काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बिहान ११ बजे बैठक बस्ने सङ्घीय संसद् सचिवालयले जनाएको छ ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग प्रत्यक्ष प्रश्नोत्तर गर्ने कार्यसूची रहेको छ । प्रतिनिधिसभा नियमावली, २०७९ को नियम ५६ बमोजिम प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर गर्ने कार्यसूची तय गरिएको हो ।
त्यस्तै, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८० माथि विचार गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जानकारी दिएको छ ।
हरेक महिनाको पहिलो साता प्रधानमन्त्री र सांसदहरुको प्रश्नोत्तर गर्ने प्रतिनिधिसभा नियमावलीमै व्यवस्था छ । अघिल्लो सातासम्म संसदको अवरोध कायमै भएका कारण सभामुख देवराज घिमिरेले आज(मंगलबार) का लागि प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम राखेका हुन् ।
संसद सचिवालयका अनुसार एक पटकमा १५ वटा प्रश्न सोध्न पाइने भएकाले सांसदहरुलाई वर्णानुक्रम अनुसार समूह–समूहमा बाँडिएको छ । यो पटक दोस्रो समूहको पालो परेको छ । समूहमा परेका सांसदहरुबाट शुक्रबार नै १२ वटा प्रश्न संकलन भइसकेको छ । त्यो प्रश्न संसद सचिवालयले प्रधानमन्त्री कार्यालय पुर्याएपछि प्रधानमन्त्रीले जवाफ तयार पार्नेछन्, जुन आज संसदमा प्रस्तुत हुन्छ ।
प्रतिक्रिया