Developed By Kuldeep Sharma

August 31, 2023

पशुपतिनाथलगायत देशभरका मठ मन्दिरमा डोरो बाँध्ने भक्तजनको घुइँचो

काठमाडौँ। आज १४ भदौ जनैपूर्णिमा एवं रक्षाबन्धन पर्वका अवसरमा पशुपतिनाथलगायत देशभरका मठ मन्दिरमा नवयज्ञोपवीत फेर्ने एवं डोरो बाँध्ने भक्तजनको घुइँचो लागेको छ ।

यस पर्वका अवसरमा तागाधारीले नजिकैको नदी, खोला, पोखरी, ताल, तलाउमा गई विधिपूर्वक स्नान गरेर नवयज्ञोपवीत धारण गरी डोरो बाँध्ने गर्छन् । अन्यले भने डोरो बाँधेर यो पर्व मनाउने गरेका छन् । वाग्मती नदीको तीरमा रहेको पशुपतिनाथ, गोकर्णेश्वर, बराहकर्णेश्वर, कुम्भेश्वरलगायत मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । यसैगरी वसन्तपुर दरबार क्षेत्रको अशोकविनायक मन्दिर क्षेत्र, नागेश्वर, डोलेश्वर, वसन्तपुरस्थित सानो पशुपतिनाथका नामले चिनिने मक्खन महादेव मन्दिरलगायतमा पनि बिहानैदेखि भक्तजनको भीड घुइँचो लागेको छ । यी स्थलमा ब्राह्मण एवं पुरोहित डोरो बाँध्ने र नयाँ जनै फेराउने गरिरहेको देखिन्छ ।

कतिले घरमै विधिपूर्वक स्नान गरेर यज्ञोपवीत र डोरो बाँधेर यो पर्व मनाउँछन् । पर्वका अवसरमा पशुपतिनाथ मन्दिरमा बिहान ३ बजेदेखि नै भक्तजनको घुइँचो लागेको पशुपति क्षेत्र विकास कोष संस्कृति संरक्षण महाशाखा प्रमुख गौरीशङ्कर पराजुलीले राससलाई जानकारी दिनुभयो । पशुपति क्षेत्रका विभिन्न स्थानमा बसेका ब्राह्मणसँग नव यज्ञोपवीत धारण गर्न र डोरो बाँध्न भक्तजनको लाम लागेको उहाँले बताउनुभयो । पशुपति क्षेत्रका गुह्येश्वरी, चन्द्रविनायकका नामले चिनिने चावहिल गणेशलगायत ठूला, साना मन्दिरमा पनि डोरो बाँध्ने र नयाँ जनै फेर्ने भक्तजनको घुइँचो लागेको छ ।

यस अवसरमा राजधानी र देशका अन्य ठूला, साना मन्दिरमा पनि भक्तजनको घुइँचो लागेको छ । प्रत्येक वर्ष मनाइने यो पर्वमा रक्षाबन्धन अर्थात् डोरो बाँध्ने कर्म गरेपछि मानिस विभिन्न नकारात्मक शक्तिबाट सुरक्षित हुने धार्मिक विश्वास छ । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन यो पर्व मनाइन्छ । यसै दिन विश्व संस्कृत दिवस पनि मनाउन थालिएको छ । जरोकिलो प्रतिष्ठानले श्रावण शुक्ल पूर्णिमा र ऋषितर्पणी पर्वको अवसर पारेर विश्व संस्कृत दिवस मनाउन थालेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma