काठमाडौं। निर्वाचन आयोगले आफू उम्मेदवार भएको दलबाहेक अरु दलको झण्डा र चुनाव चिह्न प्रयोग नगर्न सचेत गराएको छ। आयोगले निर्वाचन प्रचारप्रसारको क्रममा आफ्नो बाहेक अन्य दलको झन्डा र चुनाव चिह्न प्रयोग गरेको पाइए कानुनी कारबाही हुने चेतावनी पनि दिएको छ।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आज विज्ञप्ति जारी गर्दै स्थानीय तहका उम्मेदवारहरूले आफूसँग सम्बन्ध नभएको राजनीतिक दलको झन्डा र चुनाव चिह्न प्रचारका क्रममा प्रयोग गरेको उजुरी परेको उल्लेख गर्दै यसबारे सचेत गराएका हुन्।
’निर्वाचन प्रचार प्रसारको क्रममा निर्वाचन आचारसंहितामा उल्लेख भएभन्दा फरक ढंगाले झन्डा र चिह्न प्रयोग गरिएमा वा मतदातालाई भ्रम सिर्जना गर्ने गरी आफू उम्मेदवार भएको दलबाहेक अन्य दलको झन्डा तथा चिह्न प्रयोग गरिएमा निर्वाचन आचारसंहिता उल्लंघन गरेको मानी कानुनबमोजिम कारबाही तथा सजाय हुने हुँदा निर्वाचन आचारसंहिता विपरीतका कार्य नगर्न-नगराउन आयोग सबैमा आग्रह गर्दछ,’ विज्ञप्तिमा उल्लेख छ।
राजनीतिक दल सम्बन्धी ऐन, २०७३ ले राजनीतिक दलको झण्डा तथा चिन्ह अरू कसैले प्रयोग गर्न नपाउने गरी संरक्षण तथा निर्वाचन आचारसंहिता, २०७८ बमोजिम ३ह३ फिटको दलको झण्डा र सोही नापको चुनाव चिन्ह बाहेक दलको प्रचार प्रसार गर्ने उद्देश्यले कुनै किसिमको डिजिटल बोर्ड, फ्लेक्स, ग्लुसाइन बोर्ड, श्रव्य सामग्री बजाउन र श्रव्यदृश्य सामग्रीहरु प्रदर्शन गर्न नहुने व्यवस्था रहेको हुँदा दलको एउटा झण्डा र एउटा चिन्ह प्रयोग गर्न सकिने भए तापनि अन्य दल तथा उम्मेदवारको झण्डा र चिन्ह प्रयोग गर्नु निर्वाचन आचारसंहिता विपरीत हुने आयोगको भनाइ छ।
प्रतिक्रिया