अर्थमन्त्री डा. प्रकाशशरण महतले सुन प्रकरणमा संलग्नता देखिएको प्रमाण देखाएमा आफू पदमा नबस्ने बताएका छन् ।
आइतबार बसेको कांग्रेस संसदीय दलको बैठकमा अर्थमन्त्री महतले सुन प्रकरणमा आफू संलग्नको प्रमाण दिए पदमा नबस्ने बताएका हुन् । उनले भने, ‘यो पदमा बसेर मैले गलत गरेँ भन्ने हो र ? प्रमाण दिनुहुन्छ भने म अहिले देखि नै यो ठाउँमा बस्दिनँ । अहिले नै पद छाड्छु ।’
आफूमाथि व्यर्थको लाञ्छना लगाएर अनावश्यक शंका गर्ने काम भएको उनले गुनासो गरे । ‘मेरो दाइ र मेरो संस्कार छ । कसैलाई म मन पर्दैन, मलाई पनि मन नपर्न सक्छ,’ उनले भने, ‘म केटाकेटीदेखि नै एउटा संस्कारमा हुर्किएर आएको मान्छे हुँ । ममाथि व्यर्थको लाञ्छना लगाउने काम भयो । यो ममाथि भएको व्यक्तिगत प्रहार हो । ममाथि अनावश्यक शंका गर्ने र त्यही विषयलाई लिएर प्रचार गर्ने काम भयो ।’
आफूले कुनै पनि विषयमा स्वार्थ नसाँधेको उनले बैठकमा सुनाए । ‘मैले लोभ लालच राखेको भए मैले अरु अनेक गरेर लिन सक्थेँ । करका दरदेखि लिएर विगतमा कत्ति मन्त्रीहरुले स्वार्थ साँधेर गलत गरेका उदाहरणहरु छन् । तर मैले कुनै पनि विषयमा स्वार्थ साँधेको छैन । अनि यो सुनको विषय त मेरो कल्पनाभन्दा बाहिरको विषय हो,’ उनले भने ।
अर्थमन्त्री महत आफूमाथि सार्वजनिक टिप्पणीमा उत्रिएका सांसद सुनील शर्मामाथि खनिएका थिए । ‘मलाई लठ्ठु, बेकामे मान्छे भनियो । कसले भन्यो, किन भनियो म भन्दिनँ । पार्टीमा अनुशासन, मर्यादा छैन ?,’ कांग्रेस प्रवक्तासमेत रहेका महतले भने ।
प्रतिक्रिया