महेन्द्रनगर । नेकपा समाजवादीनिकट अनेरास्ववियुका विद्यार्थी नेताले कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयमा तोडफोड गरेका छन् ।
शुक्रबार दिउँसो विद्यार्थी सङ्गठनले कार्यालयमा तोडफोड गरेको कार्यालयका परीक्षा नियन्त्रक देवसिंह नाथले जानकारी दिए । “घटनाबारे हामीले प्रहरीलाई विस्तृतमा जानकारी गराइसकेका छौँ”, उनले भने, “उनीहरुले मेरो र सहायक परीक्षा नियन्त्रक वीरबहादुर सिंहको कार्यकक्षमा तोडफोड गरेका छन् ।”
उनले १२÷१५ जनाको समूहमा आएका विद्यार्थी समूहले कामकाज चलिरहेकै बेला तोडफोड गरेका बताए । विद्यार्थीको तोडफोडबाट परीक्षा नियन्त्रक नाथ र सिंहको कार्यकक्षमा रहेका टेबुल, सिसा, कुर्सीलगायत अन्य कार्यालय सामग्रीमा क्षति पुगेको छ । अनेरास्ववियु कञ्चनपुरका नेताले स्नातक तह छैटौँ सेमेस्टर समाजशास्त्र विषयको प्रश्नपत्रमा त्रुटि भएको भन्दै परीक्षा नियन्त्रण कार्यालयबाट भएको त्रुटिलाई सच्याउनुपर्ने माग अघि सारेर गत साउन १८ गतेदेखि कार्यालयमा तालाबनदी गरेको थियो ।
उक्त ताला पाँच दिनअघि प्रशासनले तोडेको थियो । आफूहरूसँग सल्लाह नै नगरी विद्यार्थीले लगाएर ताला खोलिएको विषयमा आफूहरुको असन्तुष्टि रहेको समाजवादीनिकट अनेरास्ववियुले जनाएको छ ।
प्रतिक्रिया