काठमाडौं। प्रारम्भिक बाल विकास शिक्षकहरूले अपाङ्गता भएका बालबालिकाहरूलाई शिक्षण गर्नका लागि अब सहज हुने भएको छ। “प्रारम्भिक वाल विकास तथा शिक्षा पोर्टल” को रूपमा निर्माण गरिएको सो पोर्टललाई शिक्षा तथा मानव स्रोत विकास केन्द्रको वेभसाइटमा लिङ्क हुने गरी अपाङ्गता भएका बालबालिकाहरूलाई कसरी शिक्षण गर्न सकिन्छ भन्ने विषयमा शिप प्रदान गर्नका लागि एक जानकारीमूलक अनलाईन तालिम सामग्री निर्माण गरि राखिएको छ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्र, सानोठिमी, भक्तपुरमा हिजो सम्पन्न बैठकबाट सो सामग्री राख्नका लागि स्विकृति प्रदान गरिएको हो।
यूनिसेफ नेपालको आर्थिक सहयोग तथा ह्याण्डिक्याप इन्टरनेशनल नेपाल, शिक्षा तथा मानव स्रोत विकास केन्द्र र सेतो गुराँस राष्ट्रिय वालविकास सेवाको संयुक्त सहकार्यमा अपाङ्गता समावेशी प्रारम्भिक वालविकास कार्यक्रम अन्र्तगत अपाङ्गता भएका बालबालिकाहरूलाई शिक्षण गर्न सहज होस भन्ने उद्धेश्यले प्रारम्भिक उमेर समुहका बालबालिकाहरूलाई शिक्षण गर्ने प्रारम्भिक वाल विकास शिक्षकहरूलाई लक्षित गरेर सो अपाङ्गता समावेशी अनलाइन तालिम सामग्री निर्माण गरिएको हो।
बैठकमा शिक्षा तथा मानव स्रोत विकास केन्द्र, शिक्षक तालिम शाखाका निर्देशक गिरमान थापाले उहाँकै संयोजकत्वमा सो अपाङ्गता समावेशी अनलाइन तालिम सामग्री निर्माण गर्नका लागि पाँच सदसिय समिति गठन गरिएको र उक्त समितिले सो सामग्रीको ढाँचा, भाषा, विषयवस्तु, सान्र्दभिकता लगायतका आवश्यक सबै कुराहरूको विस्तृत रूपमा अध्ययन गरिसकेपछि मात्रै यस बारे प्रक्रिया अघि वढाउनका लागि सिफारिस गरेको बारेमा जानकारी दिनुहुँदै हाल परिक्षणका रूपमा केन्द्रको वेभसाइटमा राखिने बताउँनुभयो ।
बैठकमा डाइभर्स प्याटन्र्सले तयार पारेको सो सिकाइ सामग्री भित्र के कस्ता विषयवस्तु तथा सामग्रीहरू समावेश गरिएको छ भन्ने सम्बन्धमा डाइभर्स प्याटन्र्सका फाउण्डर सागर प्रसाईले जानकारी दिनुभएको थियो ।
प्रारम्भिक वाल शिक्षा र विकासमा अपाङ्गता भएका बालबालिकाहरूको समावेशिकरणमा पर्याप्त तालिम सामग्रीको अभाव रहेको तथा प्रारम्भिक वाल विकास शिक्षकहरूलाई यस सम्बन्धी उचित शिप र दक्षताको कमी भएको अवस्थालाई मध्यनजर गर्दै तयार पारिएको यो सिकाई सामग्री समावेशिकरण गर्ने शिक्षकहरूलाई स्वःअध्ययन सामग्रीको रूपमा अत्यन्तै उपयोगी हुने विश्वास लिइएको ह्याण्डिक्याप इन्टरनेशनल नेपालका कार्यक्रम व्यवस्थापक पदम महरले बताउनु भयो ।
त्यसैगरी यूनिसेफ नेपालका शिक्षा अधिकृत ऐली हेनोले पर्याप्त तालिम सामग्री तथा शिपको अभाव कै कारणले अपाङ्गता भएका बालबालिकाहरू शिक्षाको अधिकारबाट वञ्चित हुनु नपरोस भन्ने उद्धेश्यले सो अनलाइन सिकाइ सामग्रीको निर्माण गरिएको बताउनु भयो ।
प्रतिक्रिया