Developed By Kuldeep Sharma

August 22, 2023

नारायणगढ–मुग्लिन सडकको पहिरो पन्छाउन ६ घण्टाभन्दा बढी लाग्ने

भरतपुर । चितवनको नारायणगढ–मुग्लिन सडकखण्डमा खसेको पहिरो पन्छाउन करिब ६ घण्टा भन्दा बढी लाग्ने प्रहरीले जनाएको छ । अहिले डोजरको सहायताले पहिरो पन्छाउने काम जारी छ ।

सोमबार राति करिब ८ बजेतिर नाम्सी पुल नजिकै पहिरो खसेर सडक दुईतर्फी सडक अवरुद्ध भएको छ। पहिरो पन्छाउन चार मेसिन लगातार प्रयोग भइरहेको सडक डिभिजनका सूचना अधिकारी इन्जिनियर चण्डेश्वर साहले बताउका छन् ।उनले भने ‘हिजो राति १० बजेदेखि लगातार पहिरो पन्छाउने काम भइरहेको छ । पहिरो पूरै पन्छाउन अझै पाँचदेखि छ घण्टा लाग्छ सक्छ ।’

रातभर पहिरो पन्छाउने काम गरिएको भए पनि बिहानसम्म २५ देखि ३० प्रतिशतमात्र पन्छाउन सफल भएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक विशाल तामाङले जानकारी दिए । उनका अनुसार साँघुरो भएका कारण मेसिन आलोपालो चलाउनु परेको छ । तर काम रातभर निरन्तर भएको उनले बताए ।

सवारीसाधन र यात्रु रातभर बाटोमै रोकिएका छन् । ठूलो पहिरो खसेका कारण पन्छाउन समय लाग्ने भएकाले यात्रुलाई वैकल्पिक सडक प्रयोग गर्न ट्राफिक प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी नायब निरीक्षक चुडामणि पोखरेल अनुरोध गरे ।

काठमाडौँबाट गएका सवारीसाधनलाई मुग्लिन, कुरिनटार, फिस्लिङ र धादिङमा रोकिएको छ भने पश्चिम र पूर्वबाट आएका सवारीसाधनलाई भरतपुरका विभिन्न क्षेत्र र नवलपुरको गैंडाकोटमा रोकिएको छ । नारायणगढ–मुग्लिन सडकखण्ड पहिरोका कारण पटक–पटक अवरुद्ध हुँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma