाल नौ विकेटले विजयी भएको हो। त्रिवि क्रिकेट मैदानमा ८८ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले ११ ओभर २ बलमा एक विकेट गुमाएर लक्ष्य भेट्टायो।
नेपालका लागि ओपनर सुनिल धमलाले ३८ तथा आसिफ शेखले नटआउट ३४ रन बनाए। विनोद भण्डारीले चार रन जोडे।
त्यसअघि, टस हारेर ब्याटिङमा उत्रिएको जिम्बावेले ३१ ओभर पाँच बलमा अलआउट हुनुअघि मात्र ८७ रन जोड्यो। उसका लागि जोनाथन क्यम्पबेलले २७ र ब्राड इभान्सले २० रन बनाउँदा सेफसले १० रन जोडे। अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन्।
नेपालका लागि करण केसी र सोमपाल कामीले तीन तीन विकेट लिए भने कप्तान सन्दीप लामिछानेले दुई तथा सागर ढकालले एक विकेट लिए। जारी सिरिजको पहिलो खेलमा नेपाल तीन विकेटको हार व्यहोरेको थियो। त्यसअघि भएको तीन खेलको टी–ट्वान्टी सिरिज १–१ को बराबरीमा सकिएको थियो।
आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टूअन्तर्गत अमेरिकामा हुने त्रिकोणात्मक एकदिवसीय सिरिजको तयारी स्वरूप नेपालले जिम्बावे ’ए’ सँग सिरिज खेलिरहेको हो।
प्रतिक्रिया