काठमाडौं। भक्तपुरको सानोठिमीस्थित युसेफको बालसुधार गृहबाट एक सय ५० जनाभन्दा बढी बालबालिका भागेका छन्। विभिन्न कसुरमा मुछिएका उनीहरू सोमबार दिउँसो सुधार गृहको ढोका फुटाएर भागेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ।
फरार भएका उनीहरूको खोजीका लागि सुरक्षाकर्मी परिचालन गरिएको प्रवक्तासमेत रहेका प्रहरी नायव उपरीक्षक (एसपी) वसन्त पाठकले जानकारी दिए।
आइतबार उक्त सुधार गृहमा एक बालकको मृत्यु भएपछि उनका आफन्तले गेटमा प्रदर्शन गर्नुका साथै तोडफोडसमेत गरेका भक्तपुरका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले नेपाल प्रेसलाई जानकारी दिए। उनका अनुसार त्यसबेला भित्र रहेका अधिकांश बालबालिकाले प्रदर्शनकारीलाई नै साथ दिएर हातमा लाठी लिएर प्रदर्शनमा सामेल भएका थिए।
सुधार गृहमा करिब तीन सयजना रहेकोमा अहिले ३२ जना किशोरी र केही बालकमात्रै बाँकी रहेको प्रजिअ रिजालले जानकारी दिए। उनका अनुसार फरार रहेकामध्ये केहीलाई भने नियन्त्रणमा लिइएको छ । अहिले त्यहाँ प्रहरीको बाक्लो उपस्थिति छ।
भक्तपुरको बाल सुधार गृहमा बस्दै आएका रामेछाप मन्थली नगरपालिका–३ का १८ वर्षीय कमल बस्नेतको आइतबार बिहान मृत्यु भएको पाइएको छ ।
शनिबार राति बेहोस भएका बस्नेतलाई आइतबार बिहान उपचारका लागि भक्तपुरस्थित नागरिक अस्पताल लगिएको थियो ।
अस्पतालले केहीबेरमै मृत घोषणा गरेको थियो।सुधार गृहका कर्मचारीले उनलाई स्वास्थ्यमा समस्या देखिएको भन्दै नागरिक सामुदायिक अस्पताल लगे पनि अस्पताल पुग्नुअघि नै उनको मृत्यु भएको परिवारका सदस्यहरूले दाबी गरेका थिए।
बालकको मृत्यु भएपछि सुधार गृह परिसरमा उनका आफन्तले प्रदर्शन गरेका छन्। उनीहरूले सुधार गृहको लापरवाहीका कारण कमलको मृत्यु भएको आरोप लगाउँदै प्रदर्शन गरेपछि गृह परिसर तनावपूर्ण बनेको थियो। मृतक किशोर बला,त्कार आरोपमा तीन वर्षदेखि सुधार गृहमा थिए।
प्रतिक्रिया