काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बोलाएको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमालेले बहिस्कार गरेको छ ।
राष्ट्रपति पौडेलको आह्वानमा शीतल निवासमा सर्वदलीय बैठक जारी छ । समसामयिक राजनीतिमा चासो राख्दै राष्ट्रपति पौडेलले बोलाएको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेताहरु भने सहभागी छैनन् ।
राष्ट्रपति राजनीतिक रुपमा सक्रिय जस्तो देखिएकाले बैठकमा नगएको नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले बताए । ‘संसदको अवरोध अन्त्य गर्न प्रधानमन्त्रीले नै पहल गरिराख्नु भएको छ । फेरि त्यही विषयमा राष्ट्रपतिले किन सक्रियता देखाउनुपर्यो ? भनेर हामी गएनौं,’ उनले भने ।
सुन तस्करीको विषयलाई लिएर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले गत साउन १० गतेदेखि संसद अवरुद्ध गर्न थालेपछि राष्ट्रपतिले त्यसमा चासो राख्दै आएका छन। यसअघि उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, रास्वपा सभापति रवि लामिछानेसँग शीतल निवासमा छलफल गरेका थिए ।
यही क्रममा आज उनले संसदमा प्रतिनिधित्व गर्ने दलहरुलाई बोलाएका हुन् । राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले बैठकमा संसद अवरोध खुलाउन भइरहेको प्रयास र समसामयिक राजनीतिबारे जानकारी लिने(दिने काम हुने बताए ।
प्रतिक्रिया