Developed By Kuldeep Sharma

August 31, 2023

मनोरञ्जन तथा सत्कार सेवा क्षेत्रमा काम गर्ने श्रमिकको श्रम सम्वन्धी न्युनतम मापदण्ड निरीक्षण निर्देशिका कार्यन्वयन गर्नुपर्ने सम्वन्धमा छलफल

 

काठमाडौें । स्थानीय तहले मनोरञ्जन तथा सत्कार सेवा क्षेत्रमा काम गर्ने श्रमिकहरूको हकहित र मर्यादित श्रम सम्वन्धी न्युनतम मापदण्ड तथा अनुगमन निरीक्षण निर्देशिका –२०७७ कार्यन्वयन गर्नुपर्ने सम्वन्धमा छलफल भएको छ ।

मनोरञ्जन क्षेत्रमा काम गर्ने श्रमिकको हकहित र व्यवस्थित व्यवसायका लागि पैरवी गर्दै आएको विश्वास नेपालले जिल्ला समन्वय समितिसँगको सहकार्यमा आयोजित कार्यक्रममा स्थानीय तहका पदाधिकारी र सरोकारवाला समुहसँग उक्त विषयमा छलफलको आयोजना गरिएको हो ।

जिल्ला समन्वय समितिका प्रमुख सन्तोष बुढाथोकीले स्थानीय तहसँग नगरप्रहरी, उपप्रमुखको नेतृत्वमै अनुगमन गरिने संयन्त्र समेत रहेकोले सो निर्देशिका कार्यान्वयन गरेर असल अभ्यासको उदाहरण बन्न स्थानीय तहका प्रतिनिधीलाई आग्रह गर्नुभयो ।

जिल्ला समन्वय समितिका जिल्ला समन्वय अधिकारी राजेन्द्रबहादुर अर्यालले व्यवसाय र श्रमिक तथा ग्राहक वर्गको हितका लागि अनुगमन, कार्यान्वयनसहित व्यवस्थित बनाउन बनेको निर्देशिका कार्यान्वयन हुनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा विश्वास नेपालका अध्यक्ष तारा भण्डारीले मनोरञ्जन तथा सत्कार सेवा क्षेत्रमा काम गर्ने श्रमिकहरूको हकहित र मर्यादित श्रम सम्वन्धी न्युनतम मापदण्ड तथा अनुगमन निरीक्षण निर्देशिका–२०७७ बारे चर्चा गर्दै यस निर्देशिका कार्यान्वयन गरेर स्थानीय तहले व्यवसाय र श्रमिकको अधिकारलाई सुरक्षित गर्दै शान्ति, सुरक्षा र राजस्व समेत आर्जन गर्न बाटो खुलाउनुपर्नेमा जोड दिनुभयो ।

उहाँले यस निर्देशिकामा स्थानीय सरकारको कर्तव्य, क्षेत्राधिकार, व्यवसायी र श्रमिक, सेवाग्राही वर्गले अपनाउनुपर्ने अनुशासन, कर्तव्य र दायित्वबारे स्पष्ट पारेको बताउँदै यसको कार्यान्वयनले सबै पक्षको हित हुने बताउनुभयो ।
कार्यक्रममा टोखा नगरपालिका–९का वडा अध्यक्ष रामभक्त घिमिरेले आफ्नो क्षेत्र बसपार्क वरपर पर्ने र सो क्षेत्रमा अत्यधिक गेष्ट हाउस, दोहोरी, रेष्टुरेन्टलगायतका व्यवसाय रहेकोमा सुरक्षा व्यवस्था फितलो र हरेक दिन जसो आत्महत्याको सुचना जनप्रतिनिधी आउने गरेको बताउनुभयो ।

उहाँले एयरपोर्टपछिको बढि सुरक्षा उपलब्ध गराउनुपर्ने बसपार्क क्षेत्रमा सुरक्षाकर्मी कम खटाउने र त्यस क्षेत्रका घरवेटीले पनि आफ्नो घरमा सञ्चालन हुने व्यवसायको प्रकृतिबारे चनाखो भएर शान्ति, सुरक्षालगायतका गतिविधी कायम राख्न राज्यलाई सहयोग गर्नुपर्ने बताउनुभयो ।

बुढानिलकण्ठ नगरपालिका प्रशासकिय प्रमुख तुलसीराम अर्यालले बुढानिलकण्ठमा सो निर्देशिका लागु गर्न पहल गर्ने प्रतिवद्धता जनाउनुभयो ।
काठमाडौँ महानगरपालिका–११ का अध्यक्ष हिरालाल तण्डुकारले आफ्नो क्षेत्रका घरबेटीले होस्टेल, रेष्टुरेन्ट,दोहोरी, गेष्ट हाउस, खाजाघरलगायतका व्यवसायका लागि घर बहालमा दिंदा स्थानीय तहसँग कुनै समन्वय नगर्ने, तर त्यहाँ समस्या पर्दा मात्र स्थानीय तहलाई गुहार्ने प्रवृत्तिले अपराधको घटना बढिरहेको बताउनुभयो ।

राष्ट्रिय लोक दोहोरी व्यवसाय सङ्घका अध्यक्ष एवं व्यवसायी विनोद श्रेष्ठले सो निर्देशिका कार्यान्वयनले आफुले सञ्चालन गरेको व्यवसायलाई मर्यादित बनाउदै रोजगारी समेत दिइरहेका व्यवसायीलाई उत्साहित र त्यसो नगरेकालाई निरुत्साहित गर्न सहयोग पुग्ने विचार व्यक्त गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma