जनकपुरधाम । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमाले जनतालाई भ्रममा पार्ने षडयन्त्र गरिरहेको बताएका छन्। शनिबार सत्ता गठबन्धनको चुनावी सभामा सहभागी हुन जनकपुरधाम आएका अध्यक्ष प्रचण्डले जनकपुरधाम १३ मा माओवादी केन्द्रको चुनावी सभालाई सम्बोधन गर्दै यस्तो बताएका हुन्।
नेपालमा हजारौँ सहिदको बलिदान, हजारौँ बेपत्ताको त्याग, घाइते(अपाङ्ग भएपछि मात्र नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र आएको र यसको रक्षा माओवादी केन्द्रले मात्र रक्षा गर्न सक्ने भन्दै माओवादीलाई मतदान गर्न उनले आग्रह गरे।
मुलुक, संविधान र संसद बचाउने र भंग गर्ने बीचको लडाइँमा गठबन्धन विजयी हुने दाबसमेत उनले ठोकुवा गरे।
संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थापछिको दोस्रो पटक स्थानीय तहको निर्वाचन संघारमा रहेको भन्दै उनले मुलुक, संविधान र संसदलाई प्रतिगामी तत्वहरूबाट बचाउनका लागि परिवर्तनकारी, शान्तिप्रेमी, प्रगतिवादी, मुलुकको समृद्धि विकास चाहनेहरूबीच गठबन्धन बनेको र सोही गठबन्धन चुनावी मैदानमा होमिएको प्रचण्डको भनाइ थियो।
प्रचण्डले धनुषाको मिथिला विहारी नगरपालिका, मिथिला नगरपालिका, जनकपुरधाम उपमहानगरपालिका लगायतका स्थानमा सभा तथा सम्बोधन गरिसकेका छन्।
सत्ता गठबन्धनको चुनावी सभा आज दुई बजेदेखि जनकपुरधामको ऐतिहासिक तिरहुतिया गाछीमा हुँदैछ। यसका लागि प्रधानमन्त्री शेरबहादुर देउवासमेत जनकपुरधाम आउन लागेका हुन्। जनकपुरधाममा जसपाले मेयर पाएको छ भने कांग्रेसले उपमेयर पाएको छ।
प्रतिक्रिया