Developed By Kuldeep Sharma

August 9, 2023

द्रुतमार्ग निर्माणमा सबैको सहयोग र समन्वय होस् : उपप्रधानमन्त्री खड्का

काठमाडौं। उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले देशको अर्थतन्त्रलाई महत्त्वपूर्ण रुपान्तरण गर्ने विश्वास लिइएको काठमाडौँ–तराई मधेस द्रुतमार्ग सडक आयोजनालाई तोकिएको समयसीमाभित्र सम्पन्न गर्न सबै पक्षको सहयोग र समन्वयको खाँचो औँल्याएका छन् ।

रक्षा मन्त्रालय र मातहतका निकायको आव २०७९।८० को चौथो त्रैमासिक तथा वार्षिक प्रगति समीक्षा बैठकमा उहाँले वर्तमान सरकारले दु्रतमार्गलाई विशेष महत्त्व दिएकै कारण लामो समयदेखि रोकिएका धेरै विषय मन्त्रिपरिषद्को एउटै बैठकले निर्णय गरेर गाँठो फुकाएको स्पष्ट पारे ।

सेनाका उच्च अधिकारीलाई उपप्रधानमन्त्री खड्काले भने, “केही अल्झनमा रहेको द्रुतमार्गको प्रस्थान विन्दुबाहेक अन्यन्त्र सबै क्षेत्रको काम अघि बढाउनुस्, समस्या पहिचान गरी समाधानको उपाय खोजौँ । नीतिगत निर्णयका आधारमा हुने ढिलाइ हटाऔँ । निर्णय समयमा नहुँदा विकास निर्माणलाई क्षयीकरण भएको छ ।”

उनले कुन आयोजना, कुन ऐन र कानुनले अप्ठेरो पारेको र त्यसका सम्बोधन गर्न सकिन्छ कसरी भन्ने विषय समीक्षामा ल्याइनुपर्ने र त्यसलाई तत्कालै सम्बोधनका लागि प्रयास गर्नुपर्नेमा जोड दिए ।

आगामी २०८३ चैत मसन्तसम्ममा पूरा गर्ने लक्ष्य लिइएको द्रुतमार्ग आयोजना शुरु भएयताको हालसम्मको भौतिक प्रगति २५ दशमलव ५४ र वित्तीय प्रगति २८ दशमलव ११ रहेको सो अवसरमा जानकारी दिइयो । नेपाली सेनाको व्यवस्थापनमा अघि बढिरहेको उक्त आयोजना भ्याटसहितको सुरु लागत रु एक खर्ब ७५ अर्ब १२ करोड ४० लाख रहने अनुमान छ । आव २०७९र८० को लक्षित भौतिक प्रगति ३२ दशमलव ८६ र वित्तीय प्रगति ८३ दशमलव २८ रहेको छ ।

आयोजनालाई १३ प्याकेजमा विभाजन गरी एकदेखि सात वटासम्म निर्माण ठेक्का सम्झौता भई काम भइरहेको तथा तीन वटा प्याकेज बोलपत्र आह्वान भई मूल्याङ्कनको चरणमा रहेको दुई वटा प्याकेज डिपिआर परिमार्जनको प्रक्रियामा रहेको जानकारी दिइयो ।

खोकना क्षेत्रको प्याकेज भने जग्गा प्राप्तिमा समस्याको कारण अघि बढ्न नसेकेको अवस्था छ । चालु आवमा आयोजनाका लागि रु २२ अर्ब ५० करोड बजेट स्वीकृत भएको छ । आयोजनामा हालसम्म रु ४९ अर्ब २३ करोड खर्च भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma